यस बर्ष धागो तथा कपडा मेला वृहतरुपमा हुँदै, असोज २ देखि भृकुटीमण्डपमा सुरु

Advertisement

काठमाडौं । यस बर्ष धागो तथा कपडासम्वन्धी मेला ‘नेपाल यार्न एण्ड टेक्सटायल एक्पो, २०१९’ वृहतरुपमा आयोजना गरिने भएको छ । नेपाल धागो उत्पादक संघले आइतबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिएको हो । मेला असोज २ गते भृकुटीमण्डपमा सुरु हुँदैछ ।

यसअघिको मेलामा ३६ वटा मात्रै स्टल रहेकोमा यस बर्ष ७४ सटा स्टलहरु रहनेछन् । धागोसँगै गार्मेन्ट, निटिङ र होजियारीका सामानहरुसमेत यस बर्ष प्रदर्शनीमा राख्न लागिएकाले मेला वृहत र बढि आकर्षक हुने आयोजकको भनाई छ ।

नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्याणले नेपाली धागो र कपडा गुणस्तरीय रहेको र सोही कारण टर्कीसम्म निर्यात भइरहेको बताउँदै धागोको उत्पादन र माग बढे पनि कपडाको नबढ्दा समस्या भएको बताए ।

उनले नेपाली कपडालाई समेत विदेशी लेवल नलगाएसम्म नकिन्ने र सय रुपियाँको कपडालाई पाँचसय रुपियाँ तिर्ने नेपालीहरुको प्रवृत्तिप्रति दुःख व्यक्त गरे । गोल्याणले यस पटक मेलामा तिनै कपडाहरु बजारमा भन्दा आधा मूल्यमा किन्न पाइने पनि बताए ।

अहिले पाँच प्रतिशत मात्रै नेपाली कपडाहरु आन्तरिकरुपमा खपत भइरहेको र ९५ प्रतिशत आयात भइरहेकाले यसलाई कम्तिमा ५० प्रतिशत पुर्याउनुपर्ने बताए ।

कार्यक्रममा कपडा गार्मेन्ट उत्पादक तथा कपडा व्यवसायीहरुले नेपाली उत्पादन गुणस्तरीय सस्तो हुँदाहुँदै पनि विदेशी मन पराउने प्रवृत्ति हटाउन यस्ता मेलाले सहयोग गर्ने बताए । खुल्ला सीमाका कारण चोरी पैठारी भएर आउने र न्यून विजकीकरणमा आउने कपडा तथा धागोहरुले नेपाली धागो तथा कपडा उद्योगहरुलाई ठूलो मार पर्दै आएको छ ।

यसलाई नियन्त्रण गर्न सके अर्बौं रुपियाँ लगानी बढ्ने, लाखौंको संख्यामा नयाँ रोजगारी सिर्जना हुने, सरकारलाई पनि अर्बौं रुपियाँको राजश्व बढ्ने व्यवसायीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement