नेपालमा समयमा आयोजना बन्दैनन् भन्ने आरोपलाई पोखरा विमानस्थलले चिरोस्ः पर्यटनमन्त्री

Advertisement

पोखरा । भर्खरै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका योगेश भट्टराईले निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै तोकिएको मितिभन्दा अगाडि नै काम सम्पन्न गर्ने निर्माण कम्पनीका पदाधिकारीलाई रथारोहण गरी सम्मान गर्न सकिने बताएका छन् ।

राष्ट्रिय गौरवको अयोजनालाई समयभन्दा अघि नै सम्पन्न गर्न सबैको साथ र सहयोग रहँदै आएको र रहनुपर्ने भन्दै उनले यसमा सरकारी निकायहरुबीच पनि समन्वय जरुरी रहेको बताए । चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले तोकिएको समय सन् २०२१ जुलाई १० भित्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने बताउँदै आएको छ ।

मन्त्री भट्टराईले भने सन् २०२० को डिसेम्बरमै निर्माण सम्पन्न गरे पोखरा महानगरपालिकाले कम्पनीका पदाधिकारीलाई रथारोहण गर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अहिले तीब्ररुपमा भइरहेको छ । उनले नेपालमा समयमा काम हुन्न, ढिलासुस्ती हुन्छ भनेर विदेशीहरुले बारम्बार प्रश्न उठाउने गरेको उदाहरण दिँदै त्यसलाई चिर्न पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम छ महिनाअघि सकेर देखाउनुपर्ने बताए । राष्ट्रिय गौरवको यो आयोजना निर्धारित समयअघि काम सकिँदा यसले सकरात्मक भाइब्रेसन गर्ने भट्टराईको तर्क छ ।

विमानस्थलको निरीक्षणअघि सोही परिसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ, प्रदेशका सांसदहरु, प्रमुख प्रतिपक्ष दल काँग्रेसका नेता, आयोजना प्रभावित क्षेत्रका वासिन्दा, निर्माण कम्पनीका प्रतिनिधिहरुसँग छलफल गरेका छन् ।

त्यस क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनय मनकर्मीले निर्माणको काम ४५ प्रतिशत सम्पन्न भइसकेको र अहिलेको गतिमा काम भए तोकिएको समयअघि नै निर्माण सम्पन्न हुने बताए । उनले जग्गा अधिग्रहणको बाँकी काम पनि अघि बढाइएको बताउँदै रनवेको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले विमानस्थल बन्नुअघि नै पोखराका सडकहरु फराकिलो बनाइनुपर्ने भन्दै पोखरालाई थप व्यवस्थित र आकर्षक बनाउन तिनै तहका सरकारले मिलेर काम गर्नुपर्ने बताए ।

स्थानीय सरोकारवाला तथा दलका नेताहरुले आयोजना समयमा सक्न आफूहरुको साथ र सहयोग रहँदै आएको उदाहरण दिँदै तर आयोजना प्रभावितको मुआब्जाको समस्या समाधान हुन नसक्न उनीहरुले समस्या भोग्नुपरेको बताए । मन्त्री भट्टराईले आयोजना बनाउँदा जनतालाई खाली खुट्टा हिँड्नुपर्ने बाध्यता सिर्जना गर्ने काम राज्यले गर्न हुँदैन भन्दै यो कुरालाई सरकारले समाधान गर्न पहल गर्ने बताए ।

२०७३ साउन १८ गतेदेखि निर्माण सुरु भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २२ अर्ब लगानी हुने अनुमान गरिएको छ । उक्त रकम चीनले ऋणको रुपमा उपलब्ध गराउने छ ।

Advertisement

Advertisement

Advertisement