एनसेलको लाभकर जस्ले तिर्नुपर्ने हो, उसलाई भगाएर तिर्नुनपर्नेलाई तिराइएको छः महत

Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता रामशरण महतले एनसेलमा जस्ले कर तिर्नुपर्ने हो, त्यो भागेसकेको र तिर्नुनपर्नेलाई कर तिराइएको बताएका छन् ।

कान्तिपुर एफएफमको द हेडलाइनर्स कार्यक्रममा बोल्दै महतले एनसेलको पूर्वलगानीकर्ता टेलियासोनेरालाई भगाउन कस्को हात छ ? त्यसको छानविन हुनुपर्ने बताए । पुँजीगत लाभकर भन्ने विषय अर्थमन्त्री हुँदा आफूले नै उठान गरेको विषय हो भन्दै उनले जसले सस्तोमा किनेर महंगोमा बेच्छ, उसले नाफाको निश्चित प्रतिशत लाभकरको रुपमा सरकारलाई तिर्नुपर्छ भन्ने हो भने ।

महतले एनसेल बिक्रीमा लाभ लिने टेलियासोनेरा भएकाले उसैबाट तत्कालै कर अशुल गर्नुपर्नेमा उसलाई भगाउने काम भएको बताए । अहिले एनसेल किन्ने (मलेसियन कम्पनी एजियटा)लाई जबरजस्ती लाभकर तिर भन्नु कसरी नियमसम्मत हुन्छ ? भन्दै उनले यद्यपि अहिलेको लगानीकर्ताले आफूले तिर्नुनपर्ने हुँदाहुँदै पनि लाभकर तिरेको र त्यसमा लागेको ब्याज र हर्जना मिनाहा गर्न अदालत जाँदा अदालतले पनि सोही आधारमा निर्णय गरेको बताए ।

अदालतले फैसला गरेको कुरा संसदमा बहस गर्न मिल्दैन भन्दै महतले स्वतन्त्र न्यायपालिकाको निर्णयलाई सबैले स्वीकार गर्नुको विकल्प छैन् भने । उनले न्यायालयले केही आधारमा एनसेलको विषयमा निर्णय गरेको होला भन्दै यस विषयमा संसदमा हल्ला खल्ला गर्नु गलत भएको बताए । पहिला न्यायालयको निर्णयको अध्ययन हुनुपर्ने महतको सुझाव छ ।

लिंक हेर्नुहोस्ः https://www.youtube.com/watch?v=jQhtLwMgwcs

साथै, नेता महतले नेपालजति दक्षिण एसियामा यति धेरै कर उठाउने मुलुक अर्को छैन भन्दै यतिले पनि नपुगेर अहिलेको सरकार थप कर उठाउन लागिपरेको बताए ।

कर उठाउने विषयमा तीन तहका सरकारलाई दिएको अधिकारमा पनि अन्योलता रहेको महतले बताए । उनले स्थानीय तह र प्रदेशले जथाभावी कर उठाउने कुरालाई व्यवस्थित गर्न के के कर लगाउने ? कति कर लगाउने ? भनेर केन्द्रले संघीय कानुन बनाउनुपर्नेमा नबनाइएको बताए ।

कर उठाएर पनि त्यसको सही सदुपयोग भएको छ, पुँजी निर्माणका लागि खर्च भएको छ, आय वृद्धिका लागि खर्च भएको छ भन्ने भएको भए चित्त बुझाउन हुन्थ्यो, तर अधिकांश रकम उपभोगमा खर्च भइरहेको छ भन्दै महतले नेता र मन्त्रीको सुख सुविधा, विदेश भ्रमण र उपचार, सत्तारुढ दलका कार्यकर्तालाई बाँड्नमा खर्च भइरहेको बताए ।

नेता महतले संघीयता भन्ने व्यवस्था नै बढि खर्चालु व्यवस्था भएकाले मितव्ययी हुनुपर्छ भनेर आफूले सुरुदेखि नै भन्दै आएको बताउँदै तर त्यसको ठिक विपरित अहिले काम भइरहेको बताए । विना अध्ययन र तयारीका आयोजनामा खर्च गर्ने भन्दै उनले साँसदहरुलाई करोडौं रुपियाँ बाँडिएको र यसको व्यापक दुरुपयोग भइरहेको बताए ।

Advertisement

Advertisement

Advertisement