वैदेशिक रोजगारी त्यागेर चार युवाले सामुहिक अर्गानिक तरकारी खेती शुरु( तस्बिर सहित)

बेनी । पछिल्लो समय तरकारीबारीदेखि भान्सा र मुखसम्मनै विषादीयुक्त तरकारी र फलफूल पुग्ने गरेको सन्दर्भमा म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रबाङका चार युवाले सामूहिक प्राङ्गारिक तरकारी खेती शुरु गरेका छन् ।

लामो समय वैदेशिक रोजगारीमा समय व्यतीत गर्नुभएका तेजेन्द्र आचार्य, ओमबहादुर दर्जी, दलबहादुर नेपाली र भविलाल सुवेदीले सात रोपनी जग्गा भाडामा लिएर तरकारीखेती शुरु गरे।

कतार र मलेसियामा रोजगारीको क्रममा वर्षौ समय बिताउँदासमेत उल्लेख्य प्रगति नभएपछि गाउँ फर्किएर व्यावसायिक कृषि पेशालाई अङ्गालेका युवा कृषक आचार्यले बताए । ६ वर्ष वैदेशिक रोजगारीबाट गुजाराबाहेक केही भएन, अब गाउँकै माटोमा पसिना बगाउने निधो गरेर कृषि उद्यम शुरु गरेका छौं, आचार्यले भने । व्यावसायिक प्राङ्गारिक तरकारीखेती शुरु गरेका चारै जना वैदेशिक रोजगारीबाट फर्किनुभएका हुन् । मङ्गला प्राङ्गारिक तरकारीखेती तथा प्राङ्गारिक मल उत्पादन फार्म सञ्चालन गरेर प्राङ्गारिक तरकारी उत्पादन गर्दै आएका थिए । 

अहिले पाँच वटा टनेलमा टमाटरसँगै करेला, घिरौँला, भण्टा, खुर्सानी, बोडी, बन्दा, काउलीलगायतका तरकारी उत्पादन गर्दै आएको कृषक नेपालीले बताएका छन् । ‘‘आलु, मटरकोसालगायतका तरकारीसमेत रोपेका छौं, उत्पादन भएको तरकारीका लागि बजारको अभाव छैन, शुरुआतमा गरेको लगानी उठिसकेको छ’’, नेपालीले भने ।

उत्पादित तरकारी नजिकै रहेको बाबियाचौर, दरबाङलगायतका बजारमा खपत हुनुका साथै स्थानीयस्तरमा समेत खरिदबिक्री हुँदै आएको छ । परिश्रम गरेपछि स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिने निचोडमा उहाँहरु पुग्नुभएको छ । उनहरुले सामूहिक तरकारी खेतीसँगै घरमा समेत तरकारी खेती र पशुपालनलाई सँगसँगै अघि बढाएका छन् ।

मङ्गला–२ लरेनी घर भएका कृषक ओमबहादुर दर्जीले कतार र दुबईमा ७ वर्ष समय बिताउँदा पनि सुख प्राप्तिको कुनै सम्भावना नदेखेपछि घर फर्किएर कृषि फममा आवद्ध भएको बताए । ‘‘विदेशमा ठूलो परिश्रम गरियो आफू जाँदाको ऋण तिर्नबाहेक अरू केही उपलब्धि भएन, यहाँ कसैको अधिनमा बसेर काम गर्नुपर्दैन, हामी काम बाँडफाँट गरेर नियमित रुपमा फाम र मल उद्योगमा काम गछौं, परिवारसँगै बसेर स्वदेशमै पसिना बगाउँदा मलाई ठूलो सन्तुष्टी मिलेको छ’’, उनले भने ।

वरिपरिका हरियाली धान खेतको बीचमा गरिएको तरकारी खेती नमूना फार्मको रुपमा विकास भइरहेको छ । चारै जनाले दैनिक रुपमा तरकारीखेतीमा गरेको काम झनै लोभलाग्दो छ । करेसाबारीमा गोडमेल, सङ्कलन गर्ने र बजारीकरण गर्ने उहाँहरुको अहिलेको दैनिकी हो । शुरुआतमा रु चार लाख लगानी गरिएकोमा तरकारी खेती थप विस्तार गरी व्यावसायिक स्वरुपलाई बढाउने तयारी सो समूहको छ । 

