उपभोक्तालाई सेवा दिने संस्थान मध्येमा उत्कृष्ट साल्ट ट्रेडिङ कर्पोरेसन: मन्त्री यादव

Advertisement

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले साल्ट ट्रेडिङ कर्पोरेसन को ५७ औं वार्षिकोत्सव समारोहमा नुन बिक्री वितरणको जिम्मेवारी पाएको साल्ट ट्रेडिङ कर्पोरेसनले गरिरहेको काममा सरकार बाधक नभएको बताए । तर मन्त्री यादबले गुणस्तरमा सम्झौता नगर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री यादवले निजी क्षेत्रलाई नुन बिक्री तथा वितरण गर्न दिने सरकारको कुनै योजना नभएको उल्लेख गर्दै केही सञ्चार माध्यमले भ्रामक समाचार सम्प्रेषण गरेको समेत खुलाएका छन् ।

सोही क्रममा मन्त्री यादवले साल्ट ट्रेडिङले पुर्याएको सेवाको प्रसंसा गर्दै दशैंतिहारको समयमा मात्र नभई सधैंभरी नै सस्तो र सहुलियत मूल्यका पसलहरु सञ्चालन हुनुपर्नेमा जोड दिए । साल्ट ट्रेडिङ कर्पोरेसनले स्थापनाकालदेखि नै उपभोक्ताको हकहितका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै मन्त्री यादवले उपभोक्तालाई सेवा दिने संस्थान मध्येमा यो उत्कृष्ट रहेको वताए ।

सो कार्यक्रममा कर्पोरेसनका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेसनले उपभोक्ताको चाहना र सरकारको निर्देशनअनुरुप सेवा विविधीकरणमार्फत सहुलियत दरमा गुणस्तरीय वस्तु बिक्री वितरण गर्दै आएको र सदैव जनताको हितमा प्रतिबद्ध भएर सेवा गर्ने बताए ।

कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सबैको सहयोगबाट संस्थानले गरेको प्रगतिलाई आत्मसात गर्दै संस्थानले मानव जीवनमा महत्वपूर्ण परिवर्तन ल्याएको भन्दै दशैंतिहारलाई लक्षित गरी सहुलियतका पसलका साथसाथै विभिन्न सामानमा छुटसमेत प्रदान गरेको बताएका छन् ।

कार्यकारी अधिकृत श्रेष्ठका अनुसार सन् १९८५ मा नेपालमा ४४.२ प्रतिशत गलगाँड रोगी रहेकोमा त्यो संख्या झरेर हाल ०।४ प्रतिशत कायम भएको छ ।

Advertisement

Advertisement

Advertisement