सिन्धुपाल्चोकमा भूकम्पबाट क्षति भएका पाँचवटा सरकारी कार्यालयको उद्घाटन

Advertisement

चौतारा । भूकम्पबाट क्षति भएका सिन्धुपाल्चोक जिल्लाका पाँच वटा सरकारी भवनको पुनर्निर्माणपछि उद्घाटन गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील ज्ञवाली संघीय संसदका सांसदद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङले पुनर्निर्माण सम्पन्न भएका भवनहरुको उद्घाटन गरेका छन् । उद्घाटन गरिएका भवनहरुमा जिल्ला वन कार्यालय एनेक्स भवन, कोष तथा लेखा नियन्त्रकको कार्यालय प्रमुख जिल्ला अधिकारीको आवास भवन मालपोत कार्यालय एनेक्स भवन र जिल्ला आकस्मिक सहायता भवन छन् ।

यी भवनको नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक सहयोगमा भवनहरु पुनर्निर्माण गरिएको हो । पाँचवटा भवनको पुनर्निर्माण लागत १५ करोड रुपियाँ छ । भदौ २७ गते चौतारामा आयोजित उद्घाटन समारोहमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण गरिएका नयाँ भवनहरुमा सरकारी सेवा प्रवाह अझ प्रभावकारी हुने र जनतालाई थप सुविधा पुग्ने विश्वास व्यक्त गरे । उनले भूकम्पबाट सबै भन्दा बढी मानवीय क्षति भएको सिन्धुपाल्चकोमा निजी आवास, विद्यालय, सरकारी भवन लगायतको पुनर्निर्माणले विपद्लाई अवसरका रुपमा परिणत गरेको बताए ।

सांसद अग्नि सापकोटाले भौतिक संरचनाहरुको पुनर्निर्माणले सिन्धुपाल्चोकको मुहार बदलेको बताएका छन् । उनले यसरी पुनर्निर्माण होला भनेर विपद् लगत्तै आफूले नसोचेको उल्लेख गर्दै पुनर्निर्माणमा संलग्न सबैलाई धन्यवाद दिए ।सांसद सापकोटाले भूकम्प स्मृति पार्कको पुनर्निर्माण प्रकृया अघि बढेको भन्दै यसलाई नमूनाका रुपमा अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।

अर्का सांसद शेरबहादुर तामाङले जिल्लामा पुनर्निर्माण राम्रोसँग अघि बढेको बताउँदै मानवीय क्षति भए पनि भूकम्प अभिसाप नभई वरदान सावित भएको बताए । उनले पुनर्निर्माणपछि सिन्धुपाल्चोक विकासको नमूना जिल्लामा पर्ने दाबी गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जनता, जनप्रतिनिधि लगायतलाई धन्यवाद दिएका छन् ।

प्रदेश नं ३ का सभासद् सरेश नेपालले निजी आवास, सरकारी भवन लगायतका संरचनाहरु बनेको खुशी व्यक्त गरे । उनले बाँकी रहेका सम्पदा र जनताका गुनासाको सुनुवाई गर्न सुझाव दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलले भूकम्पबाट क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणलाई समयमा सम्पन्न गर्ने गरी काम गरेको बताउँदै पुनर्निर्माणमा सहयोग गर्ने निर्माण व्यवसायी लगायत सबैलाई जानकारी गराए ।

जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख सन्तोष निरौलाले नेपाल सरकार र एसियाली विकास बैकमार्फत १७ वटा भवनमध्ये ६ वटाको पुनर्निर्माण सम्पन्न भएको र १० वटा पुनर्निर्माणको प्रकृयामा रहेको जानकारी दिए । उनले भारतीय एक्जिम बैंकबाट प्राप्त हुने रकमबाट बन्ने सरकारी भवनहरुको पुनर्निर्माण प्रकृया पनि अघि बढेको जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement