राहुल चौधरी प्रभावशाली होटल व्यवसायीको सूचीमा

Advertisement

काठमाडौं । भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार दोस्रो वर्ष ‘सीजी होटेल्स एन्ड रिसोर्ट’का कार्यकारी निर्देशक राहुल चौधरीलाई शक्तिशाली ३५ व्यवसायीको सूचीमा राखेको छ । राहुलले चौधरी ग्रुप (सीजी)को आतिथ्य सत्कार (हस्पिटालिटी) व्यवसायको नेतृत्व गर्छन् ।

‘होटेलियर’ले सन् २०१९ का लागि हस्पिटालिटी क्षेत्रमा सफल ३५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो । राहुल सन् २०१८ को सूचीमा पनि थिए । यो सूचीमा भारतभर होटल तथा रिसोर्ट सञ्चालन र नेतृत्व गर्ने सफल व्यवसायीहरू छन् ।

राहुलले भारतको नयाँदिल्ली मुकामबाट ‘सीजी कर्प ग्लोबल’सँगै ‘सीजी होटेल्स एन्ड रिसोर्ट’को कार्यकारी निर्देशकको जिम्मेवारी निभाइरहेका छन् । ‘सीजी होटेल्स एन्ड रिसोर्ट’ले भारतका विभिन्न स्थानमा सेवा विस्तार गरेको छ । ‘ताज’, ‘फर्न’, ‘जिंक’जस्ता स्थापित र प्रसिद्ध चेन होटलमा सीजीको साझेदारी/लगानी छ ।

‘सीजी होटेल्स एन्ड रिसोर्ट’ले २० मुलुकका १ सयभन्दा बढी होटल सञ्चालन गरिरहेको छ । यी होटल/रिसोर्टमा ६ हजारभन्दा बढी कोठा छन् ।

'हामीसँग पहिले १० वटा होटल थिए, सन् २०२० सम्ममा यो संख्या २०० पुग्छ,' राहुल भन्छन्, 'थप १५ देशका ९७ पर्यटकीय गन्तव्यमा पुग्नेछौं । त्यतिबेलासम्म हामीसँग १० हजारभन्दा धेरै कोठा हुनेछन् ।' विश्वभर होटल सञ्जाल फैलाउने उद्देश्य लिएर हिँडेका राहुल आफू पिता विनोद चौधरीको व्यावसायिक सफलता र सद्गुणलाई आत्मसात गरेर हिँडेको बताउँछन् । भन्छन्, 'त्यही सफलता र सद्गुणका कारण हामी चीनदेखि न्युयोर्क सिटीसम्म फैलन सकेका हौं ।'

दुई दशकअघि टाटा ग्रुप/आईएचसीएलसँग कोलम्बो (श्रीलंका) र माल्दिभ्समा साझेदारी गरेसँगै चौधरी ग्रुप हस्पिटालिटी क्षेत्रमा विधिवत् रूपले अघि बढेको हो ।

Advertisement

Advertisement

Advertisement