बैंकहरुले ३० औं वर्ष लगाएर कमाएको नाफा जोखिममा छः गभर्नर

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुको वर्षाैको आम्दानी जोखिममा रहेको दावी गरेका छन् । नेशनल बैंकिङ इन्स्टिच्युट(एनबीआई)को प्रिभेन्टिङ साइबर फाइनान्सियल फ्रड विषयका सम्मेलनमा बोल्दै गभर्नर डा. नेपालले भने–‘नेपालका बैंकहरुले ३० औं वर्षमा कमाएको नाफा जोखिममा छ, त्यस्तो आम्दानी एक क्लिकमै सखाप हुन सक्छ ।’

उनले नेपाली बैंकिङ क्षेत्र साइबर आक्रमणको उच्च जोखिममा रहेको पनि स्वीकार गरे । एटिएम ह्याक प्रकरणपछि पुनः आक्रमणको सम्भावना रहेकाले सचेत रहन बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह पनि गरे । ‘एटिएम ह्याक गर्न छोडिएका मालवेयर भाइरसहरु निष्क्रिय नभएकाले तत्कालै पुनः ह्याक हुने सम्भावना छ, बैंकहरु सचेत रहनु होला’, गभर्नर डा. नेपालले भने ।

उनले सूचना प्रविधिमा लगानी गरेर आफ्नो नाफा सुरक्षित राख्न पनि बैंकहरुलाई आग्रह गरे । ‘नाफा कमाएर मात्रै हुन्न, त्यसको सुरक्षा पनि गर्नु पर्छ, नाफा जोगाउने उपाय भनेकै आइटीमा यथोचित लगानी गर्नु हो’, गभर्नर नेपालले भने । उनले नेपाल भारत खुला सिमानाका कारण पनि साइबर आक्रमणको जोखिम उच्चस्तरमा रहेको बताए ।

उनले बैंक तथा वित्तिय संस्थाहरुलाई सूचना प्रबिधिमा लगानीको सिमा तोक्नेबारे सोँच बनाईरहेको पनि बताए । ‘अब बैंकहरुलाई आइटीमा गर्नुपर्ने लगानीको सिमा नै तोक्नेबारे सोँच बनाईरहेका छौं, पुरै प्रणालीलाई जोखिममा राख्न सकिन्न’, उनले भने । बैंकहरुले सामाजिक उत्तरदायित्वमा खर्च नगरेपछि त्यसको सिमा तोकिदिएको सम्झँदै गर्भनर डा. नेपाल आइटीको लगानीबारे पनि त्यसै गरि सिमा तोक्ने बताएका हुन् ।

कार्यक्रममा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले बैंकहरुले प्रबिधिमा लगानी ठुलो मात्रामा बढाउनु अत्यावश्यक भएको बताए । सुब्बाले नेपालका बैंक तथा वित्तिय संस्थाहरु साइबर आक्रमणको उच्च जोखिममा रहेकाले जुनसुकै समयमा ठुलो दुर्घटना निम्तिन सक्ने चेतावनी पनि दिए । कार्यक्रममा साइबर विज्ञहरुले कार्यपत्र प्रस्तुत गरि बैंकका आइटी विभागका कर्मचारीहरुले टिप्पणी राख्ने कार्यसूचि रहेको छ ।

Advertisement

Advertisement

Advertisement