सर्वसाधारणको लागि २५ प्रतिशत सेयर जारी गर्ने तयारीमा विद्युत प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणको लागि २५ प्रतिशत शेयर जारी गर्ने तयारी गरेको छ । प्राधिकरणले आइतबार पत्रकार सम्मेलन गरी सेयर निकाशनको तयारीबारे जानकारी दिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषदबाट स्वीकृत भएको दोस्रो वित्तीय पुनसंरचनामा भएको व्यवस्था र प्राधिकरणको ऐनमा भएको व्यवस्थाअनुरुप शेयर जारी गर्न लागिएको बताएका हुन् ।

प्राधिकरणले विद्युत प्रणालीलाई स्वचालित बनाउन स्मार्ट मिटर जडान गरी टेलिफोन सेवा जस्तै विलिङ लागू गर्ने पनि जनाएको छ । हाल मिटर रिडिङको लागि ग्राहकको घरमै जानुपर्ने व्यवस्थालाई अन्त्य गर्न थ्रिफेज मिटर तथा टीओडी मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिने घिसिङले बताए ।

स्मार्ट मिटरलाई काठमाडौं उपत्यकामा नमुना परियोजनाको रुपमा अघि बढाउन ठेकदार समेत छनोट गरिसकिएको छ । साथै, प्राधिकरणले अनलाइन तथा एकीकृत भुक्तानी प्रणाली अबलम्बन गरी ग्राहकलाई थप सुविधा उपलब्ध दिने जनाएको छ ।

घिसिङले ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राखेर सोहीअनुसार प्रसारण तथा वितरण लाइन र सबस्टेशन सुदृढीकरण गरिने, आगामी दिनमा वर्षायाममा उत्पादित विद्युतलाई खेर जान नदिई शतप्रतिशत आन्तरिक खपत वा निर्यात गराउन विशेष ध्यान केन्द्रित गर्ने, जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरूलाइ आगामी दिनमा गेम चेञ्जर आयोजनाको रुपमा अघि बढाउने बताए ।

उनले आगामी वर्ष सञ्चालन खर्चमा न्यूनीकरण, स्वउत्पादनमा बृद्धि, र विद्युत चुवावट घटाउँदै साढे आठ अर्ब रुपियाँभन्दा धेरै नाफा कमाउने लक्ष्य रहेको पनि बताए । घिसिङले संस्थागत सुशासनलाई कठोरताका साथ लागू गर्ने र भष्ट्राचार नियन्त्रणमा शुन्य सहनशिलताको नीति अबलम्बन गर्दै प्राधिकरणका क्रियाकलापलाई थप जिम्मेवार, पारदर्शी र जवाफदेही बनाइने दावी पनि गरे ।

उनले आगामी दश वर्षमा दश हजार मेगावाट खपत गर्नसक्ने गरि वितरण प्रणालीको विस्तार एवं स्तरोन्नति गर्ने बताए । विद्युत खपतको दायरालाई विस्तार गर्न विद्युतीय यातायातका लागि चार्जिङ स्टेशन, विद्युतीय चुल्हो जस्ता विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गरिने घिसिङको भनाई छ ।

चालु आर्थिक वर्षभित्रै एक हजार मेगावट विद्युत प्रसारण लाइनमा थपिने गरी काम अगाडि बढाएको बताउँदै उनले ४५६ मेगावटको माथिल्लो तामाकोशी, १११ मेगावटको रसुवागढी, १४.८ मेगावटको माथिल्लो साञ्जेन र अन्य निजी जलविद्युत आयोजनाहरु यसै बर्षदेखि सञ्चालनमा आउने दावी गरे ।

Advertisement

Advertisement

Advertisement