भ्रमण वर्ष सफल पार्न विमानस्थल चौबिसै घण्टा खुलाउन 'नाटा'को माग

Advertisement

काठमाडौं । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा खुला गर्न माग गरेको छ । नाटाले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भई आएका सचिव केदारबहादुर अधिकारीलाई भेटेर हवाई ट्राफिक जाम कम गर्न २४ सै घण्टा सञ्चालन गर्न माग गरेको हो ।

भेटमा नाटाका अध्यक्ष सीएन पाण्डेले विदेशी पर्यटकको नेपाल प्रवेशको प्रमुख थलो विमानस्थल भएकाले छिटो, छरितो, सरल र सहज हिसावले सुविधा दिनुपर्ने बताएका हुन् ।

नाटाले पर्यटन क्षेत्रलाई सबल बनाउन बाराको निजगढ विमानस्थल निर्माणको काम शुरु गर्नुपर्ने तथा निर्माणाधीन पोखरा र भैरहवा विमानस्थललाई समयमै सम्पन्न गर्नुपर्ने मागसमेत गरेको छ । विराटनगर र धनगढी विमानस्थलको स्तरोन्नतिसमेत गर्नुपर्ने बताएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन दुई चार वटा न्यारोबडी र दुईवटा वाइडबडी विमान खरीद साथै टुरिष्ट बस टर्मिनल निर्माण चाँडो निर्माण गर्नुपर्ने बताएको छ ।

भेटपछि सचिव अधिकारीले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि नाटाले राखेको माग सकारात्मक रहेको भन्दै उक्त मागलाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले नेपाल भ्रमण वर्ष सफल बनाउन सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

Advertisement

Advertisement

Advertisement