विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको आम्दानी बढ्यो

Advertisement

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा विस्तार भएसँगै आन्तरिक आम्दानीमा वृद्धि भएको छ । अस्पतालका अत्यावश्यक सेवा सञ्चालन भएपछि आम्दानी बढेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार गत आवमा  ३२ करोड ५२ लाख ८२ हजार आम्दानी भएको थियो । अघिल्लो आवभन्दा १३ करोड ११ लाख ४३ हजार बढी आम्दानी भएको छ । आव २०७४/७५ मा  १९ करोड ४१ लाख ३९ हजार तथा आव २०७३/७४ मा अस्पतालको आम्दानी  १८ करोड ४२ लाख ३१ हजार थियो । सेवा विस्तार र सुदृढ भएसँगै बिरामीले सेवा लिने अवसर पाएका छन्, उनले भने । भदौ १५ गतेदेखि १९४ श्यया बढाएर ४४३ श्यया पुयाइएको छ ।

क्यान्सर रोगीका लागि अत्यावश्यक रेडियोथेरापी मेशिनको अभाव छ । दैनिक झण्डै १६० जनाले सेवा पाउने गरेका छन् । रेडियोथेरापी र प्याथोलोजी विभागका उपकरण पनि सञ्चालनमा आएका छन् । भिडियो एक्स–रे, म्यामोग्राफी र एमआरआई सेवा अवरुद्ध भए मर्मतसम्भार र नयाँ खरीद गरी सञ्चालनमा ल्याइएको छ । सिटी स्क्यान, एमआरआई तथा म्यामोग्राफी सेवा लिन पालो लिनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

सेवा सञ्चालन र श्यया थपिएसँगै अस्पतालको आम्दानी बढेको हो, आचार्यले बताए । बिरामी बाहिर जानु नपरोस् भनेर फार्मेसी सञ्चालनमा ल्याइएको छ । तीन वर्ष अघि अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो । तत्कालीन समयमा अधिकांश उपकरण बिग्रिएका, प्याथोलोजीका सामग्री नभएका, कर्मचारी कार्यालय समयमा बाहिर जाने जस्ता समस्या देखिएपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी सुधारका लागि पहल थालेको थियो ।

सो पश्चात् नियुक्त हुनुभएका कार्यकारी निर्देशक आचार्यले निरन्तरको प्रयासपछि अस्पताल सुधारको बाटोमा अघि बढेको यसका सूचकहरुले देखाएको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement