डेंगु रोक्न सचेतना अभियान ललितपुरमा

Advertisement

ललितपुर। जिल्लामा डेंगु संक्रमित भेटिएपछि त्यसविरुद्ध सचेतना अभियान सुरु गरिएको छ । विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये डेंगु संक्रमित भेटिएपछि सजगता अपनाउँदै अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

केही दिनअघि विभिन्न अस्पतालबाट लिइएको तथ्यांकअनुसार ललितपुरमा २० जना डेंगु संक्रमित भेटिएको स्वास्थ्य कार्यालय ललितपुरका महामारीजन्य रोगका फोकल परसन शंकर पौडेलले बताए । उनका अनुसार डेंगु संक्रमण मंगलबजारदेखि च्यासल र ग्वार्खो जाने बाटोसम्मको स्थानमा नौ, सानेपा हाइटमा तीन तथा मंगलबजार, लगनखेल, नख्खु, लुभु, ग्वार्को, हात्तीवन, ढोलाहिटी र सैंबुमा क्रमशः एक एक जनामा भेटिएको छ ।

‘देशका विभिन्न स्थानसँगै ललितपुरका अस्पताल आउने डेंगु संक्रमित बिरामी संख्या बढिरहेको छ,’ ल्याब टेक्निसियन पौडेलले भने,‘लामखुट्टेको टोकाइबाट संक्रमित हुनेको संख्या बढिरहेको अवस्थामा हामीले रोकथामका लागि सचेतनामूलक अभियान पनि चलाएका छौं ।’

ललितपुर महानगरपालिकाले आफ्ना २९ वटै वडामा डेंगु रोगसम्बन्धी चेतनामूलक कार्यक्रम गरिरहेको छ । महानगरकी स्वास्थ्य संयोजक देवी गुरुङले घरघरै जनचेतनामूलक कार्यक्रम गरिरहेको बताइन् । स्थानीय वडा र टोलसँगको समन्वयमा स्वास्थ्य स्वयंसेविका, विभिन्न संघसंस्थाको समन्वयमा डेंगुको सर्ने तरिका, बच्ने उपाय, लामखुट्टे नियन्त्रणलगायतका विषयमा जानकारी दिइएको छ ।

त्यस्तै, डेंगु संक्रमित महालक्ष्मी नगरपालिकाले पनि अभियान सुरु गरेको छ । स्वास्थ्य संयोजक विनोद खड्काले सम्पूर्ण विद्यालयबाट जनचेतनामूलक काम थालनी भएको बताए । उनका अनुसार अनावश्यक खाल्डो पुर्ने, सम्भावित लामखुट्टे आउने स्थानमा सर्तकता अपनाएर बच्ने उपाय सिकाउने काम भइरहेको छ ।

स्वास्थ्य कार्यालयले अब गोदावरी नगरपालिका र बाग्मती, महांकाल र कोन्ज्योसोम गाउँपालिकामा समेत अभियान सञ्चालन गर्न आग्रह गरेको छ । गोदावरी नगरपालिकाले केही दिनमै सरोकारवालाबीच छलफल गरेर जनचेतनामूलक अभियान थाल्दै छ ।

Advertisement

Advertisement

Advertisement