मेलम्चीका मजदुर र प्रहरीबीच झड्प, आयोजना फेरि अन्योलमा

Advertisement

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाका प्रमुखले छिटोभन्दा छिटो काम सकेर काठमाडौं उपत्यकामा सातमहिनाभित्र पानी खसाल्ने बताउँदै आएको बेला बिहीबार आयोजनाका पीडित मजदुर र प्रहरीबीच झडप भएको छ ।

आफूहरुको पूरानो पारिश्रमिक पाउनुपर्ने माग गर्दै काम ठप्प पारेर आन्दोलनमा उत्रिएका मजदुरको अवरोध हटाउने क्रममा प्रहरीसँग झडप भएको हो । आयोजनाको इटालियन ठेकेदार भागेपछि आयोजनाले बाँकी काम सक्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई हालै ठेक्का दिएको थियो ।

उसले सात महिनाभित्र काम सक्ने प्रतिवद्धता जनाइरहेको बेला मजदुरहरुले आफूहरुको पारिश्रमिक पाउनुपर्ने माग गर्दै अवरोध सिर्जना गरेपछि आयोजना फेरि अन्योलमा परेको छ । आन्दोलनको दोस्रो दिन बिहीबार खानेपानीको मुहान अम्बाथानमा धर्नामा बसेका पीडित मजदुरसँग प्रहरीको झडप भएको हो । झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै हवाइ फायर गरेको थियो । झडपमा दुई प्रहरी र दुई आन्दोलनकारी घाइते भएको प्रहरीले जनाएको छ ।

आयोजनाको बाँधमै पुगेर आन्दोलनकारीले अवरोध गर्ने र ढुँगामुढा गर्न थालेपछि उनीहरुलाई तितरबितर पार्न हवाई फायर र अश्रु ग्यास प्रहार गर्नुपरेको प्रहरीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement