एटीएम ह्याकिङ प्रकरणबारे छलफल गर्न बैंकरहरुको आकस्मिक बैठक बोलाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकसहित ६ ओटा बैंकको सिस्टम ह्याक गरेर पैसा निकालिएको थाहा भएपछि बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई बोलाएर आकस्मिक छलफल गर्न लागेको छ । राष्ट्र बैंकले कार्डमार्फत् हुने अनलाइन भुक्तानीमा समस्या देखिएपछि बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसँग आकस्मिक बैठक बोलाउने तयारी गरेको हो ।

यसबारे नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेम्स)ले समेत बैंकरहरुसँग बैठक बोलाएर आकस्मिक रुपमा अहिले छलफल गरिरहेको छ ।

त्यस्तै, नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेकासँगै प्रहरीले रु एक करोड २६ लाख नेपाली रुपियाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । यस घटनाबारे महानगरीय प्रहरी परिशर काठमाडौंले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ ।