गिरिजा र प्रचण्डलाई दिल्ली बोलाएर मैले १२ बुँदे समझदारी गराएको होः माधव नेपाल

Advertisement

काठमाडौं । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले जनआन्दोलनको आधार मानिएको सात दल र माओवादीबीचको १२बुँदे समझदारीको संयोजन आफूले गरेको दाबी गरेका छन् । तत्कालीन नेकपा (माओवादी) र संसद्मा प्रतिनिधित्व गर्ने सात दलबीच ०६२ मंसिरमा ‘निरंकुश राजतन्त्र अन्त्य’को उद्देश्यसहित १२बुँदे समझदारी भएको थियो ।

‘मैले नारायणकाजी श्रेष्ठलाई तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डलाई बोलाउन पठाएको हुँ, त्यसपछि उहाँहरू दिल्ली आउन सहमत हुनुभयो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, ‘कांग्रेस सभापति गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला)लाई टेलिफोन संवादमार्फत (दिल्ली) बोलाएको हुँ ।’

दिल्लीमा १४ वर्षअघि भएको ऐतिहासिक समझदारीमा भारतको भूमिका रहेको विषयलाई भने नेपालले अस्वीकार गरेका छन् । उनले समझदारीका लागि भारतसँग कुनै परामर्श नगरिएको दाबी गरे । ‘हामीले १२बुँदे समझदारी गर्दा भारतसँग परामर्श गरेका होइनौँ,’ तत्कालीन नेकपा एमालेका महासचिव रहेका नेता नेपालले व्यंग्य गर्दै भने, ‘कसैले ट्वाइलेटभित्र गएर भारतसँग परामर्श गरेको भए (मलाई) थाहा छैन ।’

नेपालले माओवादी विद्रोहलाई शान्तिपूर्ण रूपान्तरण गर्नमा संसदीय पार्टीका तर्फबाट आफूले नै नेतृत्व गरेको जस लिँदै भने, ‘माओवादी समस्या समाधानका लागि मैले विदेशी प्रतिनिधिसँग पनि लामो परामर्श गरेको थिएँ । माओवादीसँग वार्ता गर्नुअघि श्रीलंकामा तत्कालीन लिट्टेसँग वार्ताका लागि मध्यस्थता गरेका नर्वेका प्रतिनिधिसँग मैले सन् २००२ मा लामो समय छलफल गरेको थिएँ ।’

लक्ष्मण पन्तद्वारा लिखित ‘नेपाल–भारत छिमेकका चारदशक मुख्य घटना’ पुस्तकको विमोचनमा बोल्दै नेपालले तत्कालीन माओवादीलाई समझदारीमा ल्याउन आफ्नो महत्वपूर्ण भूमिका भएको जिकिर गरे । उनले लेखक पन्तको पुस्तकमा रहेका तथ्यप्रति असन्तुष्टि जनाउँदै पुस्तक एकपक्षीय भएको टिप्पणीसमेत गरे ।

तत्कालीन नेकपा (एमाले)को महासचिवका हैसियतमा आफू, कांग्रेसका तर्फबाट प्रतिनिधि नेता कृष्णप्रसाद सिटौला र माओवादीका तर्फबाट नेता डा। बाबुराम भट्टराईले १२बुँदे समझदारीको पहिलो मस्यौदा तयार गरेको नेपालले बताए ।

कार्यक्रममा नेपाल र भारतबीच जनस्तरबाटै सम्बन्ध सुधार्नुपर्ने नेकपा स्थायी समिति सदस्य पम्फा भुसालले बताइन् । कार्यक्रममा नेकपा विदेश विभाग उपप्रमुख राम कार्की, नेताहरू सुरेश आलेमगरलगायतले पनि बोलेका थिए ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement