सेयर बजारमा आज पनि उच्च गिरावट, नेप्से १००० बाट पनि तल झर्ने संकेत

Advertisement

काठमाडौं । आइतबार १७ अंकभन्दा बढिले ओरालो लागेको सेयर बजार परिसुचक नेप्से आज १६ दशमलव १८ अंकले घटेर एक हजार १२३ दशमलव ८३ कायम भएको छ । त्यस्तै, कारोबार ३४ करोड ३९ लाख रुपियाँमा सीमित भएको छ ।

सेयर बजारमा उच्च दरले गिरावट हुँदा लगानीकर्ता थप निराश बन्न पुगेका छन् । विशेषगरी नाफा कमाउने आशामा बसेका साना लगानीकर्ताहरु अहिलेको उच्च दरको गिरावटका कारण पीडित बनेका हुन् । उनीहरु वर्तमान अर्थमन्त्री युवराज खतिवडाको सेयर बजारप्रतिको दृष्टिकोण र नीति सकारात्मक नहुँदा बजार प्रभावित भएको बताउँछन् ।

बैंकहरुलाई ऋण प्रवाहमा थप कठिनाई हुनेगरी नीतिहरु संशोधनको प्रक्रिया अघि बढेपछि पछिल्लो समयमा सेयर बजारका लगानीकर्ता मात्रै नभएर बैंकिङ क्षेत्रमा लागेकाहरु समेत निराश बन्न पुगेका छन् ।

व्यापारबाहेक बाँकी सबै समूहमा गिरावट हुँदा नेप्से एक दशमलव ४२ प्रतिशतले गिरावट भएको हो । व्यापार समूहको सुचक भने दुई दशमलव २९ अंकले बढेको छ । बाणिज्य बैंक समूहको सुचक एक दशमलव २५ प्रतिशतले झरेको छ भने जीवन बीमा समूहको सुचक दुई दशमलव ५९ प्रतिशतले झरेको छ ।

आज धेरै कारोबार गर्नेमा बैंक तथा जलविद्युत कम्पनी नरहेर लघुवित्त कम्पनी अगाडि रहेको छ । छिमेक लघुवित्त विकास बैंकको सबैभन्दा धेरै एक करोड ८० लाख रुपियाँको कारोबार भएको छ ।

Advertisement

Advertisement

Advertisement