चार वटा बीमा कम्पनीले सिईओ पाएनन्, चिरायुलाई कुलिङको झट्का

Advertisement

काठमाडौं । चार वटा बीमा कम्पनीले लामो समयदेखि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सकिरहेका छैनन् । नयाँ बीमा कम्पनीका रुपमा सेवा आरम्भ गरेका चार वटा बीमा कम्पनीहरु स्थापना कालदेखि नै प्रमुख कार्यकारी अधिकृत विहिन छन् । त्यसरी सिइओ नियुक्त गर्न नसक्ने कम्पनीहरुमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा जनरल इन्स्योरेन्स कम्पनी, ज्योति लाइफ र जनरल इन्स्योरेन्स कम्पनी छन् ।

सानिमा लाइफमा शिवराम तिमल्सिनाले जनरल मेनेजरका रुपमा कार्यभार सम्हालिरहेका छन् भने सानिमा जनरलमा सुबोध लाल श्रेष्ठले डेपुटी जनरल मेनेजरका रुपमा काम गरिरहेका छन् । ज्योति लाइफमा प्रकाश बिक्रम खत्रीले स्थापना कालदेखि नै डेपुटी सिइओका रुपमा कार्यभार सम्हालिरहेका छन् । जनरल इन्स्योरेन्स कम्पनीमा एसके टमोटले जनरल मेनेजरका रुपमा नेतृत्व गरिरहेका छन् ।

बीमा समितिका अनुसार यी कुनै पनि कम्पनीमा हाल काम गरिरहेका डेपुटी सिइओ वा जनरल मेनेजरसँग सिइओ हुने योग्यता छैन् । सिइओको सट्टा डेपुटी सिइओ वा जनरल मेनेजरले काम गर्दा संस्थागत सुशासनमा समस्या आउन सक्छ, हामीले कम्पनीहरुलाई बारम्बार छिटो सिइओ नियुक्त गर्न ताकेता गरिरहेका छौं’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने ।

उनका अनुसार हाल बजारमा बीमा कम्पनीहरुमा सिइओको चरम अभाव छ । बैंकका सिइओहरुले इन्स्योरेन्स कम्पनी नरोजेपछि बीमा कम्पनीहरुलाई आपत आईलागेको हो ।

के छ व्यवस्था ?
बीमा समितिले जारी गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ मा कम्पनीले ६ महिनाभित्र दरबन्दी किटान गरेर कर्मचारी नियुक्त गरिसक्नुपर्ने व्यवस्था गरेको छ । तर यी बीमा कम्पनीहरुले भने अझैसम्म पनि सिइओ नियुक्त गरेका छैनन् ।
चिरायुलाई कुलिङको झट्का
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितले चिरायु भण्डारीलाई सिइओ नियुक्त गर्ने निर्णय गरेर बीमा समितिमा फाइल पठाएको थियो । तर नेपाल पुनर्बीमा कम्पनीको सिइओबाट अवकास पाएको ६ महिना नपुगेको भन्दै समितिले चिरायुलाई रोकिदिएको छ ।

समितिले एउटा कम्पनीको सिइओबाट अवकास लिएको ६ महिना नपुग्दासम्म अर्काे कम्पनीमा सिइओ बन्न नपाउने गरि कुलिङ पिरियड लगाईदिएको छ । सोही कुलिङ पिरियडका कारण चिरायुलाई सिइओ बन्न रोक लागेको हो ।

Advertisement

Advertisement

Advertisement