सडक निर्माणमा ढिलाइ हुँदा पर्यटकको चहलपहलमा कमी

Advertisement

दोलखा । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत लामोसाँघु–चरिकोट सडकको काम समयमा सम्पन्न नहुँदा पर्यटकीय जिल्ला दोलखामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल कम हुँदै गएको छ ।

पर्यटनको प्रचुर सम्भावना बोकेको हिमाली जिल्ला दोलखा जोड्ने एक मात्र सडक लामोसाँघु–चरिकोट सडकखण्ड ठेकेदारले समयमा काम नगर्दा पर्यटकको सङ्ख्यामा कमी आएको हो । राजधानी काठमाडौँबाट नजिकै १३१ किलोमिटरको दूरीमा रहेको रमणीय जिल्ला पर्यटकको रोजाइको केन्द्र बन्दै गइरहेको अवस्थामा निर्माण कम्पनीले सडक अलपत्र पारेर छाड्दा जिल्ला भित्रिने पर्यटक सास्ती खेप्न बाध्य बनेका छन् ।

पछिल्लो समय दोलखा जिल्ला पछिल्लो समय धार्मिक तथा हिमाली क्षेत्रको अध्ययन अवलोकनका लागि पर्यटकको गन्तव्यको रुपमा विकास भइरहेको छ । चर्चित भीमेश्वर मन्दिर, कालिञ्चोक भगवती, महाँकाल मन्दिरलगायतका धार्मिक क्षेत्रमा दैनिक हजाराँैको सङ्ख्यामा धार्मिक पर्यटक आउने गरेकामा सडककै कारण पर्यटकको सङ्ख्यामा कमी आएको पर्यटन व्यवसायी दावा लामाले बताउनुभयो ।

विभिन्न मठमन्दिरको दर्शन, राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, निर्माणाधीन चलचित्र नगरी, गैरीशङ्कर संरक्षण क्षेत्रको भ्रमण, बौद्ध धर्मावलम्बी लप्चीमा तपस्या, चर्चित जिरी बजारको अवलोकन, गौरीशङ्कर हिमाललगायत क्षेत्रको भ्रमण गर्नका लागि पर्यटक जिल्ला भित्रिने गरेका छन् ।

जिल्लालाई पर्याटकीय गन्तव्यको रुपमा विकास गर्न जिल्लाका दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तहले पर्यटनलाई विशेष प्राथमिकतामा राखी बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले समेत रमणीय जिल्ला दोलखालाई प्रदेश नं ३ को पर्यटकीय जिल्लाको रुपमा विकास गर्न विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ । जिल्लाको उत्तरी हिमाली क्षेत्रमा पर्यटकका लागि विभिन्न क्षेत्रमा पैदलमार्ग निर्माण गर्नका लागि केन्द्रीय सरकारले समेत बजेट विनियोजन गरेको छ ।

पर्यटकलाई लक्षित गरी जिल्लामा करोडौँको लगानीमा होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन् । चरिकोट आसपासमा मात्र एकै पटकमा चार हजार पर्याटक बस्न सकिने गरी होटल सञ्चालनमा आएको होटल सङ्घ दोलखाका सचिव प्रकाश बुढाथोकीले बताउनुभयो । जिल्ला बाहिरका पर्यटकका लागि लक्षित गरी करोडौँको लगानीमा होटल सञ्चालन गरे तापनि समयमा सडक निर्माण नहुँदा पर्यटकको सङ्ख्यामा कमी आएको उनले बताए । सो सडक निर्माण नहुँदा होटल व्यवसायमा प्रत्यक्ष असर परेको दिप्रशन रिर्सोटका सञ्चालक दीपक थापाले बताएका छन् ।

लामोसाँघु–चरिकोट सडक दुई वर्षमा काम सम्पन्न गरी हस्तान्तरण गर्ने गरी विसं २०७२ भदौ महीनामा सम्झौता भएको सडकखण्ड हाल पाँच वर्ष बितिसक्दा समेत निर्माण हुनसकेको छैन । लामोसाँघुदेखि चरिकोटसम्मको ५५ किमीको सडक दुई वर्षभित्र डबल लेनको बनाई हस्ताणतरण गर्ने गरी जेभी दुई निर्माण कम्पनीले जिम्मा दिएका थिए ।

लामोसाँघुदेखि मुडेसम्म सिमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ती जेभी र मुढेदेखि चरिकोटसम्म शकिला हेदर, शङ्करमाली, सुनौलो खिम्ती जेभी ठेकेदार कम्पनीले जिम्मा लिएको थियो । दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएता पनि सडक निर्माणको जिम्मा लिएको दुवै कम्पनीले पाँच वर्ष बितिसक्दासमेत निर्माण सम्पन्न नगराई विभिन्न बहानामा काम रोक्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement