जाजरकोटमा पाँच वर्षदेखि पुल निर्माण अलपत्र

Advertisement

जाजरकोट । सदरमुकाम खलङ्गाबाट आधा घण्टाको दूरीमा रहेको पासागाड खोलामा दैनिक यात्रा गर्ने जनसाधारणले दुःख कष्ट भोग्दै आएका छन् । पाँच वर्षअघि यो खोलामा पुल निर्माणको ठेक्का लागे पनि काम भने अहिलेसम्म अगाडि बढेको छैन । यो बाटो यात्रा गर्दा आकाश हेरेर मात्र यात्रा गर्नुपरेको यात्रुहरु बताएका छन् । पानी पर्नेबित्तिकै गाडी जाँदैन कसरी मन शान्त होला र नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले भने ।

छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत पर्ने यो सडक निर्माण भएको पनि अहिले करीब ११ वर्ष बितेको छ । सडक कालोपत्र भएको पनि चार वर्ष बितेको छ । पुल निर्माणका लागि पाँच वर्षअघि ठेक्का सम्झौता भएको थियो । पासागाड खोलामा गलत डिजाइनका कारण पाँच वर्षदेखि पुल अलपत्र परेको हो । सडक विभाग र आइएमई आरसी कन्सल्टेन्सी ललितपुरको लापरवाहीको कारण पुल निर्माण अलपत्र परेको छ ।

परामर्शदाता कम्पनीले रु सात लाख लागतमा पुलको डिजाइन बनाएको कार्यालयले जनाएको छ । दुई वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने पुलको काम अझै शुरु भएको छैन । परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माणकार्य हुननसकेको सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन प्रमुख नरेन्द्र भट्टले बताएका छन् ।

पुल निर्माणका लागि पाँच वर्षअघि तीन करोडमा लुम्बिनी–आशिष जेभी निर्माण सेवा काठमाडौंले सडक विभागसँग सम्झौता गरेको थियो । पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल नमिल्दा काम शुरु नभएको डिभिजन प्रमुख भट्टले बताए । उनका अनुसार सम्झौताअनुरुपको लागत र निर्माणकार्यको तालमेलसमेत मिलेको छैन ।

प्राविधिकले तीन वर्षअघि निर्माण कम्पनीलाई निर्माणस्थल देखाउने क्रममा गलत डिजाइन भएको पत्ता लागेको हो । सडक विभागले फेरि डिजाइन गरेर ठेक्का सम्झौताअनुरूप भुक्तानी दिने निश्चित भए तत्काल काम शुरु गर्ने कम्पनीले जनाएको छ ।

आइएमई आरसी कन्सल्टेन्सीलाई नै पुलको ‘रि–डिजाइन’ गर्न लगाएर पुल निर्माण प्रक्रिया अघि बढाउन लागेको डिभिजन प्रमुख भट्ट भनाइ छ । दुई साताभित्र रि–डिजाइन स्वीकृतिका लागि विभागमा पेश हुने उनको भनाइ छ । स्टिमेट बदलिने तर ठेक्का नबदलिने उनको भनाइ छ । यो पुल निर्माण नहुँदा जाजरकोट मात्र होइन, छिमेकी जिल्ला रुकुमपश्चिम र डोल्पालाई समेत असर गरेको छ ।

Advertisement

Advertisement

Advertisement