‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लाई प्रभावकारी बनाउन भन्दै सरकारले सरोकारवालालाई बोलाएर छलफल थाल्यो

gokarna_bista_meeting

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न भन्दै सरोकारवालासँगको छलफल गर्न थालेको छ ।

कार्यक्रम कार्यान्वयन तथा समन्वय गर्ने निकायका रूपमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार नीति निर्माता, रोजगार क्षेत्रसँग सम्बन्धित जानकार, अर्थशास्त्री, सरकारका उच्च अधिकारी तथा स्थानीय सरकारका जनप्रतिनिधिलाई बोलाएर छलफल गरेको हो ।

सहभागीहरुले गत वर्ष ढिलै भए पनि रोजगार कार्यक्रम आउनु सकारात्मक भएको भन्दै तर एकाध विषयले जनमानसमा भ्रम सिर्जना गरेको बताए । उनीहरुले रोजगार कार्यक्रमलाई सामाजिक न्यायको एउटा हिस्साका रूपमा बुझ्नुपर्ने बताए ।

सहभागीले आर्थिक तथा सामाजिक विभेदीकरणको मारमा परेका समुदायलाई सामाजिक संरक्षण प्रदान गर्न ल्याइएको यस कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुको विकल्प नभएको बताए । उनीहरुले विगतलाई सिकाइका रूपमा ग्रहण गर्दै आगामी दिनमा प्रभावकारिता देखिने गरी कार्यक्रम सञ्चालन गरिनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले मुलुकमा अझै पनि धेरै नागरिक गरिबीको चपेटामा रहेको भन्दै विपन्न समुदायलाई लक्षित गरेर कार्यक्रमलाई कार्यान्वयन गर्न सुझाव दिए ।

योजना आयोगका सदस्य रामकुमार फुयाँलले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा हासिल गर्न रोजगारी सिर्जना गर्न आवश्यक भएको बताए । उनले उपलब्ध जनशक्तिलाई श्रम बजारसँग जोड्ने गरी सरकारले योजना बनाइरहेको बताए ।

फुँयालले भने, “राष्ट्रिय लक्ष्य हासिल गर्न वर्षको पाँच लाख रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता छ, स्थानीयस्तरमा रोजगारी सिर्जनाको सम्भाव्यता अध्ययन गर्न आयोगले ध्यान केन्द्रित गरेको छ ।”

नेपाल नगरपालिका महासङ्घका महासचिव एवं धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले बजेट विनियोजनमा ढिलाइ हुँदा गत वर्ष कार्यक्रम कार्यान्वयनमा अन्योल देखिएको बताए । उनले चालू आवमा समयमै बजेट विनियोजन गर्न आग्रह गरे ।

स्थानीय तहलाई बढीभन्दा बढी जिम्मेवार बनाउँदै लैजानुपर्ने भन्दै ढुङ्गानाले स्थानीय सरकारको पनि साझेदारीमा कार्यक्रम कार्यान्वयन गर्न सकिए प्रभावकारिता बढ्ने बताए ।

चौतारा सागाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंङ तामाङले कार्यक्रमको कार्यान्वयनबाट लक्षित समुदायले निकै ठूलो राहत महसुश गरेको उल्लेख गर्दै रोजगार कार्यक्रममा साझेदारी गर्न नगरपालिकाले चालू आवमा रु ४० लाख विनियोजन गरेको बताए । उनले भने, “कार्यक्रमले आयआर्जनबाट वञ्चित नागरिकलाई निकै सहायता प्रदान गरेको छ । यसलाई निरन्तरता दिनुपर्छ, जनतामा थप उत्साह पैदा गर्ने ढङ्गबाट कार्यक्रमलाई लैजानुपर्छ ।”

कार्यक्रमलाई थप प्रभावकारी बनाइने
छलफलमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्यक्रम कार्यान्वयनका सन्भर्दमा गत वर्ष देखिएका सानातिना कमजोरीलाई सच्याउँदै बढीभन्दा बढी प्रभावकारी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताए । गत वर्ष रोजगार कार्यक्रमले विपन्न, गरीब, दलित तथा महिलाको आर्थिक सशक्तीकरणमा ठूलो टेवा दिएको उल्लेख गर्दै उनले मूलतः प्रधानमन्त्री रोजगार कार्यक्रम सामाजिक संरक्षणमा आधारित रहेको बताए ।

विष्टले भने, “आधा पेट, एक पेट खाएर अत्यन्त दर्दनाक जीवन बाँच्ने नागरिकको जीवनलाई सुरक्षा प्रदान गर्न रोजगार कार्यक्रम आएको हो, सरकारले काम गरेर खान पाउने अवस्था सिर्जना गर्ने हो । यो विशुद्ध सामाजिक संरक्षणको कार्यक्रम हो ।”

मन्त्रालयले गरीब, विपन्न समुदायको आर्थिक तथा सामाजिक रूपान्तरणमा सहयोग गर्ने ढङ्गले कार्यक्रम निर्माण गर्न सरोकारवालासँग छलफल गरेको बताएको छ । गत आर्थिक वर्षको अन्त्यमा मात्र कार्यान्वयनमा आएको रोजगार कार्यक्रमले झण्डै दुई लाखलाई रोजगारी उपलब्ध गराएको जनाइएको छ ।

रोजगारीका अवसर सिर्जना गर्न सात हजार ४६० सामुदायिक आयोजना सञ्चालन गरिएको भन्दै मन्त्रालयले गत आवमा सरकारले रोजगार कार्यक्रम सञ्चालन गर्न रु तीन अर्ब १० करोड बजेट विनियोजन गरेको, सरकारले चालू आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्न रु पाँच अर्ब एक करोड बजेट विनियोजन गरेको जनाएको छ ।