नेपाल बचत तथा ऋण सहकारीले गर्यो सबै सेयर सदस्यको निःशुल्क उपचार

Advertisement

सुरुङगा । नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक लाख ४३ हजार ८५१ सेयर सदस्य पुर्याएको छ । यो सँगै देशकै सबैभन्दा धेरै शेयर सदस्य भएको सहकारीका रुपमा स्थापित भएको संस्थाले जनाएको छ ।

झापाको विर्तामोड नगरपालिका– २ चारपानेमा मुख्य कार्यालय रहेको सहकारीले अहिले ६५ वटा सेवा केन्द्रमार्फत पूर्वका छ जिल्लामा सेवा प्रदान गर्दै आएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् । गिरीका अनुसार सहकारीको संस्थागत पूँजी आठ प्रतिशतभन्दा माथि रहेको छ । आठ अर्ब ५६ करोड कूल पूँजी रहेको सहकारीको शेयर पूँजी मात्रै एक अर्ब २४ करोड रुपियाँ रहेको सहकारीका कार्यकारी निर्देशक गिरीले बताए ।

चार अर्ब ६१ करोड रुपियाँ बचत रहेको सहकारीले छ अर्ब ६५ करोड रुपियाँ ऋण लगानी गरेको बताइएको छ । एक अर्ब १५ करोड रुपियाँ जगडा तथा अन्य कोषमा रहेको सहकारीमा बाह्य ऋण एक अर्ब ४४ करोड रुपैयाँ रहेको बताइएको छ ।

सहकारीले आर्थिक वर्ष २०७५।०७६ मा आयकरबापत एक करोड ५९ लाख ८३ हजार २ सय ८३ रुपियाँ र अन्य विविध कर तीन करोड ६८ हजार ९६८ रुपियाँ गरी चार करोड ६० लाख पाँच हजार २२५ रुपैयाँ कर तिरेको जनाएको छ ।

सहकारीले अहिले आफ्ना शेयर सदस्यलाई जटिल प्रकारको रोग लागेको खण्डमा निःशुल्क उपचार गर्दै आएको छ भने मधुमेह, ब्लडप्रेसर र थाइराइड जस्ता रोगीलाई जीवन बरदान कार्यक्रममा सहभागी गराई औषधिसमेत वितरण गर्दै आएको छ ।

विसं २०८० भित्र सबै शेयर सदस्यको निःशुल्क उपचार गर्ने लक्ष्य लिएको सहकारीले अहिले जीवन वरदान कार्यक्रम लागू गरेपछि धेरै सेयर सदस्यलाई राहत मिलेको सहकारीका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताएका छन् ।

उनले भने, “अहिले सहकारीका सेयर सदस्यलाई जटिल प्रकारको रोग लागेको पाइएपछि उसको उपचार निःशुल्क हुन्छ, तर, २०८० देखि जस्तोसुकै रोग लागे पनि सेयर सदस्यको निःशुल्क उपचार गर्ने तयारी गरिरहेका छौँ, यसका लागि विभिन्न अस्पतालसँग सहकार्य भइरहेको छ । ”

Advertisement

Advertisement

Advertisement