अर्थमन्त्रीको प्रश्न– सामान विदेशी चाहिने, व्यापार घाटा बढ्यो भनेर सरकारलाई धारे हात लाउने ?

Advertisement

अर्थमन्त्रीको प्रश्न– सामान विदेशी चाहिने, फेरि व्यापार घाटा बढ्यो भनेर सरकारलाई धारे हात लाउने ?
काठमाडौं । धागो तथा कपडाहरुको वृहत प्रदर्शनी ‘यार्न एण्ड टेक्सटायल एक्स्पो’ राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । अर्थमन्त्री युवराज खतिवडाले गमलामा पानी हालेर मेलाको उद्घाटन गरे ।

यस पटकको मेलामा धागोको मात्रै नभएर गार्मेन्ट, निटिङ र होजियारीका उत्पादनहरुसहित ७४ वटा स्टलहरुमा बृहतरुपमा गरिएको छ । यसअघिको मेलामा ३६ वटा मात्रै स्टल थिए । चार दिनसम्म चल्ने यस पटकको मेलाको उद्देश्य धागो तथा कपडा उद्योगहरुको प्रवद्र्धन गर्नु, स्वदेशी कपडा प्रयोग गर्न प्रोत्साहित गर्नु रहेको छ ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले नेपालीहरुमा लगाउने, खाने, गुडाउने, खेलाउने कुरा पनि विदेशी चाहिने प्रवृत्ति बढेको बताए । उनले यही प्रवृत्तिका कारण व्यापार घाटा बढेको बताए । खतिवडाले भने– हामीमा लगाउने, खाने, गुडाउने, खेलाउने पनि महंगा विदेशी चाहिन्छ । फेरि व्यापार घाटा बढ्यो भनेर सरकारलाई धारे हात लगाउने..... हामीले आफूलाई सुधार्नुपर्यो ।

उनले खुल्ला विश्व बजारमा सामानको मूल्य बढाउने काम गर्ने काम गर्न हुँदैन भन्दै लागत घटाउने र गुणस्तर बढाएर प्रतिस्पर्धी हुन सक्नुपर्ने बताए । नेपालका व्यवसायीहरुमा उद्यमशीलता, सिर्जनशीलता र अनुसन्धान जरुरी रहेको खतिवडाको भनाई छ ।

उनले मूल्य श्रृखलामा आउन सरकारले चाँडै व्यवसायीहरुलाई आव्हान गर्ने पनि बताए । खतिवडाले हेटौडा कपडा उद्योग चाँडै नै निजी क्षेत्रलाई भाडामा दिने बताउँदै यसलाई राम्रोसँग चलाउन व्यवसायीहरुलाई आग्रह गरे । उनले भन्सार बढाउँदा मूल्य बढेर उपभोक्तालाई मार पर्छ कि भन्ने एउटा चिन्ता हुन्छ भने अर्कोतर्फ अवैध आयात बढ्छ कि भन्ने हुन्छ भने ।

नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्याणले धागो तथा कपडा उद्योग विश्वमै बढि रोजगारी र राजश्व बढाउने उद्योग भए पनि नेपालमा यस क्षेत्रलाई अघि बढाउने काम नभएको बताए । उनले सरकारले सहयोग गर्यो भने धागो तथा कपडा उद्योगले पाँच बर्षमा पाँच लाख रोजगारी सिर्जना गर्ने बताए ।

गोल्याणले नेपाली धागोको खपत नेपाली बजारमा २० प्रतिशत मात्रै रहेको र ८० प्रतिशत निर्यात भइरहेको बताउँदै निर्यातले नै नेपाली धागोहरु गुणस्तरीय रहेको पुष्टि हुन्छ भने । उनले मुख्य कुरा कपडाको ९० प्रतिशत आयात बाहिरबाट भइरहेको भन्दै यसलाई घटाउन सरकारले यस उद्योगलाई प्रोत्साहनका साथै अवैध आयातमा कडाई गर्नुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement