युनियनको रफ्तारः २१ महिनामै ३ नम्बर, अझै चमत्कार गर्ने योजना

Advertisement

काठमाडौं । एक्काइस महिनाको यात्रा, १५ हजार अभिकर्ता, १७३ शाखा अनि तीन अर्ब आठ करोड रुपियाँ प्रिमियम । यो सफलता हो युनियन लाइफ इन्स्योरेन्स कम्पनीको । २०७४ साल असोज ४ गते लाइसेन्स लिएर ६ गते उद्घाटन गरेको कम्पनीले कात्तिकदेखि सेवा आरम्भ गरेको थियो । आर्थिक वर्ष २०७४।७५ को ९ महिनामै ८६ करोड रुपियाँ प्रिमियम संकलन गर्न सफल भयो युनियन लाइफ । यस्तो प्रगति कसरी सम्भव भयो त ? भन्ने प्रश्नको जवाफमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्ण भन्छनः ‘हाम्रो परिश्रम र मेहनतको फल हो, तलदेखि माथिसम्म सबैले मिलेर मेहनत गर्यौं, अभिकर्ता, कर्मचारी र बीमितहरु सबै यो सफलताका हकदार हुनुहुन्छ ।’ कम्पनीले २१ महिनामा एक लाख ३४ हजार ५ सय ९४ वटा बीमालेख जारी गरिसकेको छ । एक अर्ब ५० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा १६ करोड रुपियाँ जम्मा भइसकेको छ । कम्पनीको जीवन बीमा कोषको आकार नै दुई अर्ब १२ करोड रुपियाँको छ ।

पूरानालाई कडा टक्कर
कम्पनीले पूराना र स्थापीत जीवन बीमा कम्पनीहरुलाई कडा टक्कर दिईरहेको छ । ‘प्रथम बीमा शुल्कका आधारमा १९ वटा कम्पनीमध्ये हामी तेस्रो नम्बरमा आईपुगेका छौं, हामीले गत आर्थिक वर्षमा दुई अर्ब ८० करोेड प्रथम बीमा शुल्क आर्जन गरेका छौं’, सीईओ कर्णले कर्पोरेट नेपालसँग भने ।

पन्द्र हजार अभिकर्ताको विशाल नेटवर्क
कम्पनीले हालसम्म देशभर १५ हजारभन्दा बढी अभिकर्ता तयार पारिसकेको छ । जीवन बीमा कम्पनीका लागि मुख्य औजारका रुपमा रहेका यिनै अभिकर्तामार्फत नागरिकसम्म पुगिरहेको छ युनियन लाइफ । कर्ण भन्छन्, ‘हाम्रो सफलताको कारण भनेको टिम वर्क नै हो । जुन हिसाबले शाखा सञ्जाल विस्तार, कर्मचारी व्यवस्थापन र क्षमता अभिवृद्धि, अभिकर्ताहरुको सञ्जाल विस्तारको काम गरिरहेका छौं, यीनै इफोट्सको परिणमस्वरुप आज हामी यहाँसम्म आईपुगेका हौं ।’

दश वटा बीमा पोलिसी बजारमा
कम्पनीले फरक फरक प्रकृति र बिशेषता भएका १० वटा बीमा पोलिसी बजारमा लगिसकेको छ । तीमध्ये सबैभन्दा धेरै रुचाईएको प्रडक्ट हो ‘मनी ब्याक होल लाइफ’ । यो पोलिसीमा प्रत्येक चार चार वर्षमा मनी ब्याक हुन्छ । जस्तो की पहिलो चार वर्ष पूरा भएपछि ३० प्रतिशत रकम फिर्ता हुन्छ । अर्को चार वर्षमा फेरी ३० प्रतिशत र बाँकी ४० प्रतिशत रकम भने बीमा पोलिसीको अवधि पूरा भएपछि बीमितले पाउँछन् । त्यसपछि बोनस र जीवनकाल भरी जोखिम वहनको सुविधा पनि यसमा रहेको छ । यिनै बिशेषताहरुले मनी ब्याक होल लाइफ पोलिसीलाई अत्याधिक रुचाईएको सीईओ कर्णको निचोड छ ।

म्यादीको सकस
वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि गरिने म्यादी बीमामा कम्पनीहरुबीच चर्को प्रतिष्पर्धा थियो । त्यसमा अस्वस्थता देखिएपछि बीमा समितिले हस्तक्षेप गरेर बीमा पुल बनायो र हाल चार वटा कम्पनीले प्रिमियम संकलनको काम गरिरहेका छन् । अघिल्लो वर्षको प्रिमियमका आधारमा संकलित नयाँ प्रिमियम बाँडफाँट गर्ने सहमति थियो । सोही सहमति अनुसार युनियन लाइफले गत आर्थिक वर्ष २०७५।७६ मा म्यादी बीमा पोलिसीवापत ३० करोड प्रिमियम प्राप्त गरेको छ । अब जीवन बीमक संघको अगुवाईमा कानुनी आधार समेत हुनेगरि पुल निर्माणको गृहकार्य भइरहेको छ ।

बोनस कति ?
युनियन लाइफले ४० देखि ७० रुपियाँसम्मको बोनस दर घोषणा गरेको छ । ‘नौ महिनाको व्यापारका आधारमा ४० देखि ७० रुपियाँसम्मको बोनस दर कायम गराउन सक्नु भनेको निकै राम्रो पक्ष हो’, सिइओ कर्णले भने । तर बोनसलाई नै सबै कुरा ठान्न नहुने उनको भनाई छ । जीवन बीमा भनेको मुलतः जोखिम, बचत र लगानी नै हो ।

कर्ण भन्छन्, ‘बोनसका पछाडी मात्रै कुद्ने कुरा पनि राम्रो होइन, कसले कति दिन सक्छ ? भन्ने कुरा पनि कसैलाई थाहा हुन्न । अहिले यति दिएका छौं, भोलि यति दिन्छौं भनेर हुन्छ र ?’ बोनस दर निर्धारणमा कम्पनीको आम्दानी, खर्च, व्यवसाय र जोखिम लगायतका धेरै पक्षको भूमिका हुने उनको भनाई छ । कर्णले थपे, ‘हामीले जुन आकारमा व्यवसाय विस्तार गरिरहेका छौं, त्यसका आधारमा हेर्ने हो भने भविष्यमा युनियन लाइफले पनि राम्रो बोनस दिन्छ भन्न सकिन्छ ।’

बीमा किन ?
सीईओ कर्णका अनुसार बीमालाई नागरिकको जीवनसँग जोड्नुपर्छ । बीमाका लागि नागरिकमा तिर्खा बढाउनुपर्छ । अविभावकलाई केही भयो भने परिवार बिचल्लीमा पर्छ भन्ने कुरा स्थापित गर्नुपर्ने उनको भनाई छ । मानिसलाई सामान्यत ५८ वर्षको जागिरे जीवन तोकिएको छ । मान्छेको औषत आयु क्रमशः वृद्धि भइरहेको छ । जागिरे जीवनबाट अवकासपछिको जीवनका लागि बीमा गर्नुपर्ने उनको भनाई छ ।

इतिहासदेखि वर्तमानसम्म
नेपाली जीवन बीमा कम्पनीले नै बीमा पोलिसी बेच्न थालेको २०२९ साल फागुन ७ गतेदेखि हो । त्यसअघि विदेशी कम्पनीहरुका एजेन्टका रुपमा बीमा पोलिसी बेचिएको थियो । यो अवधिमा बीमाको विकास त भएकै छ । तर यसका यथोचितरुपमा भने हुन सकिरहेको छैन् । त्यसको कारण भनेको बीमाको जानकारी विस्तार गर्न नसक्नु नै हो । ‘बीमाको इतिहास लामो भए पनि यसको विस्तार भने ढिलै भएको देखिन्छ, तर अब एकाध वर्षमा व्यापक परिवर्तन आउनेछ’, कर्णले विश्वास व्यक्त गरे ।

भारतमा यस्तो पनि थियो
कर्णले भारतीय बीमा बजारको घत लाग्दो इतिहास पनि सुनाउन भ्याए । भारतमा बीमा बजारमा कस्तो विकृति थियो ? अभिकर्ता कस्ता थिए ? र नागरिक के सोच्थे ? भन्नेबारे जानकारी पनि उनले दिए । कर्णले भने, ‘पहिले पहिले भारतमा साइकलको घण्टी बज्यो भने सबैले झ्याल ढोका बन्द गर्थे । अब बीमा अभिकर्ता आयो उसले बीमा गराएरै छाड्छ भन्ने जनतालाई लाग्थ्यो । अहिले समय बदलिएको छ । बीमाबारे सुन्न थालेका छन् । कोठा बन्द गर्नुपर्ने अवस्था छैन् । जनता आफैं जागरुक भएका छन ।’

हाम्रै नेपालमा पनि मृत्युको त्रास देखाएर बीमा पोलिसी बेच्ने गरेको आरोप लागिरहेकै छ । यद्यपी मृत्यु ध्रुव सत्य हो । अभिकर्ताहरुले त्रास नभएर विश्वास दिलाएर बीमा गराउनुपर्ने उनको बुझाई छ । ‘मान्छेको मृत्यु कतिबेला र कहाँ हुन्छ, केहि ठेगान हुन्न । कति बेला रोग लागेर थला पर्नुपर्ने हो त्यो पनि थाहा हुन्न । बीमाले मरेपछि मात्रै रिटर्न दिने होइन जीवन कालमै पनि भरथेग गर्छ’, कर्णले भने ।

फोर्स बचतको माध्यम पनि
मान्छेलाई जति कमायो त्यति खर्च गर्ने बानी परिरहेको हुन्छ । त्यस्तो अवस्थाका लागि बीमा फोर्स बचत हो । बीमामा एक पटक प्रिमियम तिरेपछि फेरि तिरिरहनुपर्छ । बचत पनि हुने, लगानी पनि हुने र त्यो भन्दा बढी जोखिम हस्तान्तरण पनि हुने भएपछि बीमामा नागरिक आकर्षित हुँदै गएको उनको निष्कर्ष पनि छ ।

२५ प्रतिशत पहुँच ?
बीमा समितिले जीवन बीमाको पहुँच २५ प्रतिशत पुगेको दावी गरिरहेको छ । त्यसमा पाँच प्रतिशत दोहोरिएका पोलिसी हुन सक्ने उनको बुझाई छ । उनकै भनाईलाई मान्ने हो भने पनि अब २० प्रतिशत नेपालीले जीवन बीमा गराएका छन् । अब यो रफ्तार द्रुतगतिमा बढ्ने र केही वर्षभित्रै सबै नेपाली जीवन बीमाको पहुँचमा आईपुग्ने उनको दृढ विश्वास पनि छ ।

बैंकास्योरेन्स कि कर्पोरेट एजेन्ट ?
‘वास्तवमा बैंक र बीमा कम्पनीहरुबीच बैंकास्योरेन्स नभएर कर्पोरेट एजेन्टशीप लिएर काम भइरहेको थियो । नेपाल राष्ट्र बैंकले जहाँ जहाँ समस्या देखियो, त्यहाँ त्यहाँ करेक्सन गर्नुपर्ने थियो । तर एकै पटक रोक्ने काम भयो । त्यसो नगर्नुपर्ने थियो । दुनियाँ भर कर्पोरेट एजेन्टको काम भइरहेकै छ ।’, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकलाई बीमा पोलिसी बेच्न गरेको कडाईप्रति लक्षित गर्दै कर्णले असन्तुष्टि पोखे ।

आईपीओ कहिले ?
युनियन लाइफले चालु आर्थिक वर्षभित्रै आर्इपीओ निष्काशनको तयारी गरिरहेको छ । आर्थिक वर्ष २०७५।७६ सालको वित्तिय विवरण स्वीकृत भएपछि आइपीओ निष्काशनको प्रक्रिया अघि बढाउने कर्णले बताए । उनी भन्छन्, ‘मलाई लाग्छ, चालु आर्थिक वर्षभित्र आईपीओ निष्काशनबारे केही प्रगति हुन सक्छ । हामी यसै वर्ष आर्इपीओ जारी गर्ने प्रयास गर्नेछौं ।’

को हुन कर्ण ?
सन १९९५ देखि बीमा क्षेत्रमा क्रियाशील कर्णले आधा दर्जनभन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीमा काम गरिसकेका छन् । उनीसँग नेशनल लाइफ, युनाइटेड इन्स्योरेन्स, एलआईसी नेपाल, प्रभु इन्स्योरेन्स हुँदै सूर्या लाइफमा काम गरेको अनुभव छ । सूर्या लाइफमा जनरल मेनेजर भएका उनी यतिबेला युनियनमा सीईओको कमाण्ड सम्हालिरहेका छन् । प्रदेश नम्बर २ को महोत्तरीस्थित जलेश्वरमा स्थायी घर भएका कर्णले भारतको मणिपाल युनिभर्सिटीबाट एमबीए उतिर्ण गरेका छन् ।

Advertisement

Advertisement

Advertisement