चितवनमा लगातार घट्दै डेङ्गुका बिरामी

Advertisement

चितवन । भदौको तेस्रो र चौथो साता अत्याधिक देखिएको डेङ्गु रोगको सङ्क्रमण घटेको छ । साउन पहिलो साताबाट क्रमशः बढ्दै गएको डेङ्गु रोगको सङ्क्रमण पछिल्लो एक साता दैनिक रुपमा घट्दै आएको चिकित्सकले जनाएका छन् ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत भदौ २२ गते एकै दिन एक हजार ९२२ जना बहिरंग सेवामा आएकामध्ये ९०० मेडिकल विभागमा रहेकामा धेरैलाई डेङ्गु सङ्क्रमण देखिएको पौडेलले बताएका छन् । सोही दिन अघिल्ला दिनहरुका ३०० बिरामीले पुनः मेडिकल बहिरङ्ग सेवामा स्वास्थ्य परीक्षण गराएका थिए ।

मेडिकल विभागका प्रमुख डा प्रकाश खतिवडाका अनुसार त्यस दिन एक हजार २३० जना बिरामी हेरिएको थियो । त्यसपछिका दिनहरुमा क्रमशः बिरामी घट्दै गएको उनले जानकारी दिए ।

बिहीबार अस्पतालको बहिरंग सेवामा एक हजार ३०० बिरामी आएकामध्ये ५०० हाराहारी मात्रै मेडिकल वार्डमा आएका थिए । तिनीहरुमध्ये ३०० जतिलाई ज्वरोको सङ्क्रमण रहेकामा केहीलाई मात्र डेङ्गुको सङ्क्रमण देखिएको डा खतिवडाले बताएका छन् ।

भदौ चौथो सातापछि क्रमशः सङ्क्रमितको सङ्ख्या घट्दै गएको केसीले बताए । पछिल्ला दिनहरुमा सङ्क्रमण भएका बिरामी घटेको भन्दै उनले वर्षा बन्द भएसँगै आइतबार र सोमबार हेरेर सङ्क्रमण दर भन्न सकिने बताए । आगामी कात्तिकसम्म डेङ्गुको सङ्क्रमण देखिने उनले जानकारी दिएका छन् ।

अस्पतालका वरिष्ठ फिजिसियन डा। भोजराज अधिकारीले भर्ना भएका १०० जना बिरामीमध्ये ६० जना ज्वरोका हुन् र तिनीहरुमध्ये ६० प्रतिशतसम्म डेङ्गुका हुने गरेकामा अहिले घटेर १५ देखि २० प्रतिशतमा झरेको बताए । यद्यपि मौसमी ज्वरो भने रहिरहेको उनको भनाइ छ ।

लगातार परेको वर्षाले तापक्रम घटेका कारण डेङ्गुको सङ्क्रमण पनि घट्ने अपेक्षा गरिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउन यता बिहीबारसम्ममा जिल्लामा बिरामीको सङ्ख्या दुई हजार ५१५ जना पुगेको छ । आठ हजार २२१ जनाको रक्त परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।

Advertisement

Advertisement

Advertisement