इच्छाकामना मन्दिर पुनःनिर्माणका लागि आर्थिक अभाव

Advertisement

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिरको पुनःनिर्माणका लागि आर्थिक अभाव भएको छ । धेरै वर्ष पुरानो ढुङ्गा–माटोको गारोले निर्माण गरिएको इच्छाकामना मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण शुरु गरिएको छ ।

मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार मन्दिरको पुनःनिर्माणका लागि तीन करोड २५ लाख लाग्नेछ । अहिले प्रदेश नं ३ सरकारबाट प्राप्त ५० लाखले ढोकासम्म राख्ने काम भएको छ । गत आइतबार मन्दिरमा ढोका राखिएको हो ।

१८ महीनाभित्र मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि आर्थिक स्रोत जुटाउन नसक्दा समयमा मन्दिर निर्माण सक्न गाह्रो हुने देखिएको छ । अहिले इच्छाकामना गाउँपालिकाले  ८० लाख सहयोग गर्ने आश्वासन दिएको समितिका अध्यक्ष बोहोराले बताए । यसबाहेक अन्य आर्थिक स्रोत नभएको अध्यक्ष बोहोराको भनाइ छ । मन्दिर पुनःनिर्माणका लागि उहाँले सम्पूर्ण श्रद्धालु भक्तजन तथा सहयोगी मनहरुलाई आग्रह गरे ।

गोरखाको शहीद लखनगाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामा माताको मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । मनकामनामाईको सात दिदीबहिनी थिए । तीमध्ये एक बहिनी इच्छाकामना रहेको किंवदन्ती रहेको मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए । पुजारी गुरुङका अनुसार कहिलेबाट इच्छाकामना देवीको पूजा गर्न थालिएको हो यकिन नभए पनि धेरै वर्षअघि उनका पुर्खाले गाईबाख्रा हराउन थालेपछि गोठालाले भेटेको मूर्तिमा पूजा गर्न शुरु गरेका थिए । त्यसपछि गाईबाख्रा हराउन छाड्यो । अन्य गाउँलेले पनि पूजाआजाको शुरुआत गरे । इच्छाकामना मन्दिर परिसरमा शिवालयको मन्दिर र गणेशको मूर्ति पनि स्थापना भएको छ ।

प्रत्येक वर्ष पञ्चमीमा मेला

प्रत्येक वर्ष मङ्सिरको ठूली एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्ने गर्दछ । मेलामा राँगा, बोका, हाँसको अण्डा र कुखुराको बलि दिइन्छ । घण्ट र त्रिशूल पनि चढाउने गरिन्छ । मेलामा देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्दछन् । रातभर नाचगान र रमाइलो गरेपछि बिहान पूजाआजा गरिन्छ । इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार ८०० मिटरको उचाइमा रहेको छ । इच्छाकामनाको वरपर जङ्गलले ढाकेको छ । फागुन, चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । वनपाखा फूलले ढकमक्क हुन्छन् ।

इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छे«सम्म देख्न सकिन्छ । मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पुजारी हर्कबहादुर गुरुङले बताए । मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकको आवागमनमा वृद्धि आएको स्थानीय होटल व्यवसायी ज्ञानबहादुर गुरुङ बताए ।

Advertisement

Advertisement

Advertisement