५५ वर्षदेखि निरन्तर नम्बर वानः महलदेखि झुपडीसम्म लोकप्रियताको शिखरमा नेविको

Advertisement

काठमाडौं । नेपालको दरबार भन्ने वित्तिकै सीमित व्यक्तिहरुको पहुँच हुने संस्थाका रुपमा चिनिन्छ । तर एउटा यस्तो उद्योग छ, जो सधैँ दरबारको छायाँमा रह्यो । तर जनताको पहुँचमा पुगिरह्यो । लोकप्रियताको शिखरमा टिकिरह्यो । त्ययो बिस्कुट हो नेबिको । नेशनल बिस्कुट्स एण्ड कन्फेक्सनरिज प्रालिका नाममा तत्कालिन राजा महेन्द्रको अगुवाईमा ५५ वर्ष अघि स्थापना भएको थियो नेबिको । राजा फेरिए । शासन व्यवस्था नै फेरियो । तर नेबिकोको रफ्तार फेरिएको छैन् । शहरका ठूला डिपार्टमेन्टल स्टोरदेखि दुर्गमका किराना पसलसम्म नेबिको निरन्तर छाइरहेको छ ।

यतिबेला नेबिकोको कार्यकारी अध्यक्षको रुपमा नेतृत्व गरिरहेका छन् पूर्वराजा ज्ञानेन्द्र शाहका छोरी ज्वाईं राजबहादुर सिंहले । ‘यो कम्पनीको कार्यकारी अध्यक्ष राजबहादुर सिंह हुनुहुन्छ । उहाँलाई नेबिकाको मालिक हो भनेर बजारले खासै चिन्दैन् । ५५ वर्षदेखिको कम्पनी हो । फरक फरक जेनरेशन हुँदै अहिले उहाँको काँधमा कम्पनी आईपुगेको छ । लगानीकर्ता त अरु पनि हुनुहुन्छ । तर मुल लगानी भने राजबहादुर सिंहकै हो । लगानीकर्ताका रुपमा हेर्ने हो भने यो घरानीयाहरुको लगानी भएको कम्पनी हो । तर यो लोकप्रिय उत्पादनहरु बजारमा ल्याइरहेको कम्पनी हो ।’, कम्पनीका मार्केटिङ तथा रिसर्च एण्ड डेभलपमेन्ट डिपार्टमेन्ट प्रमुख अरुण पौडेल भन्छन् ।

महेन्द्रले सुरु गरेको नेबिकोको नेतृत्वमा धेरै फेरबदल आयो । तर, त्यो सधै दरबार नजिकै घुमिरह्यो । दरबार नजिकै घुमिरहे पनि उसले व्यवस्थापनमा केहिल्यै हस्तक्षेप गरेन । व्यवसायीकता झनै फस्टाउँदै गयो । त्यसैले त आज कुल बिस्कुट बजारमा नेबिकोको हिस्सा १२ प्रतिशत छ । र, एक्लैले बार्षिक एक अर्बको कारोबार गरिरहेको छ । ‘स्वदेशी उत्पादनमा गुणस्तर, ब्राण्ड इमेज र बजार हिस्साका आधारमा एक नम्बरको कम्पनी हौं, हाम्रा हरेक उत्पादनलाई उपभोक्ताले रुचाउनु भएको छ’, पौडेलले सगौरव सुनाए ।

जनजनको स्वादमा छाएको नेबिको नेपाली उद्योगकै उत्पादन हो भन्ने चाँही थोरैलाई मात्रै थाहा छ । त्यसा पत्तो पाएर कम्पनीले ब्राण्डिङको नयाँ उपाय खोजिरहेको पौडेल बताउँछन् । ‘धेरै उपभोक्ताहरुले नेबिको बिस्कुट खाईरहेका छन् । तर, नेपाली उत्पादन हो कि होइन ? भन्ने थाहा रहेनछ । त्यही कुरालाई बुझेर हामीले नेबिकोको ब्राण्डिङ गरिरहेका छौं ।’, पौडेलले भने ।

बजार कत्रो ?

नेपालमा बिस्कुट तथा कन्फेक्सनरीको बजारमा मासिक एक अर्बको मानिन्छ । त्यसमा नेबिकाको हिस्सा करिब १० देखि १२ करोड रुपियाँको रहँदै आएको छ । कम्पनीले कुल बजारमा १२ प्रतिशत ओगटेको दावी गरिरहेको छ । त्यसो त कम्पनीको बजार विस्तार पनि लोभलाग्दौ नै छ । ‘हामी हरेक वर्ष १५ देखि २० प्रतिशतको मार्केट ग्रोथ गरिरहेका छौं । नाम, ब्राण्ड र पहिचानका आधारमा हेर्ने हो भने बजार हिस्सा निकै कम मात्रै ओगट्न सफल भएका छौं । तर अब बढाउँछौं ।’, पौडेलले भने ।

३० टन क्षमता, २५ उत्पादन
उद्योगसँग दैनिक ३० टन विस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्ने क्षमता छ । तर हाल विविध कारणले जम्मा २५ टनको हाराहारीमा मात्रै दैनिक उत्पादन गरिरहेको छ । केही समयभित्रै पूर्ण क्षमतामा उत्पादन गर्ने योजना बनिरहेको पनि पौडेलले बताए ।

चलेका उत्पादन
कम्पनीका ५५ उत्पादनमध्ये करिब एक दर्जन उत्पादन भने नेपाली उपभोत्ताको व्यापक रोजाईमा पर्छ । खाजा बिस्कुट्स, नेबिको कोकोनट, नेबिको थिन आरारोट, नेबिको ग्लुकोज, नेबिको सुगर फ्रि डाइजेष्टिक र सुगर फ्रि फ्याट नभएको विस्कुटहरु उपभोक्ताको उत्कृष्ठ रोजाईमा छन् ।

पछिल्लो समयमा बटर क्र्याकर, बोस बटर क्र्याकर उपभोक्ताको मन जित्न सफल उत्पादनका रुपमा अघि आएको छ । कम्पनीका यी सबै उत्पादन आफ्नै खोज अनुुसन्धानकै उपज हुन् । ‘हामीले फ्रेञ्चाईज गरेर कुनै पनि उत्पादन ल्याएका छैनौं । सबै आफ्नै ब्राण्ड र मौलिकतालाई ध्यानमा राखेर ब्राण्ड बनाएका छौं’, पौडेलले भने ।

८० प्रतिशत नेपाली कच्चा पदार्थ
नेपाली उद्योगीहरुका लागि स्वदेशी कच्चा पदार्थलाई प्राथमिकतामा राख्न त्यति सहज छैन् । त्यसमा गुणस्तर, पर्याप्त उपलब्धता र मूल्यको सवाल आउँछ ।  तर नेबिकाले ८० प्रतिशत कच्चा पदार्थ नेपालकै प्रयोग गरिरहेको छ । ‘नेपालबाटै उत्पादन हुने कच्चा पदार्थले पुग्ने र गुणस्तर मापदण्ड पनि पूरा हुने सवालसम्म हामी नेपाली कच्चा पदार्थ नै उपयोग गर्छौ । अन्य अवस्थामा हामी विदेशबाट आयात गर्छौ’, पौडेलले भने । नेबिकोका उपयोग गर्ने मुख्य कच्चा पदार्थ भनेको मैदा र आँटा हो । कहिले मूल्य, कहिले गुणस्तर र कहिले खोजेको बेलामा नपाएर पनि नेपाली कच्चा पदार्थको उपयोग गर्न मुस्किल परिरहेको पौडेल बताउँछन् ।

गुणस्तरमा अब्बल

नेपालका बिस्कुट कम्पनीहरुमा सबैभन्दा धेरै नेपाल गुणस्तर चिन्ह (एनएस) पाउने उत्पादन नेबिको नै हो । पहिले १२ वटा उत्पादनले नेपाल गुणस्तर चिन्ह पाएका थिए । अहिले ८ वटाले पाईसकेका छन् । अरु प्रक्रियामा छन् । ‘एनएस गुणस्तर बर्सेनी नविकरण गर्नुपर्ने भएकाले पनि केही तलमाथि भैरहन्छन् । तर पनि नेबिकोका एक दर्जन जति उत्पादनले नेपाल गुणस्तर चिन्ह पाईरहेका हुन्छन् ।

नेपाल गुणस्तर चिन्ह प्राप्त गर्न सरकारी ल्याबका धेरै प्रक्रिया पार गर्नुपर्छ । चिन्ह पाएपछि पनि सरकारी निकायको निरन्तर अनुगमन र सुपरिवेक्षण रहन्छ’, पौडेलले भने । त्यसकारण पनि नेबिकाका उत्पादनहरुको गुणस्तरमा कुनै शंका गर्नुपर्ने अवस्था नरहने उनको दावी छ । हामी आफैं पनि गुणस्तरमा कुनै सम्झौता गर्दैनौं । अन्तर्राष्ट्रिय ब्राण्डहरुसँग प्रतिष्पर्धा गर्नुपर्छ । नोक्सानी खान तयार छौँ तर गुणस्तरमा सम्झौता गर्दैनौं ।’, पौडेलले भने ।

मुनाफा कति ?
‘यो साह्रै धेरै प्रतिष्पर्धा भएको क्षेत्र हो । स्वदेशी तथा विदेशी उत्पादनहरुसँग कडा प्रतिष्पर्धा गर्नुपर्छ । यसको उत्पादन लागत पनि धेरै छ । हामी पाँच प्रतिशतको हाराहारीमा मुनाफा लिएर उद्योग चलाईरहेका छौं’, पौडेलले भने । उनले अलि धेरै नाफा कमाउने ठाउँ पनि भएको तर त्यसका लागि गुणस्तरमा सम्झौता गर्नुपर्ने भएकाले आफूहरु त्यस्तो बाटोमा नलागेको पनि स्पष्ट पारे ।

........त्यसैले एक नम्बर
कम्पनीले सस्तो प्रतिष्पर्धाको भीडमा जान नचाहेको पौड्यालको भनाई छ । नेपालमा करिब १५ वटा विस्कुट उद्योग छन् । यी उद्योगहरुले कुल बजारको करिब ५५ प्रतिशत हिस्सा ओगट्छन् । बाँकी आधा माग आयातित वस्तुले धानिरहेको छ । नेपाल विस्कुट तथा कन्फेक्सनरीमा आत्मनिर्भर बन्नसक्ने ठाउँ रहेको उनको भनाई छ । त्यसका लागि सरकारले नेपाली उत्पादनहरुलाई मूल्यमा प्रतिष्पर्धी बनाउन र बजार प्रवद्र्धनमा सघाउनुपर्छ । आयातित बिस्कुटसँग गुणस्तरमा प्रतिष्पर्धा गर्नसक्ने अवस्था नभएको पनि पौड्यालले बताए ।

‘नेबिको एक नम्बरको कम्पनी भएर पनि गुणस्तरमा प्रतिष्पर्धा गर्न सक्ने अवस्था छैन भनिरहेको छ भने अरुको अवस्था के होला ? उपभोक्ताले विदेशी उत्पादनको जस्तै गुणस्तर दिनुस्, हामी उपभोग गर्छौ भनिरहेका पनि छन्’ पौडेलले सुनाए ।

विदेशी बिस्कुटसँग प्रतिष्पर्धा कसरी ?
विदेशी उत्पादन भन्ने वित्तिकै राम्रो हुने नेपाली उत्पादनभन्दा नाक खुम्च्याउने आमप्रवृत्ति छ । नेबिकोसँग केही यस्ता उत्पादन पनि छन् जसले विदेशी बिस्कुटसँग प्रतिष्पर्धा गरिरहेका छन् । सुगर फ्रि क्र्याकर, डाइजेष्टिभ, बटर क्र्याकर र कोकोनटले विदेशी बिस्कुटहरुसँग सहजै प्रतिष्पर्धा गरिरहेका छन् । यी नेबिकोका प्रिमियम प्रडक्ट हुन ।

सरकारी पहल कदमी
सरकारले स्वदेशी उत्पादन उपभोगका लागि नागरिकलाई उद्येलित गर्नुपर्छ । ‘भूकम्प र नाका बन्दीका बेलामा ‘स्वदेशी उत्पादन उपभोग गरौं, आत्मनिर्भर बनौं’ भन्ने अभियान नै चलाएका थियौं । अहिले पनि त्यो अभियानमा केही काम गरिरहेका छौं’ पौड्यालले भने । उनले बिस्कुट उत्पादक संघमार्फत आयातमा केही कडाई गर्न सरकार समक्ष प्रयास गर्दा खासै सुनुवाई नभएको गुनासो गरे ।

