दशैंमा घर जाने यात्रुको सुविधाका लागि १४ ठाउँमा सहायता कक्ष

Advertisement

काठमाडौं । यातायात व्यवस्था विभागले दशैं तिहारलगायतका चाडपर्वका समयमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुको सुविधाका लागि आगामी असोज १० गतेदेखि १४ स्थानमा नागरिक सहायता कक्ष खोल्ने भएको छ ।

यातायात व्यवस्था कार्यालयमा बुधबार विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच भएको बैठकमा नागरिकलाई सहज रुपमा गन्तव्यसम्म पुग्नका लागि अग्रीम टिकट खोल्नेलगायतका विषयमा छलफल भएको थियो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले सबै प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयलाई समेत नागरिक सहायता कक्ष सञ्चालन गर्नका लागि अनुरोध गर्दै पत्र लेखिने बताए । व्यवसायीसँग अहिले रहेको सवारी साधनको सङ्ख्या, अवस्थाका बारेमा बुझिएको उनले बताएका छन् ।

बैठकका क्रममा व्यवसायीले एक सातामा सबै विवरणसहित विभागमा आउने बताएका थिए । उनले भने, ‘आगामी सातामा उनहरुले विवरण ल्याएपछि नै अग्रीम टिकट खोल्नेलगायतका निर्णय हुनेछ । यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले वर्षाका कारण विभिन्न स्थानका सडक बिग्रीएकाले दशैँ अगाडि नै सडक विभागले बनाइसक्नु पर्नै बताएका छन् ।

दशैं, तिहारलगायतका चाडपर्वका समयमा सवारी साधनले यात्रु गाडीभरी लिएर गए पनि फर्कदा रित्तै फर्कनुपर्ने बताए । उनले भने, ‘मिडियाले त्यो नबुझी व्यवसायीले चाडपर्वका समयमा धेरै कमाउने गरेको भन्दै आरोप लगाउँछन् ।’

चाडपर्वका समयमा हुनसक्ने दुर्घटना न्यूनीकरण, अग्रीम टिकटलगायतका विषयमा विभागले सरोकारवाला निकायसँग नियमित छलफल गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement