लोकतन्त्रको विकल्प लोकतन्त्र नै होः मन्त्री बाँस्कोटा

Advertisement

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको बताएका छन् । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालन हुन लागेको बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्रको विकल्प नभएको विचार व्यक्त गरे ।

उनले भने, लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो कुनै पनि प्रकारको निरङ्कुशतन्त्र अधिनायकतन्त्र वा तानाशाहीतन्त्र विकल्प होइनन् ।

मन्त्री बाँस्कोटाले लोकतन्त्र जनताको सर्वोपरि विषय भएको बताए । रगतसँग साटिएको यो उपलब्धि कुनै पनि हालतमा गुम्दैन, हाम्रो पुर्खा र विरासत के हो आगामी पाँच पुस्तालाई पनि सिकाउनुपर्दछ । उनले अँध्यारोबाट उज्यालोतर्फ लागेको मुलुकको यात्रामा धावा बोल्नेले ‘चट्टानसँग कुइनो लडाउनुभन्दा पनि खतरनाक’ खालको हुने समेत बताए ।

मन्त्री बाँस्कोटाले जनताको उपलब्धिप्रति कसैले प्रश्न उठाउनु अपराध हुने उल्लेख गर्दै प्रश्न उठाउनेलाई सबै नेपाली जनताले कुल्चिदिनुपर्ने धारणा राखे । उनले भने, इतिहासमा कसैले कुँडाकर्कट बनाइसकेका, इतिहासमा अयोग्य तत्वको केही चलखेल जस्तो देखिन्छ, कथित सल्बलाउन खोजेकालाई जनताले नै जवाफ दिनेछन् । रगतसँग साटिएको उपलब्धिसँग खेलबाड गर्ने कोसिस भएकोप्रति सजग रहनुपर्ने उनले सुझाव दिए ।

मन्त्री बाँस्कोटाले यो व्यवस्था कुनै नेता वा कुनै व्यवस्थामा जन्मेकाले नल्याएको बताउँदै विकास, निर्माण, परिवर्तन, जागरण, उपलब्धि, विरता, धैर्यता र सपनाका दृष्टान्त देखाएर संविधान दिवस भव्यताका साथ मनाउन आग्रह गरे । संविधान दिवस भव्यताका साथ मनाउनुपर्छ, हामीले ऐतिहासिक जनक्रान्तिका साथ लडेर ल्याएको व्यवस्था हो यो उपलब्धि रक्षा तथा समृद्ध नेपालको यात्रामा सफलताका निम्ति सबै जनताको सफलताको शुभकामना चाहिन्छ, उनले भने ।

Advertisement

Advertisement

Advertisement