वायुसेवा निगममा विदेशी लगानी र व्यवस्थापक भित्राउन सकिनेगरी प्रतिवेदन बुझाइयो

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगम सुधारका लागि अध्ययन गरी सुझाव दिन पूर्वसचिव नविन घिमिरेको संयोजकत्वमा गठित समितिले निगमलाई पब्लिक कम्पनी बनाउँदै विदेशी लगानी र व्यवस्थापन भित्राउन सकिने प्रतिवेदन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पेश गरेको छ ।

समितिले बुधबार कार्यक्रम गरी पर्यटनमन्त्री योगेश भट्टराईलाई प्रतिवेदन बुझाएको हो । निगममा विदेशी साझेदार भित्राउने वा निजीकरण गर्ने कुराको निगमकै कर्मचारीदेखि कर्मचारी युनियनहरुले चर्को विरोध गर्दै आएका थिए ।

प्रतिवेदनमा निगमको चुक्ता पुँजी बढाएर एक खर्ब पुर्याउने, त्यसमा विदेशी लगानीकर्तालाई ४९ प्रतिशत र बाँकी ५१ प्रतिशत नेपालको हिस्सा हुन कायम राख्न सकिने, नेपालको हिस्सामध्ये नेपाल सरकारले ३५ प्रतिशत लगानी गरी बाँकी सर्वसाधारणलाई पाँच प्रतिशत, पर्यटन व्यवसायीलाई छ प्रतिशत, निजामती र संस्थानका कर्मचारीलाई एक दशमलव पाँच प्रतिशत र निगमका वर्तमान तथा पूर्वकर्मचारीलाई एक दशमलव २५ प्रतिशत सेयर दिन प्रस्ताव गरिएको छ ।

प्रतिवेदन बुझेपछि मन्त्री भट्टराईले निगमलाई कम्पनीमा रुपान्तरण गर्न सरकार सकारात्मक रहेको बताए । उनले प्रतिवेदन कार्यान्वयन गरिने बताउँदै त्यसका लागि अहिलेको व्यवस्थापकले विश्वासको बाताबरण बनाउनुपर्ने बताए ।

विदेशीले सामान्य सहभागिता जनाएर अधिकतम् फाइदा लिने अवस्था आउन नदिने दावी गर्दै भट्टराईले निगमका कर्मचारीहरुको क्षमता बढाउने काम तत्कालै सुरु गरिने बताए । उनले निगमका कर्मचारीहरुको तलब विदेशीको जति नभए पनि अहिलेको भन्दा बढ्ने भन्दै कर्मचारीहरुलाई खुशी बनाउने प्रयास गरे । कर्मचारीले बलिदान गर्न तयार हुनुपर्ने भट्टराईको तर्क छ ।

अहिले थन्किएर रहेका जहाजहरुलाई भाडामा दिने वा बेच्नेबारे सोच्नुपर्ने अवस्था रहेको उनले बताए । भट्टराईले केही दिनभित्र प्रतिवेदन कार्यान्वयनमा आउने बताए ।

Advertisement

Advertisement

Advertisement