पासाङल्हामु राजमार्ग मर्मत शुरू, मौसमले साथ दिए १२ दिनसम्ममा संचालनमा ल्याईने

Advertisement

काठमाडौं । पहिरोका कारण गत असार महिनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिबारबाट मर्मतकार्य शुरू भएको छ । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार छोकलबाट दक्षिणतर्फ रसुवागढी हाइड्रोपावर, सडक विभाग, गोसाइँकुण्ड गाउँपालिका, पूर्व सांसद जर्नादन ढकालको उपकरणले राजमार्ग मर्मतकार्य अगाडि भइरहेको छ ।

मर्मतकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत परिचालन गरिएको बताइएको छ । मौसमले साथ दिए अब १२ दिनसम्ममा राजमार्ग खोलिने र मौसमले साथ नदिए राम्चे खण्डको मर्मतकार्य अनश्चित हुने जानकारी दिए ।

सत्र किलोमिटर दूरीअन्तर्गत मैलुङतर्फबाट भने गल्छी–मैलुङ– स्याफ्रुबेँसी सडक सुधार आयोजना, सांसद मोहन आचार्यसमेतको उपकरणले द्रुतरूपमा सञ्चालन भइरहेको बताइएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार राजमार्ग सञ्चालन गर्न प्रदेशसभा सदस्य प्रेम तामाङसमेत सहभागी हुनुभएको र सांसद मोहन आचार्य, गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङसमेतको सहमतिबाट मैलुङ खण्डको राजमार्ग सञ्चालनमा काम अगाडि बढाइएको हो । सम्भवतः दुई, तीन दिनभित्र राजमार्ग सञ्चालन गर्ने लक्ष्य लिइएको बताइएको छ ।

पासाङल्हामु राजमार्गअन्तर्गत राम्चे भीरमा गएको पहिरो व्यवस्थापन गरी यातायात सञ्चालन गर्न समयावधि निकै लाग्ने र केरुङबाट दशैँका लागि सामान लिई आएका मालबाहक ट्रक रोकिएका कारण नदी किनारको नयाँ राजमार्ग प्रयोग गर्न लागिएको प्रजिअ भण्डारीले जानकारी दिनुभयो । केरुङबाट सामान लिई आएका करीब ७०० मालबाहक ट्रक, कन्टेनरमध्ये २०० कन्टेनर भन्सार जाँचपास भई गन्तव्यतर्फ जान सडकमा लामबद्ध भई बसेका र ५०० मालबाहक कन्टेनर भन्सार हातामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।

भारी वर्षासँगै भदौ २५ गते गएको पहिरोका कारण पूर्णरूपमा बन्द भएको राम्चे खण्डको पासाङल्हामु राजमार्ग सञ्चालन गर्न मर्मत एवं पुनःनिर्माणको काम पनि शनिबारबाट शुरू भएको छ । डिभिजन सडक कार्यालय नुवाकोटका प्राविधिक एवं साइट इन्चार्ज सरोज कडरियाले सडक सतह भासिएका कारण पहिरोले झारेका हिलो पन्छाई ग्याबिन भर्ने काम शुरु भइसकेको छ ।

दैनिक रु तीन करोड भन्सार शुल्कवापत राजश्व आर्जन गर्ने पासाङल्हामु मार्ग सञ्चालनमा ढिलाइ गर्न नहुने र कालिका गाउँपालिका–१ राम्चेको भीर छेउको पहिरो व्यवस्थापनका लागि सुरक्षा अङ्गलगायत सबै क्षेत्रले सहयोग गर्न आवश्यक देखिएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिनुभयो । राजमार्ग अवरुद्ध भएपश्चात् नेपाल–चीनबीचको व्यापार–व्यावसायका सामान ढुवानीमा संलग्न सयौँ ट्रक तथा कन्टेनर राजमार्गका विभिन्न भागमा अलपत्र अवस्थामा पार्किङ भइराखेको ट्राफिक प्रहरीले जनाएको छ । चीनसँगको व्यावसायिक कारोवार गर्ने उत्तरी नाकाको राजमार्गमा जिम्मेवार निकायले समयमै संरक्षणमा ध्यान नपुर्याउँदा वर्षाका कारण राम्चेको राजमार्ग क्षति भएको स्थानीय बासिन्दाले बताएका छन् ।

एकातर्फ दक्षिणपट्टिको राम्चेस्थित सेतीभूमे माविको आसपास र अर्कोतर्फ राम्चे भीरको उत्तरतर्फको नालीबाट बगेका वर्षात्को पानी एकत्रित भई निकास लिएको स्थानमै ठूलो पहिरो जाँदा राजमार्ग क्षति भएको बताउँदै स्थानीयवासीले बताएका छन् । उनीहरूका अनुसार परेका भल पानी ठाउँ–ठाउँबाट निकास दिन नसक्नुनै राजमार्ग क्षतिको कारण हो ।

Advertisement

Advertisement

Advertisement