अर्थमन्त्रीको त्यो भाषण जसले सेयर बजारमा एकाएक उछाल ल्यायो

Advertisement

काठमाडौं । अब सञ्चय कोषको पुरानो भूमिकालाई कायम राख्दै नयाँ भूमिका खोज्नुपर्छ । यसलाई सामाजिक सुरक्षा संस्थाका रुपमा अघि बढाउने र पेन्सन फण्ड व्यवस्थापन गर्ने संस्थाका रुपमा स्थापीत गराउनुपर्नेछ । करिब ३० वर्षदेखि कर्मचारी सञ्चय कोषको काम कारवाहीबारे म भलिभाँती जानकार छु । त्यसकारण यसलाई कसरी अघि बढाउनुपर्छ भन्नेबारे मलाई थाहा छ ।

सञ्चय कोष भनेको नेपालको दीर्घकालिन बचत परिचालन गर्ने सबै भन्दा ठुलो संस्था हो । यसको बचत परिचालन मात्रै साढे ३ खर्ब रुपैंयाको भैसकेको छ । यसरी अर्काे दोश्रो संस्था नागरिक लगानी कोष हो । त्यसपछि अरु केहि कोषहरु छन् जुन सार्वजनिक क्षेत्रमा छन् । जस्तो सैनिक कल्याणकारी कोष, प्रहरी कल्याणकारी कोष, दुर सञ्चार कोष हुँदै अहिले धेरै नयाँ कोषहरु खडा भएका छन् । वन विकास कोष, स्वास्थ्य सेवा कोष, शैक्षिक सुधार कोषसँग पनि ठुलो रकम छ । यी सबै कोषहरुले परिचालन गर्ने कुल रकम हेरियो भने कुल गार्हस्थ उत्पादनको २० प्रतिशत हुन आउने रहेछ ।

यस्तो रकमको ठुलो हिस्सा पुँजी बजारको विकासमा खर्च हुन्छ र केहि रकम मुद्रा बजारको विकासमा पनि जान्छ । मुद्रा बजारलाई यस्ता कोषहरुले बेलाबेलामा उत्तेजित बनाए । त्यसै कारणले हामीले कोषका सञ्चालकहरुलाई बैठक डाकेर मर्यादित हुन भनेका थियौं । अनुशासनमा रहनुस, उत्तेजित नबनाउनुस, अल्पकालिन ब्याजदरलाई आर्थिक प्रणालीले धान्नै नसक्ने नबनाउनुस् भन्यौं तपाईहरुले मान्नुभयो । त्यसका लागि धन्यवाद पनि छ ।

अब पुँजी बजारलाई २।३ वटा कुराका आधारमा हेर्नुपर्छ । दिर्घकालिन प्रकृतिका पुर्वाधार विकासमा यी कोषहरुको भूमिका चाहिन्छ । पुँजी बजारको प्राथमिक निष्काशन( आईपीओ)मा तपाईहरुको भूमिका चाहिन्छ । दोश्रो बजारमा जान अहिले कानुनले दिँदैन, म पनि त्यता जानुस भन्दिन् । दोश्रो बजारमा जाने काम सञ्चय कोषको होइन् ।

तर पुँजी बजारका अरु संस्थाहरु नागरिक लगानी कोष जस्ता संस्थाहरुले पुँजी बजारको दोश्रो बजारमा पनि भूमिका खेल्नुपर्छ । अहिले नेपालको सेयर बजारमा अलिकति लगानीकर्ताहरुको विश्वास बढाउनुपर्ने अवस्था छ । त्यो विश्वास बढाउनका लागि दोश्रो बजारका प्लेयरहरुका लागि यो उपयुक्त मौका हो । बैंकहरुको नाफा बढ्दैछ । वित्तिय प्रणालीको नाफा बढ्दैछ । आर्थिक वृद्धिदर माथी गैरहेको छ ।

राजनीतिक स्थायीत्व छ र सुशासनका अवस्थामा पनि सुधार नै आईरहेको छ । करका समस्याहरु हल भैरहेका छन् । यति भैसकेपछि अब दोश्रो बजारमा नयाँ लगानीकार्ताहरुले प्रवेश गर्ने उपयुक्त समय हो र पुँजी बजारलाई गतिदिन लाग्ने समय पनि हो । म आव्हान गर्न चाहान्छु र यसमा संलग्न सार्वजनिक संस्थाहरुलाई अलि क्रियाशिल भएर लाग्न अनुरोध पनि गर्छु ।

अब कुरा आउँछ, पुँजी बजारलाई हामीले किन अघि बढाउनुपर्छ ? हामीलाई चाहिने स्वपुँजी(इक्वीटी क्यापिटल) चाँही पुँजी बजारको विकासबाट मात्रै सजिलै प्राप्त गर्न सकिन्छ । पुँजी बजारको विकास भएन भने स्वपुँजी प्राप्त हुनै सक्दैन । बैंकले दिने त ऋण न हो । हरेक बैंकले एक सय रुपैंयाँ ऋण दिँदा ३० रुपैंयाँ त धितो खोज्छ नै । त्यसकारण हामीलाई इक्वीटी मार्केट चाहिन्छ । त्यो पुँजी बजार हो, यसमा सेयर र बण्ड दुबैको बजार विकसित हुँदैछ । मुलुकको आर्थिक विकासमा सहयोग पुग्नेगरि त्यो बजारमा लागनी गरिदिनुहुन म सम्पुर्ण वित्तिय क्षेत्रका साथीहरुलाई अनुरोध पनि गर्दछु ।-

कर्मचारी सञ्चय कोषको ५८ औं बार्षिकोत्सव समारोहमा अर्थमन्त्री युवराज खतिवडाले पुँजी बजारबारे व्यक्त गरेको धारणा

Advertisement

Advertisement

Advertisement