राजा महेन्द्रले दह्रो पारेको कर्मचारीतन्त्रलाई संघीयताले ध्वस्तै पार्यो

bhim-upadhayay

काठमाडौं । एकजना पूर्वसचिवले संघीयताको मादमा नेपालको ब्युरोक्रेसी (कर्मचारीतन्त्र) र एलिट निजामति सेवा निरन्तर ध्वस्त हुँदै गएको धारणा अघि सारेका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले यतिबेला निजामती सेवामा भिजनरी नेतृत्वको खाँचो भए पनि त्यो नेतृत्वको अभाव देखिएको बताएका छन् । पूर्वसचिव उपाध्यायले सरकार भनेकै निजामति सेवा हो र यसको बेहाल हुनु भनेको कुशासनको महारोगमा फस्नु हो भन्दै संघीय व्यवस्थाको विपक्षमा नहुँदानहुँदै पनि नयॉ निजामति प्रणाली केवल विद्यमान संरचना भत्काउने तर नयॉ प्रभावकारी संरचना निर्माणमा बलिदान र योगदान नगर्नेहरूको हातमा पुग्छ कि ? भन्ने जुन डर थियो, त्यही देखिन थालेको भान हुँदै गएको बताएका छन् ।

निजामति सेवाको वर्तमान जे जस्तो दह्रो फ्रेम छ, त्यो २०१३ सालमा प्रम टंकप्रसाद आचार्यले बनाएका थिए, राजा महेन्द्रले दह्रो पारेका थिए भन्दै बहुदल आएपछि यसको अंग पतन हुँदै अब संघीय व्यवस्थामा दाहसंस्कार हुन लागेको अनुभूत भएको बताएका छन् ।

कमजोर सरकार र कमजोर ब्युरोक्रेसीले आमन्त्रित गर्ने राज्य व्यवस्थामा सैनिक शासन प्रवेश हुने गरेको विश्व इतिहासले देखाएको उपाध्यायले बताएका छन् । नेताले कर्मचारीलाई दोष लगाउने, कर्मचारीले नेतालाई सराप्ने, जनताले कर्मचारी र नेतालाई धारेहात लाउने अहिलेको अवस्था खतरनाक भएको उनको भनाई छ ।

पूर्वसचिव उपाध्यायले निजामति सेवा जोगाउँदा मात्र मुलुकमा स्थीरता, शान्ति र विकासका पूर्वाधार सही हुन पुग्नेछ भन्दै नत्र पिंद बिनाको लोटामा पानी अडिने छैन, अनि पुन्पुरोमा हात राखेर धिक्कार्न सक्छ भनेका छन्

भ्रष्टाचारको उन्मुलन गर्न भनेर खुलेका दल वा संगठनहरू भ्रष्टहरूबाटै चन्दा लिने वा जबरजस्ती चन्दा दिन बाध्य पारी भ्रष्ट बनाउने दुष्चक्रका कारण मुलुकलाई भ्रष्टाचारले सर्वत्र गॉजेको उपाध्यायको तर्क छ । उनी भन्छन्, जसरी क्यान्सर सेल शरीरभरि फैलिँदा बेहाल हुन पुग्छ, लोकतन्त्रमा भ्रष्टाचार विरूद्ध लेख्न, बोल्न पाईएको छ, तर नियन्त्रण भने असंभव प्रायः हुँदै गएको छ।

पदले व्यक्तिलाई गरिमामय बनाउने हैन, व्यक्तिले पदलाई गरिमामय वा घृणामय बनाउँछ भन्दै उनले यो मुलुकमा धेरै ठूलाठूला महत्वपूर्ण परिवर्तन त भए, तर परिवर्तन व्यवस्थापन क्षमताको अभावमा अराजकता, अस्थिरता, अपराध र अन्यौलता वृद्धि हुँदै आजको अवस्था हुन पुगेको तर्क गरेका छन् ।

पूर्वसचिव लेख्छन्, राम्रो वा नराम्रो बचन बोल्दा वा सोच गर्दा अरूलाई हैन आफैलाई लाभ वा हानी हुने हो, यो कुनै नैतिक पाठ हैन । हाम्रो शरीरमा ७२ प्रतिशत पानी छ र पृथ्वीमा पनि यति नै पानी छ । दिमागमा आउने वा बोल्ने शव्दले शरीरमा सोही अनुरूपको रसायन उत्पादन गरिरहेको हुन्छ । ती रसायन तुरून्त शरिरभरिको पानीमा मिसिएर फैलिन्छ र सोही अनुसार शरीर स्वस्थ वा रोगी हुँदै जाने हुन्छ । दिमागले पहिला आफैलाई विगार्छ र त्यो क्रमशः सरेर परिवार, समाज, राष्ट्र र विश्वलाई विषमय बनाउन पुग्छ । मेडिटेशन वा ध्यान यही दिमागलाई ठॉउमा राख्ने प्रविधि र कला हो ।

विश्वका विकसित देशका राजधानी सहरको मेयर त्यो देशको प्रम वा राष्ट्रपति भन्दा पनि शक्तिशाली र महत्वको पद हुने उदाहरण दिँदै उनले नेपालका मेयरहरू जागिरे जस्तो लाग्ने गरेको बताएका छन् । उपाध्याय भन्छन्, उफ्रेर चिच्याएरै मुलुकलाई जुरूक्क उचाल्लान् झैं गर्छन् । योग अभ्यास गरने नेताहरू बढी जवाफदेही र जिम्मेवारी बोध गर्ने खालका हुने गर्छन्।

उनले संसदीय व्यवस्थामा प्रधानमन्त्री मुलुककै नेता हुन्छ, क्याविनेट भनेकै प्रम हुन् र मन्त्री सबै सहयोगी हुन्छन्, जे प्रमले भन्छन् त्यही क्याविनेटको निर्णय हुन्छ । त्यसमा चित्त नबुझ्ने मन्त्रीले पदत्याग गर्ने वा बर्खास्त हुन्छ भन्दै नेपालमा प्रमले बोलेको, आदेश दिएको कुरा नै लागू हुन गाह्रो देखिने गरेकोमा बबुरो मेयरहरू सामुहिक निर्णयमा चल्न बाध्य रहेको बताएका छन् । जसले संसदमा झै बहुमतको साथ पाएमात्रै निर्णय गर्न र लागू गर्न समर्थ हुन सक्छन्, त्यस्तोमा मेयरले यो गर्छु र उ गर्छु भनेर प्रमले जस्तो कुर्लेर नहुने उपाध्यायको तर्क छ ।

नेपालमा मेयर वा गाउपालिका अध्यक्ष निरीह रहेको उनले बताउँदै तिनले बोलेका कुराको विद्यमान राजनीतिक व्यवस्थामा कुनै तुक रहदैन भनेका छन् । उपाध्यायका अनुसार सामुहिक र बहुमतले निर्णय लिनुपर्ने हुनाले नगर वा गाउसभा वा परिषदले पास गर्नुपर्ने हुन्छ । गुट, उपगुट, दलीय भागवन्डा र प्रतिनिधित्व रहने गाउँ वा नगरपालिकामा काम गर्नु गराउनु भनेको फलामको च्युरा चपाएझैं हो । मेयर वा अध्यक्षको एकल निर्णयले कुनै निर्णय हुन सक्दैन ।

पूर्वसचिव उपाध्यायले नेताहरूको भक्त बन्दा खराबी छैन, तर अन्धभक् खतरनाक छ भन्दै अन्धभक्तता नै नेपाली युवावर्गको खास समस्या बन्दै गएको र यसैले सिर्जनशिलता मर्दै गएको बताउँछन् ।