फर्निचर तथा फर्निसिङ एक्स्पोको तयारी पूरा, यस पटक परिस्कृतरुपमा हुँदैछः प्रधान

Advertisement

काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स)को तयारी पूरा भएको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । राजधानीको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने यस मेलाको भौतिक कामबाहेकको सबै तयारी पूरा भएको जनाइएको हो ।

यही भदौ २५ गतेदेखि चल्ने सातौं संस्करणको फर्नेक्सको सबै तयारी पूरा भएको संघका अध्यक्ष रुपेश प्रधानले बताए । उनले भने, ‘यस बर्ष परिष्कृतरुपमा मेला आयोजना हुन लागेको छ । बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुनेछ ।’

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने संघको भनाई छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने संघको विज्ञप्तिमा उल्लेख छ ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने मेलाका संयोजक मनिष अग्रवालले बताए । नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्दै उनले नेपाल फर्निचरमा आत्मनिर्भर हुने बाटोमा अघि बढेको दावी गरे ।

मेलामा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाई छ । यसबाहेक फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्राउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

पाँच दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १२० हाराहारीमा फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहनेछन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पोको आयोजना हुँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement