आयातित औषधीमा समेत भ्याट लगाउन थालियो, औषधी सीमापारि अलपत्र

Advertisement

विराटनगर । औषधिको आयातमा लाग्दै–नलाग्ने भ्याट समेत जोडेर भन्सार कार्यालयले औषधीको भन्सार मूल्य कायम गर्न थालेपछि वीरगंज भन्सारमा औषधिकोजाँचपास व्यवसायीले बन्द गरेका छन्।

भन्सारको नयाँ प्रावधानका कारण आयातीत औषधी थप ३ देखि ५ प्रतिशतले महँगो हुने र बजारमा प्रतिस्पर्धा गर्न नसकिने भन्दै व्यवसायीले माथिल्लो निकायमा पहल गर्न औषधीको जाँचपास बन्द गरेका हुन्। नेपाल औषधी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष प्रकाश खण्डेलवालले नाकामा आइपुगेको अधिकांश औषधी भदौ लागेपछि नछुटेको पुष्टि गरे।

‘तापक्रम–व्यवस्थापन गर्नुपर्ने र एसी कन्टेनर वा फ्रिजवाला गाडीमा आएका औषधीहरू छुटे होला, त्यो बाध्यता पनि हो, वरिष्ठ उपाध्यक्ष खण्डेलवालले भने, ‘दुई हप्तादेखि यो नाकाबाट औषधीको आयात ठप्प छ । औषधी लोड गरिएका गाडीहरू कुनै भन्सार परिसरभित्रै र कुनै बाटामा खडा छन्।

के छ नयाँ व्यवस्था
भन्सार विभागले सबै भन्सार कार्यालयलाई परिपत्र गर्दै भ्याट नलाग्ने वस्तुको भन्सार मूल्य कायम गर्दा पनि भ्याट जोड्न निर्देशन दिएको छ।

व्यवसायी खण्डेलवालका अनुसार गत आर्थिक वर्षसम्म यस्तो व्यवस्था थिएन। औषधीमा लाग्दै नलाग्ने भ्याट जोडेर औषधीको भन्सार मूल्य कायम गर्ने कार्य भन्सारमा भन्सार विभागको गत साउन २९ गतेको परिपत्रदेखि सुरु गरिएको हो।भन्सार विभागका महानिर्देशक रामेश्वर दङ्गालको हस्ताक्षरमा प्रेषित परिपत्रमा भ्याट नलाग्ने वस्तुको भन्सार मूल्य कायम गर्दा पनि भ्याट बराबरको रकम जोड्नुपर्ने उल्लेखित छ।

कसैले १ सय रुपियाँ एमआरपी भएको औषधी आयात गरेको छ’, उदाहरण दिँदै खण्डेलवालले भने, ‘महानिर्देशक दङ्गालको साउन २९ को परिपत्र अनुसार उक्त औषधीको प्रारम्भिक भन्सार मूल्य ६० रुपियाँ कायम गरिन्छ। किनकि परिपत्रले ५ प्रतिशत भन्सार महसुल लाग्ने मालवस्तुमा एमआरपीको ६० प्रतिशत भन्सार मूल्य कायम गर्न निर्देशन दिएको छ। औषधीमा ५ प्रतिशत भन्सार महसुल लाग्ने भएकाले ६० प्रतिशत भन्सार मूल्य कायम गरिएको हो।

खण्डेलवालले थपे, ‘अब त्यही ६० रुपियाँको १३ प्रतिशत भ्याटले हुने ७ रुपियाँ ८० पैसा पनि ६० रुपियाँमा थप गरिन्छ र ६७ रुपियाँ ८० पैसा बनाइन्छ। ६७ रुपियाँ ८० पैसामा फेरि त्यसको १० प्रतिशत भाडा–भरौटको रकम र २ प्रतिशत वीमा रकम पनि जोडिन्छ र मूल्याङ्कनको अन्तिम अङ्क निकालिन्छ। यसरी प्रारम्भिक मूल्याङ्कन ६० रुपियाँ गरिएको औषधिको अन्तिम र वास्तविक मूल्याङ्कन ८० रुपियाँ जति पुग्छ र त्यही रुपियाँमा ५ प्रतिशत भन्सार महसुल लगाइन्छ।

यसअघि गत आर्थिक वर्षसम्म भन्सार महसुल ५ देखि १० प्रतिशत भएका मालवस्तुको पैठारी गर्दा त्यस्ता मालवस्तुको भन्सार मूल्य एमआरपीको ४५ प्रतिशत निर्धारण गरिन्थ्यो। अर्थात् ५ देखि १० प्रतिशत भन्सार महसुल लाग्ने १०० रुपियाँ एमआरपी भएको मालवस्तुमा ४५ रुपियाँ मूल्याङ्कन हुन्थ्यो। चालु आवदेखि विभागले उक्त स्ल्याबलाई हटाएर ५ र १० प्रतिशत भन्सार महसुल लाग्ने वस्तुको ६० र ५७ प्रतिशत गरी छुट्टाछुट्टै स्ल्याब तोकेको हो।

‘लाग्दै नलाग्ने भ्याटसमेत जोडेर आयातीत औषधीको भन्सार मूल्य कायम गर्नु सरासर अन्याय हो’, आयातकर्ता प्रकाशको भनाइ थियो, ‘बरु सरकारले भन्सार महसुल बढाओस् तर वास्तविक कारोबार मूल्यलाई भन्सार विन्दुमा मान्यता देओस्, आम व्यवसायीको यहीमाग छ र विश्वव्यापार सङ्गठनको अवधारणा पनि यही हो । नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भइसकेको छ।

वीरगंज भन्सारका उपसचिव गोपाल खत्रीले भदौ लागेपछि औषधीको खासै घोषणा नभएको बताए। साथै औषधीको भन्सार मूल्य कायम गर्दा कार्यालयले भ्याट रकम जोड्न थालेको पुष्टि गरे।वरिष्ठ उपाध्यक्ष खण्डेलवालका अनुसार नेपालमा औषधी उत्पादन र व्यवसाय ‘डाटा–बेस’मा नभई ‘गेस–बेस’माचलेको छ। अर्थात् अनुमानका आधारमा उद्योग पनि र व्यापार पनि सञ्चालन गरिएको छ।

उनको अनुमान अनुसार नेपालमा सर्जिकल सामान समेत गरेर ४ हजार करोड रुपियाँ बराबरको औषधीको कारोबार छ।औषधी व्यवसायीले आयात ५५ प्रतिशत भएको दाबी गर्छन् भने उत्पादकले उत्पादन ५५ र पैठारी ४५ प्रतिशत भएको जिकिर गर्छन्। सरकारले यससम्बन्धी कुनै अध्ययन र अनुसन्धान गरेको छैन।

नेपालमा आयात गरिने मध्ये ८५ प्रतिशत औषधी भारतबाट र बाँकी बङ्गलादेश र समुद्रपारका मुलुकबाट पैठारी गरिन्छ । ‘भारतपछि बङ्गलादेशको औषधि बढी आउँछ’, उनले भने, ‘कतिपय लाइफ सेभिङ ड्रग्स र संवेदनशील तथा महँगा औषधीहरू समुद्रपारका मुलुकबाट पैठारी गरिन्छन् ।’

Advertisement

Advertisement

Advertisement