संसदीय समितिले सरकारको निगरानी मात्रै गर्ने हो, नियन्त्रण गर्न सक्दैनः महरा

Advertisement

काठमाडौंः प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय समितिले सरकारका काम कारवाहीको निगरानी गरे पनि नियन्त्रण गर्न नसक्ने बताएका छन् ।

संसद् सचिवालयले सोमबार नयाँ बानेश्वरमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले संसद्ले समितिमार्फत् सरकारले आफ्नो ट्र्याक छाड्छ कि भनेर निगरानी गर्ने भूमिकामा क्रियाशील रहेको बताए ।

महराले भने, “सरकारले ‘रेस्पोन्स’ गरेको अवस्थामा संसद्का कामकारवाही झनै प्रभावकारी हुन्छ, संसद्ले सङ्कल्प प्रस्ताव, सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव पारित गरेको छ, यी प्रस्ताव कार्यान्वयनका लागि सरकारले ध्यान दिने विश्वास छ ।”

संसद् नियमावलीअनुसार चल्नु नै संसदीय प्रक्रियाको असल अभ्यास हुने बताउँदै उनले सांसदहरू आफ्नो जिम्मेवारी र दायित्वप्रति सजग हुनुपर्ने बताए । सांसद कानून निर्माणका लागि निर्वाचित भए पनि निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न विकास निर्माणसँग जोडिनुपर्ने आवश्यकता पनि रहेको महराले बताए ।

संसद्मा मन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रमलाई निरन्तरता दिइए पनि स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम अहिलेसम्म एकपटक मात्रै गर्न सकिएको सभामुख महराले सुनाए । कार्यक्रममा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संसदीय अभ्यासलाई विगतभन्दा प्रभावकारी बनाउन संसद्ले रणनीतिक कार्ययोजना नै बनाएको बताइन् ।

उनले भनिन्, “कार्ययोजनामा सांसदहरूको क्षमता अभिवृद्धि गर्ने, संसदीय अभ्यास प्रभावकारी बनाउने विषय पनि छ, त्यसकै लागि यो कार्यक्रम आयोजना गरिएको हो, संसद् प्रभावकारी भएको सन्देश दिलाउने गरी सांसदले पनि काम गर्नुपर्छ ।” राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले संसद्मा प्रस्तुत हुँदा सांसदहरूले प्राविधिक विषयमा पनि ध्यान दिनुपर्ने सुझाव दिइन् ।

नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले ‘संविधान, संसदीय अभ्यासमा प्रभावकारिता (शून्य र विशेष समय तथा प्रस्तुति शैली)’ विषयमा सांसदहरूलाई प्रशिक्षण दिए । सङ्घीय संसद् सचिवालयका सचिव धु्रवप्रसाद घिमिरेले ‘संसदीय निगरानीमा प्रस्ताव र प्रश्नोत्तरको भूमिका’ शीर्षकमा सांसदहरूलाई प्रशिक्षण दिए ।

संसदीय प्रक्रियाका सम्बन्धमा सांसदहरूले उपस्थित विज्ञसँग प्रत्यक्ष प्रश्नोत्तरमार्फत आफ्ना जिज्ञासासमेत राखे । यस्तै कार्यक्रम केही समय अगाडि महिला सांसदका लागि मात्र सचिवालयले आयोजना गरेको थियोे ।

Advertisement

Advertisement

Advertisement