मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन भदौ २४ मा

pipeline-petroleum

काठमाडौँ । बहुचर्चित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन भदौ २४ गते हुने भएको छ । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा सो पाइपलाइनको उद्घाटन गर्ने भएका छन् ।

पाइपलाइनका परियोजनाका प्रमुख प्रदीपकुमार यादवले दुवै मुलुकका प्रधानमन्त्रीले भदौ २४ गते ‘हाइटेक’ प्रविधिबाट सो पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुहुने मिति तय भएको जानकारी दिए । उद्घाटनपछि उक्त पाइपलाइनबाट नियमित इन्धन आपूर्ति हुने जानकारीसमेत उनले दिए ।

प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासबाट र भारतीय समकक्षी मोदीले नयाँदिल्लीस्थित प्रधानमन्त्री निवास हैदरावाद हाउसबाट एकैसाथ रिमोट थिचेर पाइपलाइनको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ ।

रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगञ्जस्थित डिपोको युनिटको भल्ब खुल्नेछ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेलको आपूर्ति सुरु हुनेछ । यसअघि नै सो पाइपलाइनको सफल परीक्षण भइसकेको छ । दुवै मुलुकका प्रधानमन्त्रीले रिमोट थिच्नुभन्दा अघि नै मोतिहारीस्थित इन्डियन आयल कर्पोरेसनको डिपोले तेल छोडिसकेको हुनेछ । परीक्षणका क्रममा पाइपलानमा तेल भरिएको हुनाले मोतिहारीबाट छोड्ने वित्तिकै अमलेखगञ्जमा तेल आइपुग्ने छ । पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगञ्जको डिपोमा खसाल्न सकिने छ ।

सोही अवसरमा अमलेखगञ्जस्थित डिपोमा उपस्थित इन्डियन आयल निगम (एनओसी)का पदाधिकारीहरूले नेपाल आयल निगमका कर्मचारीहरूलाई साङ्केतिक रूपमा डिजेल हस्तान्तरण गर्ने कार्यक्रमसमेत तय भएको जानकारी नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक विशाल ओझाले दिए ।

उद्घाटनपछि डिजेल पाइपलाइनबाट तथा पेट्रोल र मट्टीतेल ट्याङ्करबाट आपूर्ति गरिने जानकारी ओझाले दिनुभयो । पेट्रोल र मट्टीतेलको भण्डारणका लागि अहिले थप डिपो तयार हुन नसकेकाले तत्कालका लागि सो पाइपलाइनबाट डिजेल मात्र नै आपूर्ति गरिने छ । डिपो तयार भइसकेपछि मात्र पेट्रोल र मट्टीतेल आपूर्ति गरिने छ । पेट्रोल र मट्टीतेलको भण्डारणका लागि डिपो तयारीका क्रममा रहेको नेपाल आयल निगमले जनाएको छ ।

मुलुकै पहिलो अन्तरदेशीय पेट्रोल पाइप सञ्चालनमा आएसँगै वार्षिक करिब पचास करोड रुपियाँ ढुवानी खर्च बचत हुने नेपाल आयल निगमले जनाएको छ । भारतबाट आयत गरिने ७० प्रतिशत इन्धन रक्सौल–अमलेखगञ्ज हुँदै नेपाल भित्रिने गर्छ । अहिले निगमले प्रतिलिटर दुई रुपियाँ पचास पैसा ट्याङ्करलाई भाडास्वरूप तिर्दै आएको छ । मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगञ्जस्थित निगमको क्षेत्रीय डिपोसम्मको ३६.२८ किलोमिटरको दूरीमा पाइपलाइन विछ्याइएको हो ।

गोरखापत्र दैनिकबाट ।