उपभोक्ताले विषादीको प्रयोग र प्राङ्गारिका उत्पादनका सामानमा एउटै नजरले हेर्ने गरेको कारण उपभोक्तालाई बुझाउन कठिनाइ आइपरेको छ । कुनै पनि विषादी र रासायनिक मलको प्रयोग नगरिकनै प्राङ्गारिक तरकारी उत्पादन गरिए पनि उपभोक्ताले भने विषादियुक्त तरकारी र प्राङ्गारिक तरकारीलाई एउटै नजरबाट हेर्ने प्रवृत्ति रहेको उनहरुको गुनासो छ । प्राङ्गारिक उत्पादन आफैमा जोखिम र गाह्रो काम हो तर बजारमा बुझाउन अलि गाह्रो भएको छ, फार्ममै आएर तरकारी लैजानेहरु विश्वस्त हुन्छ, अर्गानिक उत्पादनको महत्व बढ्नेमा विश्वस्त छौँ’’, सञ्चालक नेपालीले भने ।

उनका अनुसार तरकारीमा रोग कीराको सङ्क्रमण भएको समयमा गाईभैँसीको गहुँत र जैविक विषादी बनाएर प्रयोग गरिएको छ । टमाटर प्रतिकिलो ७०, करेला ८०, खुर्सानी १३५ मा बिक्री हुन्छ सो फार्ममा । व्यावसायिक तरकारीखेतीमा गाउँपालिका र कृषि ज्ञान केन्द्र कार्यालयबाट टनेललगायतका सामग्रीमा सहयोग प्राप्त भएपछि उनहरुमा थप हौसला थपिएको छ ।

गाउँपालिकाले नीति तथा कार्यक्रममा नै प्राङ्गारिक व्यावसायिक खेतीलाई जोड दिएको अवस्थामा युवाहरुले कोत्रबाङमा शुरु गरेको प्राङ्गारिक तरकारीखेती नमूनाका रुपमा अघि बढेको पाइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘‘शुरुमा उहाँहरुलाई प्राङ्गारिक मल उत्पादनसम्बन्धी तालीम दिएका थियौँ, उनहरुले मल उद्योगसँगै अर्गानिक तरकारीखेती पनि थाल्नुभयो, पछि हामीले टनेल, पावर टेलर खरिदमा पनि अनुदानको व्यवस्था गयौँ, स्वदेशमै केही गर्नुपर्ने भन्ने उनीहरुको मान्यतामा हाम्रो सकारात्मक साथ रहेको छ’’, अध्यक्ष रोकाले भनेका छन् ।

गाउँपालिकाको सहयोगमा उहाँहरुले नै सञ्चालन गरेको प्राङ्गारिक मल उद्योगमा उत्पादन भएको मलको तरकारी फार्म सञ्चालनमा आएसँगै सदुपयोग हुन थालेको छ । मल उद्योगबाट समेत आम्दानी भएको छ । उद्योगबाट उत्पादन हुने प्राङ्गारिक मल प्रतिकिलो रु २५ मा बिक्री हुन्छ । बजारमा निस्कने कुहिने फोहोर सङ्कलन गरी खेर गएको वनस्पति बनमारा, माटो, काठको धुलो, धानको भुसलगायतलाई मिसावट गरी तयार गरिने प्राङ्गारिक मल अहिलेसम्म १५० क्विन्टल बढी बिक्री भइसकेको छ । गाउँपालिकाले ८० क्विन्टल मल खरिद गरी कृषकलाई वितरण गरेको थियो भने लुम्लेस्थित नर्सरीमा समेत यहाँबाट मल लगिएको छ ।

कृषि मङ्गलाको प्राथमिकतामा

मङ्गला गाउँपालिकाले समृद्धिको प्रमुख आधार मानिएको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषि र पर्यटन क्षेत्रमा गाउँपालिकामा रहेको सम्भावना उजागरका लागि प्राथमिकता दिइएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताएका छन् । उनले युवालाई जोडेर शुरु गरिएको प्राङ्गारिक मल उद्योग र अर्गानिक तरकारीखेती नमूनाको रुपमा अघि बढेको बताउँदै कृषिलाई थप जोड दिइएको जानकारी दिए । 

आर्थिक वर्ष २०७५/७६ मा कृषि र पशुपालन क्षेत्रमा  ४८ लाख बजेट परिचालन गरेको मङ्गलाले चालू आर्थिक वर्षका लागि यस वर्ष  ६२ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिएका छन् । उनका अनुसार, प्रत्येक वडाबाट पालिकाले दिएको सीमामा करीब रु पाँच लाखका दरले कृषि क्षेत्रका लागि थप बजेट विनियोजन भएको छ । यस वर्ष कृषकलाई टनेल, थोपा सिँचाइ, उन्नत जातका विरुवा र बीउ, उपकरणलगायतका वस्तु तथा सामग्री सहयोग गरिने गाउँपालिकाले जनाएको छ ।