एक सय पर्यटन गन्तव्यमा बसन्तपुर दरबार स्क्वायर नै छुट्यो

Advertisement

काठमाडौं । सरकारले पर्यटकीय गन्तव्यका लागि सूचीकृत गरेका १०० स्थानमा महानगरको बसन्तपुरको नाम छुटेको छ । सरकारले आर्थिक बर्ष २०७५/०७६ को बजेट वक्तव्यको बुँदा नं. ११४ बमोजिम नेपालमा पर्यटन प्रवर्धन तथा नयाँ गन्तव्य पहिचान एवं बिकासका लागि तयार पारेको सूचीमा महानगरभित्र भएका ४ वटा विश्व सम्पदा क्षेत्रमध्ये बौद्ध स्तुपा, स्वयम्भू स्तुपा र पशुपतिनाथ मन्दिरको नाम समावेश छ । यसका साथै नारायणहिटी दरबार संग्रहालयलाई पनि गन्तव्य सूचीमा समावेश गरिएको छ ।

नेपाल आएर काठमाडौंमा बस्ने पर्यटक बसन्तपुर पुग्छन् नै । यति मात्र होइन, यो विश्व सम्पदा क्षेत्र पनि हो । सूचीमा किन अटाएन ? प्रश्नको उत्तरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता धनश्याम उपाध्याय भन्छन—त्यसबेला प्राप्त माग र सूचनाका आधारमा मन्त्रीस्तरीय निर्णयबाट गन्तव्य तय गरिएको हो । पछि थाहा भयो, समावेश हुनु पर्ने गन्तव्य बसन्तपुरको नाम छुटेको रहेछ ।
त्यसबेला छुटेको नाम, पछि सुधार पनि त हुन सक्थ्यो नि, अर्को प्रश्नको उत्तरमा प्रवक्ता उपाध्याय भन्छन—यो मन्त्रीस्तरीय निर्णयबाट मात्र परिमार्जन हुन सक्छ । प्रवक्ता उपाध्यायका अनुसार — प्रमुख पर्यटकीय गन्तव्य स्थापित गर्न, पूर्वाधार बिकास कार्यक्रमअन्तर्गत, गन्तव्य स्थानमा सूचीकृत गर्न आव्हान गरिएको सार्वजनिक सूचनाबाट प्राप्त निवेदन र सरोकारवाला निकायबाट प्राप्त सुझावका आधारमा गन्तव्य तय भएको थियो ।

यस सूचीमा काठमाडौं जिल्लाका ७ वटा ठाउँलाई स्थापित तथा प्रवर्धन गरिनु पर्ने ठाउँको सूचीमा राखिएको छ । यीमध्ये ४ वटा महानगरपालिकाभित्रका स्थानहरु (बौद्ध, स्वयम्भू, पशुपति र नारायणहिटी संग्रहालय) बुढानिलकण्ठ नगरपालिकाको बुढानिलकण्ठ, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल, चन्द्रागिरी नगरपालिकाको चन्द्रागिरी समावेश छन् । यस सूचीमा (चन्द्रागिरी) नगरपालिकामा पर्ने दहचोकलाई नयाँ तथा बिकास गरिनुपर्ने गन्तव्यको सूचीमा राखिएको छ ।

बिश्व सम्पदा क्षेत्र बसन्तपुरको नाम पर्यटकीय गन्तव्यको सूचीमा छुट्नु त्रुटी हो । महानगरका प्रवक्ता ईश्वरमान डंगोल भन्छन् — यस बिषयमा हामी पर्यटनमन्त्रीलाई ध्यानाकर्षण गराउँछौं र सूचीकृत गराउन अनुरोध गर्छौं । बसन्तपुरको अवलोकनबिना पर्यटकले काठमाडौंको मौलिकता कसरी थाहा पाउँछन् र? उनको प्रतिप्रश्न छ । यो बिषयलाई महानगरको सम्पदा तथा पर्यटन समितिले गम्भीरताका साथ लिएको छ । समितिका संयोजक न्हुच्छेकाजी महर्जन भछन—बसन्तपुरबिना काठमाडौंको घुमाइ अधुरो हुन्छ । मल्लाकालदेखि शाहकालसम्मका भौतिक सांस्कृतिक संरचना र स्थानीय परम्परागत अमूर्त सम्पदालाई एकै पटक अवलोकन गर्न पाइने, जीवित देवी कुमारी भएको बसन्तपुर महानगरको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो । यो छुट्नै हुँदैन, महर्जनको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement