अपर नौगाडले असोज पहिलो हप्ता विद्युत् उत्पादन थाल्ने

Advertisement

दार्चुला । दार्चुलाको नौगाड गाउँपलिकामा निर्माणाधीन आठ मेघावाट क्षमताको माथिल्लो अपर नौगाडले असोज पहिलो साताबाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न गरेको आयोजनाले असोज पहिलो साताभित्रै नियमित विद्युत् उत्पादन थाल्ने भएको हो ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रबाट साढे आठ मेघावाटको नौगाड जलविद्युत् आयोजना निर्माण गर्दै विद्युत् उत्पादन गरेको अपि हाइड्रोपावरले माथिल्लो नौगाड जलविद्युत् आयोजनाको निर्माण पनि अन्तिम चरणमा पुर्‍याएको हो ।

यसअघि चैतभित्रै विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएकोमा साउन महीनाको बाढी र प्राविधिक कारणले निर्माण कार्यमा केही ढिलाइ हुन गएको आयोजनाका इन्चार्ज मधुसुदन कोइरालाले जानकारी दिनुभयो । एक अर्ब ८० करोड रुपियाँको लागतमा माथिल्लो नौगाड निर्माण हुँदैछ । आठ मेगावट विद्युत् थप भएसँगै सुदूरपश्चिममा भइरहेको विद्युत्को अनियमित कटौती पनि घट्ने विश्वास गरिएको छ ।

निजी क्षेत्र आकर्षित हुन नसकेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा अपि हाइड्रोपावर कम्पनीले एक आयोजना सम्पन्न गरेसँगै दोस्रो आयोजनाबाट विद्युत् उत्पादनको अन्तिम तयारी थालेको हो । अहिले विद्युत्गृहमा इलेक्ट्रोनिक मेकानिकल जडान तथा परीक्षणको काम भइरहेको कोइरालाले बताए । विद्युत्गृहमा चार चार मेगावाट क्षमताका दुइटा युनिट राखिएको आयोजनाले जनाएको छ ।

भारतबाट विद्युत्गृहको सामान ल्याएर जडान गरिएको छ । विसं २०७५ साउनको बाढीबाट निर्माणाधीन आयोजनामा ठूलो भौतिक क्षति भएका कारण आयोजनाको लागत र समय थप गरिएको उहाँको भनाइ छ । गएको साउनमा आएको बाढीले मात्रै आयोजनामा रु १० करोडको क्षति भएको थियो ।

नौगाड गाउँपालिका–६ धुलिगडाको कुनेबगडदेखि फलामे पाइपमा पानी लगी सुकेखोलाको विद्युत्गृहमा खसालिएको छ । पाइपलाइन (पेनस्टक)को लम्बाइ पाँच किलोमिटर छ । विसं २०७३ असोजदेखि निर्माण सुरु गरिएको थियो ।

अपर नौगाडमा उत्पादन भएको बिजुली शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ । यसका लागि नौ किलोमिटर लामो ३३ केभिए प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको आयोजना इन्चार्ज कोइरालाले बताए ।

विसं २०७२ भदौ २ देखि व्यावसायिक उत्पादन थालिएको नौगाड प्रथम जलविद्युत् आयोजना छोटो समयमै निर्माण सम्पन्न गरेको देशभरिकै नमूना योजना बनेको थियो । कोइरालाका अनुसार माथिल्लो नौगाड आयोजनाको बहुवित्तीय व्यवस्थापन नेपाल एसबिआइ बैंक लिमिटेडको अगुवाइमा प्रभु बैंक लिमिटेडसमेतको लगानीमा निर्माण भएको हो ।

यस्तै ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरण र अपिपावर कम्पनी लिमिटेडबीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) यसअघि नै भइसकेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन तथा सरोकारवाला निकायसँग सार्वजनिक सुनुवाइ कार्यक्रम भइसकेको आयोजनाले जनाएको छ । दार्चुलाको गुल्जरमा आयोजना निर्माण गर्नका लागि भएको सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवर्द्धक कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले हस्ताक्षर गर्नुभएको थियो ।

यसअघि नै नेपाल विद्युत् प्राधिकरणसँग ग्रीड लाइन तथा जडानका लागि भने सम्झौता सम्पन्न भइसकेको अपि हाइड्रोपावर कम्पनीले जनाएको छ । सुरुमा साढे आठ मेघावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण गर्दै राष्ट्रिय प्रसारण लाइनमा जोडेको अपि हाइड्रो पावरले थप आठ मेघावाट क्षमताको अपर नौगाडको निर्माण अन्तिम चरणमा पुर्‍याएपछि माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको हो ।

अपर चमेलिया जलविद्युत् आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख करोड युनिट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ । कम्पनीले दशैँपछि निर्माण सुरु गरी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको लागत प्रतिमेगावाट १८ करोड रुपियाँको हिसाबले आयोजनाको कूल लागत ७ अर्ब २० करोड रुपियाँ लाग्ने अनुमान कम्पनीको छ ।

विद्युत् प्राधिकरण आफैँले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको निर्माण लागत प्रतिमेगावाट झन्डै  ५३ करोड पुगेको थियो । माथिल्लो चमेलिया आयोजनाको निर्माणपछि सुदूरपश्चिम प्रदेशमा विद्युत् आपूर्ति बढ्ने र भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास कम्पनीको छ ।

Advertisement

Advertisement

Advertisement