तातोपानी नाका सञ्चालनमा आएपछि तस्कर सक्रिय

Advertisement

तातोपानी । चीन र नेपालबीचको ठूलो व्यापारिक तातोपानी नाकामा तस्कर सक्रिय हुन थालेका छन् । चार वर्षपछि खुलेको नाकामा सीमाक्षेत्रको बाटो भएर तस्कर सक्रिय हुन थालेको पाइएको छ ।

भूकम्पपछि बन्द भएका बेलामा चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुत नभएकै कारणले नाका खोल्न आनकानी गर्दै आएको थियो । अहिले नाका खुलेको दुई महीना बित्न नपाउँदै नाकाबाट अवैध सामग्रीको ओसारपसारको प्रयास भएको छ ।

केही दिनयता मात्रै नेपालको बाटो हुँदै तातोपानी नाकाबाट चीन लैजान लागिएको ८३ किलो रक्तचन्दनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियोे । रक्तचन्दन र दुई भरियासहित काठमाडौँको बौद्धबाट प्रहरीले पक्राउ गरेको हो । केही साताअघि पनि तातोपानी नाका हुँदै राजधानी काठमाडौँ भित्र्याउन लागेको अवैध खाद्य सामग्री बरामद गरिएको थियो । लोड गरेर फिर्ता आउने क्रममा मितेरी पुलबाट अवैध मादक पदार्थसहित खाद्य सामग्रीको बोलेरो गाडी पक्राउ परेको थियो ।

पक्राउ परेको बोलेरो र चालक  एक लाख ८६५ धरौटीमा रिहा भएका थिए । अवैध सामग्री पक्राउ परे पनि बाहिर कुनै सूचना आएको थिएन । पक्राउ परेका चालक रिहा भइसकेपछि मात्रै रहस्य बाहिर आएको थियो । सुरक्षाको दृष्टिले चुस्त पारेको हुनाले अहिलेसम्म कुनै अवैध गतिविधि नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले दाबी गर्नुभयो । खासाबाट लोड भएर आएका सबै सामान बन्दरगाहमा आएर जाँच हुन्छ, यताबाट उता प्रवेश नै कठिन छ, प्रनाउ काफ्लेले भने, त्यसैले अहिले कुनै अवैध सामग्री ओसारपसार हुनसकेको छैन ।

Advertisement

Advertisement

Advertisement