‘सरकारले बिस्कुट आयातमा प्रतिबन्ध लगाएपछि नेपाली उद्योगले माग धान्न सक्छन् भनेर सोध्यो भने हामी सकिन्छ भन्छौं । विदेशी बिस्कुटको आयातमा प्रतिबन्ध लगाउनुस भन्दैनौं । आयातमा निरुत्साहित गरिदिए पुग्छ ।’, पौडेलले भने ।

निर्यात सम्भावनाबारे
नेबिकोले नै आफैं विदेश निर्यात गरेको छैन् । तर बिभिन्न च्यानलहरुबाट बिस्कुटहरु भारत, चीन र अष्ट्रेलियासम्म पुगेका छन् । ‘त्यहाँका मार्टहरुमा हाम्रा उत्पादन बेचिएको साथीहरुले नै भनिरहेका छन् । चीनमा पनि खासा हुँदै निर्यात भइरहेका छन् । तर अब भने कम्पनी आफैंले पनि निर्यातबारे सोचिरहेको छ’, पौड्यालले सुनाए ।

कम्पनीले भारतको आसाम, दार्जिलिङ, सिक्किममा निर्यात गर्नेबारे सोँच बनाएको छ । ‘त्यो क्षेत्रमा नेपाली सेन्टिमेन्ट पनि छ, हामीलाई मूल्यमा प्रतिष्पर्धा गर्न पनि खासै समस्या नहोला भन्ने लाग्छ । खाली हामीले गुणस्तर र प्याकेजिङमा ध्यान दिनुपर्छ । मूल्यमा त हामी प्रतिष्पर्धा गरिहाल्छौं ।’

कम्पनीले सुगर फ्रि क्र्याकरको उत्पादन नै निर्यातको योजनासहित गरेको बताएको छ । सुगर फ्रि डाइजेष्टिक, कोकोनट, बटर क्र्याकर लगायतका उत्पादनले विदेशी बजारमा पनि प्रतिष्पर्धा गर्न सक्छन् भन्ने निष्कर्ष छ ।

प्रविधि कहाँको ?
सुरुवातमा जर्मनीको प्रविधिबाट उत्पादन थालेको उद्योगमा यतिबेला धेरै देशका प्रविधि थपिएका छन् । ‘नेबिकोको आरम्भ जर्मन प्रबिधिको प्लान्टबाट भएको थियो ५५ वर्ष पहिले । आजको दिनमा पनि एउटा प्लान्ट त्यसैलाई मर्मत गरेर चलाईरहेका छौं । त्यसबाहेक, भारत र चीनबाट ल्याईएका प्रबिधिबाट उत्पादन गरिरहेका छौं’, पौड्यालले सुनाए ।

पहिलो र पछिल्लो उत्पादन ?
खाजा बिस्कुट, ग्लुकोज र थिन आरारोटलार्ई कम्पनीले आफ्नो सुरुवाति चरणका उत्पादनका रुपमा लिएर अहिले पनि निरन्तरता दिईरहेको छ । कम्पनीले पछिल्लो उत्पादनका रुपमा ‘बोस’ बिस्कुटलाई केहि दिन अघि मात्रै बजारमा ल्याएको छ । स्टे फिट नामको बिस्कुट पनि केहि समय अघि मात्रै बजारमा लगिएको हो ।

अब नयाँ के के ?
नेबिकोले नयाँ प्रडक्टमा जाने भन्दा पनि अहिले बजारमा भएका उत्पादनहरुलाई केहि विकसित गर्ने नीति बनाएको छ । दशै अघि २ वटा नयाँ प्रडक्ट ल्याउने बताएको छ । ‘नेपालमा सबै भन्दा धेरै प्रडक्ट ल्याउने कम्पनी हामी नै हौं । गत वर्ष मात्रै हामीले ७ वटा नयाँ प्रडक्ट ल्याएका थियौं । उपभोक्ताको माग अनुसार नयाँ नयाँ उत्पादन ल्याउन सकिएन भने बजारमा टिक्न सकिन्न ।’, पौडेलले भने ।

बालबालिका र महिलालाई
कम्पनीसँग बालबालिकाका लागि चाहिने २ वटा प्रडक्ट मात्रै छन् । थप केहि प्रडक्ट ल्याउने तयारी गरिरहेको छ । केहि समयअघि बालबालिकाका लागि लक्षित केहि उत्पादन थिए, तर अरुले थोरै मूल्यमा बजारमा ल्याएपछि उत्पादन घटाईएको छ । अब भने मूल्यमा समेत प्रतिष्पर्धी बन्ने गरि ती उत्पादनलाई पुनः ल्याउने तयारी भैरहेको छ ।

युवाका लागि
नेबिको ‘स्टे फिट’ बिस्कुट युवा लक्षित छ । जिम जाने र बडी मेन्टेन गर्नेहरुका लागि सुगर फ्रि सेगेमन्टमा यो विस्कुत ल्याईएको हो । कम्पनीले यसै वर्ष कुकिज पनि उत्पादन थाल्ने तयारी गरेको छ ।

रोजगारी कति ?
नेबिकोमा ४ सय जनाले प्रत्यक्ष रोजगारी पाईरहेका छन् । त्यति नै संख्यामा बाहिर नेबिकोका कारण अप्रत्यक्ष रोजगारी सृजना भएको छ ।
बजार प्रणाली
७७ वटै जिल्लामा नेबिकोका उत्पादन पाइन्छन् । ‘सबै जिल्लाका सबै पसलमा पाइन्छन् भन्न सकिन्न तर केहि न केहि पसलमा पक्कै पुगेका छन् । देशभर १२० वटा वितरण नियुक्त गरेका छौं । उहाँहरुको माध्यमबाट समान पठाउँछौं ।’, पौडेलले भने ।

कमिसनको खेल
उत्पादनहरु राम्रा हुने वित्तिकै बिक्छन भन्ने हुन्न । बिक्रेताहरुले बिक्रि गरेवापत पाउने मार्जिन(कमिसन)ले पनि बजारमा ठुलो महत्व राख्छ । अहिलेको अवस्थामा च्यानल पार्टनरहरुलाई जुन कम्पनीले जुन प्रडक्टमा जति बढि नाफा दिएको छ, त्यहि प्रडक्ट बढी बिक्ने अवस्था छ । ‘कम मार्जिन भएका प्रडक्टहरुको बिक्रिका लागि खासै ध्यान नदिने रहेछन् । हामी बिक्रेताको कमिसनमा पनि सचेत छौं’, पौडेलले भने ।

२ वर्षदेखि भैरहवामा पनि
नेबिकाले २ वर्षदेखि भैरहवामा समेत प्लान्ट स्थापना गरेर उत्पादन गरिरहेको छ । भैरहवा प्लान्टबाट ११ प्रकारका बिस्कुट उत्पादन भैरहेका छन् । ५ नम्बर प्रदेश आसपासका लागि त्यहिँको उत्पादनले बजार थेगिरहेको पनि उनले जानकारी दिए ।

को हुन पौडेल ?
विगत पाँच वर्षदेखि कम्पनीको मार्केटिङ, ब्राण्ड र रिसर्च एण्ड डेभलपमेन्ट हेरिरहेका अरुण पौडेलसँग मार्केटिङको १३ वर्षे अनुभव छ ।
‘१३ वर्षदेखि कुनै न कुनै रुपमा मार्केटिङको क्षेत्रमा छु । यस अघि लक्ष्मी ग्रुपको सुजल फुड्समा काम गरेँ । मेरो चासोको बिषय नै ब्राण्डिङ हो ।’ पौडेलले आफ्नैबारे सुनाए । ब्राण्डिङ भनेको खर्च होइन लगानी हो, त्यसको प्रतिफल आउँछ र ब्राण्डिङ प्रडक्टको मात्रै होइन देश र व्यक्तिको पनि हुनुपर्छ ।’, पौडेलले सुनाए ।     

Advertisement

Advertisement

Advertisement