त्रिशूलीको भेलमा ‘तेस्रो अन्तर्राष्ट्रिय ट्राई एडभेन्चर’

Advertisement

काठमाडौं । प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय ट्राई एडभेन्चर प्रतियोगितामा २०७६ मा त्रिभुवन आर्मी क्लबको ‘ए’ टोली प्रथम भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रथम हुने टोलीलाई बुधबार आयोजित समारोहमा एक लाख नगद र शिल्ड प्रदान गरे । वैरेनीदेखि चरौँदीसम्म कूल ४३.७ किलोमिटर क्षेत्रमा सञ्चालन भएको उक्त प्रतियोगितामा ६.७ किमी दौड, २६ किमी साइकल र ११ किमी ¥याफ्टिङ कायम गरिएको थियो ।

नेपाल भ्रमण २०२० लाई सफल तुलाउन सघाउ पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगीता दुई घण्टा २० मिनेटमा दूरी पार गरेर त्रिभुवन आर्मी क्लब पहिलो भएको हो । प्रतियोगितामा दोस्रो र तेस्रो हुने भारतीय सेनाको ‘ए’ र ‘बी’ टोलीलाई क्रमशः एक लाख र ७५ हजार तथा प्रमणपत्र प्रदान गरियो ।

सिमसिमे पानी परेर हिलाम्य उकालो र ओरालो बाटो दौडेर पार गरेपछि साइकल चलाएर दौडिएका कैयौं प्रतियोगीले २६ किलोमिटर चिप्लो र हिलो सडक पार गर्न हम्मेहम्मे परेको थियो । साइकल यात्रा पूरा गरेसँगै त्रिशूलीको उर्लंदो भेलमा ११ किलोमिटर ¥याफ्टिङ चलाएर प्रतियोगी चरौँदी पुगेका थिए ।

झमझम पानी परेको र वरिपरिको डाँडाकाँडा र हरियालीका बीचमा रहेको त्रिशूलीमा हतारहतारमा ¥याफ्टिङ चलाउन पाएपछि दौड र साइकलका बेला झेल्नु परेको सबै दुःख बिर्सिएर निकै आनन्दको महसुस गरिएको महिला प्रतियोगी जमुना थापाले बताइन् ।

प्रतियोगितामा महिलाको तीन टोलीले प्रतिस्पर्धा गरेकामा सफल महिलाको राष्ट्रिय ट्राइथलन टोलीलाई ५० हजार नगद प्रदान गरियो । महिलातर्फ दोस्रो हुने प्याडल्स नेपाल टोली ‘पी’लाई ३० हजार नगद र प्रमाणपत्र प्रदान गरियो ।

पाँच विदेशीसहित प्रतियोगितामा १५ टोलीले प्रतिस्पर्धा गरेका थिए । भारतीय सेनाका दुई र बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्सका एक–एक टोलीले प्रतियोगीतामा भाग लिएका थिए । माल्दिभ्स र भारतले पहिलो पटक सहभागिता हुन भने पाकिस्तानबाट ‘अब्जरभर’का रुपमा एक जनाको सहभागिता थियो । प्रतियोगिताको ‘बेष्ट इन्टरनेशनल अवार्ड’ भारतीय टोलीलाई प्रदान गरियो ।

नेपाली सेनाको दुई टोलीले भाग लिएकामा अर्को टोलीले चौथो स्थान प्राप्त गरेको थियो । नेपाली सेनाबाहेक अन्य विभागीय टोलीले यो प्रतिस्पर्धामा भाग लिएका थिएनन् । नेपाली सेनाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन विभिन्न देशका सैनिकको सहभागितामा मुलुकका विभिन्न भागमा लिगलिगे दौडदेखि सगरमाथा आरोहणसम्मका प्रतियोगिता राखेको छ । सहभागी प्रतियोगिहरुलाई बलाधिकृत रथी शरद गिरीले पदक तथा प्रमाणपत्र प्रदान गरे भने बलाध्यक्ष रथी गौरव तण्डुलले आयोजकलाई कदरपत्र प्रदान गरे ।

विसं २०७१ देखि स्वदेशी टोलीको सहभागितामा राष्ट्रियस्तरमा सञ्चालन हुँदै आएको सो प्रतियोगितामा २०७४ बाट विदेशी सैनिक टोलीको समेत सहभागिता रहँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement