विदेशको दुःख सम्झेर स्वदेशमा आफ्नै व्यवसाय सञ्चालन

Advertisement

काठमाडौं । वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिले स्वदेश फर्किए पछि पशुपालन व्यवसाय गर्ने गरेको पाइएको छ । जिल्लाका अधिकांश ठाउँमा खोलिएका पशु फार्म सञ्चालकमध्ये धेरैजसोले वैदेशिक रोजगारीबाट फर्किए विदेशको दुःख सम्झेर आफ्नै व्यवसाय थालेको बताएका छन् ।

अर्जुनधारा नगरपालिका–१० सेतीपानीका दिव्यराज खतिवडा १० वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) र मलेशिया बसेका हुन् । विदेशमा बस्दा पनि भनेजस्तो कमाई नभएपछि अहिले उनले घरमै कुखुरा फार्म सञ्चालन गरेका छन् । योसँगै उनले उन्नतजातका बाख्रा पनि पाल्न थालेका छन् । २० लाख लगानी गरी गत वर्षदेखि उनले कुखुरा र बाख्रापालन गर्दै आएका छन् । उनको फार्ममा अहिले ९७० कुखुरा छन् । लेयरजातका कुखुरा पाल्नुभएका खतिवडाले अहिले सोही व्यवसायबाट मनग्य आम्दानी गरिरहिका छन् । कुखुरासँगै उनले २० उन्नतजात (जमुनापारी, बोयर)का बाख्रा पालेका छन् ।

कुखुरापालन र बाख्रापालन व्यवसायबाटै खतिवडाले गाउँमा मनग्य आम्दानी गरेपछि अहिले सेतीपानीमा अधिकांशले उन्नतजातका बाख्रा र कुखुरा पाल्न शुरु गरेका छन् । श्रीमती भावनाको नाममा फार्म सञ्चालन गरी उहाँले व्यवसाय थाल्नु भएको हो । विदेशको भन्दा राम्रो आम्दानी हुन थालेपछि खतिवडा परिवार अहिले फुरुङ्ग छ । “खतिवडा परिवारकै प्रगति देखेर मैले नि व्यवसाय शुरु गरेको छु”, छिमेकी खगेन्द्रप्रसाद खरेलले भन्नुभयो । उनले २२ माउ उन्नतजातका बाख्रा पाल्नु भएको छ । “पहिला बाख्रा पाल्न नजानेर रहेछ, गाउँघरका लोकल बाख्रा पालिन्थ्यो, जति हेरचाह गरे पनि खासै फाइदा हुँदैन थियो । अहिले उन्नतजातका थोरै बाख्रा पाले पनि मनग्य आम्दानी भएको छ”, उनले भने ।

यस्तै बाह्रदशी गाउँपालिका–५ का दिनेश थापाले विदेशबाट फर्किएर अहिले पशुपालन गरिरहनु भएको छ । उनले उन्नतजातका १०० गाई र १०० स्थानीय जातका बाख्रा पालेका छन् । उनको पशु फार्म प्रदेश नं १ कै ठूलो मानिन्छ । उनले मात्र होइन, झापा गाउँपालिकाको शरणामतिका सूर्य भण्डारीले पनि अहिले कुखुरापालन व्यवसाय सञ्चालन गर्नुभएको छ । “दैनिक एक हजार अण्डा उत्पादन हुन्छ”, भण्डारीले भन्नुभयो । उनले पनि वैदेशिक रोगजारीको सिलसिलामा पाँच वर्षअघि साउदी अरब पुग्नुुभएको थियो । “भेँडा चराउन लगाएपछि म एक महीनामै घर फर्के”, उहाँले भन्नुभयो । स्वेश फर्किए लगत्तै कुखुरापालन व्यवसाय सञ्चालन गर्नुभएका भण्डारीले अहिले मासिक एक लाख घरमै बसेर आम्दानी गरिरहिका छन् ।

कृषि र पशुपालनलाई व्यवस्थित गरी पशुधनको उत्पादन बढाउने सरकारको लक्ष्य छ । सरकारले पशुपालक कृषकलाई अनुदान दिन थालेपछि अधिकांश युवा अहिले पशुपालनतर्फ आकर्षित भएका छन् । विदेशबाट फर्किएका युवाले पशुपालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । विदेशबाट फर्किएर पशुपालन व्यवसाय सञ्चालन गर्ने उनीहरु प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उनहरु जस्ता धेरैले अहिले विदेशबाट फर्किएर पशुपालन व्यवसायमा हात हाल्नु भएको छ ।

Advertisement

Advertisement

Advertisement