वैकल्पिक सडक नहुँदा बालकोट–सिरुटारका बासिन्दालाई सास्ती

Advertisement

भक्तपुर । सूर्यविनायक नगरपालिका– २ स्थित बालकोट–सिरुटार सडक विस्तार, ढल व्यवस्थापन एवं कालोपत्र गर्ने काम शुरु भएको छ । मध्यपुरथिमिको कौशल्टारबाट बालकोट, सिरुटार हुँदै बिरुवा जाने एकमात्र मूल सडकको रुपमा रहेको यो सडक खण्डको बालकोटमा सडक विस्तार शुरु गरिएको हो ।

प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा केन्द्रीय सरकारको रु पाँच करोडको लागतमा बालकोटको पाटीधारादेखि सिरुटारको सिमानासम्म सडक विस्तार शुरु गरिएकामा प्रदेश नं ३ का प्रदेशसभा सदस्य शशिजंग थापाको पहलमा प्रदेश सरकारबाट आएको रु एक करोडको लागतमा सडक सीमाङ्कन एवं ढुङ्गाको पर्खाल लगाउने काम सकिएको र अहिले ढल व्यवस्थापन एवं कालोपत्र गर्न थालिएको छ ।

“पाटीधारादेखि सिरुटारको सिमानासम्म ढल हाल्ने काम भइरहेकाले आगामी कात्तिक अन्तिमसम्ममा ढल व्यवस्थापन, सडक कालोपत्र र फुटपाथ निर्माण गरी हस्तान्तरण गरिसक्ने गरी सम्झौताअनुसार काम भएको छ”, प्रदेशसभा सदस्य थापाले जानकारी दिए । सडक विस्तार शुरु भएसँगै कौशल्टार, बालकोट, सिरुटार जाने सडक बन्द भएको छ । बिरुवाबाट सिरुटार हुदै रत्नपार्क जाने सार्वजनिक यातायातका साधनका साथै स्थानीयवासीका निजीसवारी साधनसमेत सञ्चालन हुन सकेका छैनन् ।

वैकल्पिक सडकको व्यवस्था नहुँदा एम्बुलेन्ससमेत रोकिएका छन् । स्थानीयवासिन्दाले भने वैकल्पिक सडक नभएकाले ढल हाल्ने कार्य तत्काल सम्पन्न गरी थुपारिएको माटो सम्याएर एकतर्फी भए पनि सडक सञ्चालन गर्न माग गरेका छन् । स्थानीयवासी भुपाल गिरीले वैकल्पिक सडक नहुँदा बालकोट, सिरुटादेखि बिरुवासम्मका बासिन्दालाई समस्या भएकाले जतिसक्दो छिटो सडक खुलाउने गरी काम गर्न निर्माण कम्पनीलाई आग्रह गरिएको बताए ।

दशैँ र तिहारजस्ता महत्वपूर्ण चाडसमेत नजिएकाले दशैँसम्म दुईतर्फी सडक सञ्चालन गर्न नसके निकै सास्ती पर्ने भन्दै छिटो काम सम्पन्न गराउन निर्माण कम्पनीलाई स्थानीय जनप्रतिनिधिले दबाब दिनुपर्ने बालकोटमा सुशान्त कार्कीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement