मुख्यमन्त्रीहरु अलमलमै, सानातिना कार्यक्रम उद्घाटन गर्दै हिँड्दै

chief-ministers-of-Nepal

काठमाडौं । मुलुक संघीयतामा गइसकेपछि खडा नयाँ संरचना प्रदेशको जग बसाउने मुख्य अभिभारा हालका मुख्यमन्त्रीहरूलाई छ । सँगै समृद्धिको जनआकांक्षा पनि छ तर प्रदेश सरकार हाँक्ने मुख्यमन्त्रीहरू यस्ता महत्त्वपूर्ण दायित्वलाई बेवास्ता गर्दै सामान्य औपचारिक कार्यक्रममा समय खेर फालिरहेका छन् । बच्चाको भातखुवाइ कार्यक्रमसम्ममा उनीहरूको उपस्थिति देखिन्छ ।

अर्कातिर प्रदेश सरकार गठन भएको डेढ वर्ष बितिसक्दा आवश्यक कानुन बनिसकेका छैनन्, बनेका कतिपय कानुन पनि सरकारले नियमावली र कार्यविधि नबनाउँदा कार्यान्वयन हुन सकेका छैनन् । बजेट कार्यान्वयनको अवस्था पनि कमजोर छ । केन्द्र सरकारले अधिकार प्रत्यायोजनमा कन्जुस्याइँ गरिरहेको प्रदेश सरकारहरूले गुनासो गरिरहेका छन् तर प्राप्त अधिकार उपयोगमा पनि उनीहरू चुकिरहेको प्रस्टै देखिन्छ । एक साता निगरानी गर्दा मुख्यमन्त्रीहरू फलदायी कार्यक्रममा सहभागी भएको पाइएन ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रायः औपचारिक कार्यक्रममै हुन्छन् । यो साता उनी प्रदेश सुरक्षा गोष्ठी, प्रदेश चलचित्र महोत्सवको तयारी छलफल, बजेट कार्यान्वयनबारे सांसदसँग छलफल, बालबालिकासँग अन्तरसंवाद, जनतासँग मुख्यमन्त्री कार्यक्रम, प्रदेश योजना आयोगको पूर्ण बैठकमा सहभागी भए । प्रदेशस्तरीय नेपाल मानव विकास प्रतिवेदन २०१९ को अवधारणा पत्रमाथि छलफलमा पनि थिए । प्रदेश १ को विकासमा अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका विषयक बहसमा उनी सहभागी भए । दुई दिन भने मन्त्रिपरिषद्को बैठकमा बिताए । मुख्यमन्त्री राई स्वयंले सामान्य र औपचारिक काममा बढी समय दिनुपरेको अनुभूति गरेका छन् । ‘नेपाली समाजमा नेता भइसकेपछि सबै थोक सुन्नुपर्ने र गरिदिनुपर्ने संस्कृति छ,’ उनले भने, ‘सामान्य जागिर लगाइदिने, वैदेशिक रोजगारीमा पठाइदिने, झैझगडा, खानेपानी, सडक लगायतका योजना, अनेक मुद्दा मामिला र झमेला फर्स्याइदिनुपर्ने भएपछि कसरी प्रदेशको विकास र समृद्धिका लागि काम गर्न सकिन्छ ?’

उनी समाजामा पास्नीदेखि अनेक सामान्य कार्यक्रममा पुग्दा मात्रै राम्रो र मान्य हुने संस्कार विकास भएको बताउँछन् । ‘सामाजिक काममै अत्यधिक समय खर्चिनुपर्छ,’ राईले भने, ‘यो संस्कृतिमा परिवर्तन गर्नुपर्छ ।’ कार्यक्रममा नपुगिदिँदा मान्छे रिसाउने गरेको उनको अनुभव छ । सामान्य कार्यक्रममा बोलाएर समय खर्च गराउनेहरूले नै टिप्पणी र आलोचना गर्ने संस्कृति रहेको पनि उनले बताए । ‘जनताले जुन कामका लागि निर्वाचित गरेर पठाएका छन्, त्यसका लागि असल नीति, योजना र कार्यक्रम निर्माण र बजेटको प्रभावकारी कार्यान्वयनमा सबैले सहयोग पुर्‍याउनु आवश्यक छ,’ उनले भने ।

मुख्यमन्त्री राई बिहान ६ बजे उठ्छन् । डेढ घण्टा शारीरिक व्यायाम गर्छन् । त्यसपछि एक घण्टा पत्रपत्रिका, अनलाइन, टेलिभिजन हेर्छन् र दिनभरको कार्यसूचीअनुसार बाँकी तयारी गर्छन् । ‘राति ९ बजेपछि बिहान ९ बजेसम्म म प्रायः फोन चलाउँदिनँ । त्यो समय आफ्नो व्यक्तिगत कामका लागि उपयोग गर्छु ।’ मुख्यमन्त्री राईले यो साता प्रदेश सरकारका कार्यक्रमहरूको अत्यधिक चाप हुँदाहुँदै पनि ५ वटा औपचारिक कार्यक्रममा जानुपरेको सम्झे । विराटनगर, सुनसरी र झापामा भएका औपचारिक कार्यक्रममा गए पनि उनी दिनमा एकपटक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्ने गरेको देखियो ।

‘उपलब्धिविहीन’ काममा व्यस्त
सांसद विकास कोषकै योजनामा प्रदेश मन्त्रालयका कर्मचारीले कमिसन मागेको आरोप लगाउँदै भदौ २२ गते प्रदेश २ को प्रदेशसभा बैठकमा सांसदहरूले मुख्यमन्त्री लालबाबु राउतको जवाफ मागे । सभामुख सरोज यादवले सरकारलाई रुलिङ गरे । प्रदेशसभाको भदौ २७ गतेको बैठकमा पनि मुख्यमन्त्री राउत अनुपस्थित भएपछि सांसदहरूले संसद् अवरुद्ध गरे । यसमा सत्तापक्ष र विपक्षी सांसद एक मत थिए । मुख्यमन्त्री राउत भदौ २९ गते बल्ल प्रदेशसभा बैठकमा उपस्थित भए । प्रदेशसभा बैठक छलेर उनी त्यो साताभरि ‘उपलब्धिहीन’ औपचारिक कार्यक्रममा सहभागी भएका थिए । भदौ २७ मा उनी निजी संस्थाले वीरगन्जमा खोलेको रोजगार पसलको रिबन काट्न पुगेका थिए ।

प्रदेश २ सरकारको नेतृत्व सम्हालेयता मुख्यमन्त्री राउत ८ वटै जिल्लाका सयौं कार्यक्रममा सहभागी भएका छन् । प्रदेश मुकाम जनकपुरमा हुने प्रायःजसो कार्यक्रममा मुख्यमन्त्री राउत उपस्थित हुन्छन् ।

मुख्यमन्त्री राउतको सचिवालय पनि कमजोर देखिन्छ । मुख्यमन्त्री राउतको एक साताको कार्यक्रम तालिका सचिवालयले राखेको पाइएन । मुख्यमन्त्री राउत मन्त्रालयमा भएका बेला सचिवालयका सबै कर्मचारी उपस्थित रहन्छन् । उनी बाहिर हुँदा सचिवालय सुनसान हुन्छ । ‘मुख्यमन्त्रीको कार्यक्रम तालिका हामीलाई खासै जानकारी हुन्न,’ सचिवालयका एक कर्मचारीले भने, ‘उहाँ कार्यकक्ष वा निवासबाट निस्केपछि बल्ल थाहा पाउँछौं ।

प्रदेशसभाको पछिल्लो बैठकमा मुख्यमन्त्री राउत प्राथमिकता नतोकेर जस्तोसुकै कार्यक्रममा पुग्ने गरेको भन्दै आलोचना भएको छ । सत्तापक्ष र विपक्षी सांसदहरूले महत्त्वपूर्ण काम थाती राखेर मुख्यमन्त्री राउत साइकल बाँड्न आफैं स्कुल–स्कुल डुल्नु राम्रो नभएको टिप्पणी गरे ।

मुख्यमन्त्री राउत भदौ ३० गते धनुषा जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा उपस्थित भए । त्यही दिन धनुषाको मुखियापट्टी मुसहरनियाको देवनारायण माविमा आयोजित साइकल वितरण कार्यक्रममा पुगे । भदौ ३१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित प्रदेश २ को तथ्यांकसहितको पुस्तक विमोचन कार्यक्रममा सहभागी भएर महोत्तरीको जलेश्वरमा खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा सहभागी भए ।

गैससको कार्यक्रममा नगएको दाबी
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल केही समयदेखि गैरसरकारी संस्थाका उद्घाटन, शिलान्यासलगायतका कार्यक्रममा जान छाडेका छन् । प्रदेश सरकारका कार्यक्रमलाई महत्त्व दिने गरेको उनले दाबी गरे । ‘सुरु सुरुमा सामान्य कार्यक्रमहरूमा पनि गइयो,’ मुख्यमन्त्री पौडेलले भने, ‘अहिले समयको चापले महत्त्वपूर्ण कार्यक्रममा मात्रै जाने गरेको छु ।’ मुख्यमन्त्री पौडेल स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया गर्छन् । ‘सुरु–सुरुमा एक दिनमा ७ देखि १० वटा कार्यक्रमसम्म भ्याएँ, अहिले त्यस्तो छैन,’ उनले भने । संघीय राजधानी पनि प्रदेशभित्र परेकाले कम्तीमा सातामा एकपटक काठमाडौं पुग्ने गरेका छन् । ‘काठमाडौंमा कार्यक्रम परिरहन्छ, जानै पर्‍यो,’ उनले भने ।

मुख्यमन्त्री पौडेल शनिबार अर्थात् भदौ २८ गते चितवनको भरतपुरमा थिए । त्यहाँ उनले सप्तगण्डकी क्याम्पसको रेडियो र पुस्तकालय उद्घाटन गरे । आइतबार मकवानपुरस्थित मनहरी गाउँपालिकाका किसानको माछा पोखरी, कृषि फार्म अवलोकन गरे । सोमबार काठमाडौंमा चलचित्र विकास बोर्डसँग दोलखाको फिल्मी सिटीबारे छलफल गरे । मंगलबार भक्तपुर क्यान्सर अस्पतालको सञ्चालक संस्था नेपाल क्यान्सर रिलिफ सोसाइटीको कार्यक्रम सहभागी भए । त्यही दिन प्रधानमन्त्रीलाई भेटे । बुधबार हेटौंडा फर्केका उनी बिहीबार संविधान दिवसको तयारीका विषयमा उपसमितिहरूको संयुक्त बैठक राखे । शुक्रबार संविधान दिवसको कार्यक्रममा सहभागी भए । उनी मञ्चमा मुख्य अतिथि र सभापति मात्र बस्ने व्यवस्था गराउँछन् । विदेशबाट आयात गरेको फूलको माला लगाउने गर्दैनन् । मुलुकभित्रै तयार कपडाको खादा लगाउँछन् ।

मन्त्रीसँग भनाभन
गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको अधिकांश समय शिलान्यास, उद्घाटनलगायत औपचारिक कार्यक्रममा बढी व्यस्त भएको भन्दै आलोचना हुने गरेको छ । यही आलोचनाका कारण केही महिनाअघि बसेको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीलाई भनेका थिए, ‘यस्ता औपचारिक कार्यक्रममा बढी जानु भएन ।’ त्यसको जवाफ दिँदै एक मन्त्रीले भने, ‘तपाईं पनि जानु भएन । तपाईं नगए हामी पनि जाँदैनौं ।’

मुख्यमन्त्री गुरुङ भने औपचारिक कार्यक्रममै बढी देखिने गर्छन् । कहिलेकाहीँ दिनमै सात आठ वटा औपचारिक कार्यक्रममा उनी सहभागी हुन्छन् । उनी यो साता (शनिबारदेखि शुक्रबारसम्म) १३ वटा औपचारिक कार्यक्रममा सहभागी भए । अधिकांश ‘झिनामसिना’ थिए । ‘संघसंस्था, व्यक्तिविशेषले बोलाए पनि मुख्यमन्त्री जानुहुन्छ,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै एक कर्मचारीले भने, ‘त्यस्ता कार्यक्रममा नगए पनि हुने हो ।’

मुख्यमन्त्री गुरुङ शनिबार (भदौ २८) गुरुङ समुदायको एक कार्यक्रममा सहभागी भए । सोमबार सहारा क्लब पोखराको वार्षिकोत्सव तथा साधारणसभामा गए । त्यही दिन नेकपा संसदीय दलको बैठकमा पुगे । मंगलबार जापानी कन्सल्टेन्टको उपस्थितिमा नेपालको विकासमा विदेशी लगानी र टेक्नोलोजीको सम्भाव्यता सम्बन्धमा भएको छलफलमा उपस्थित भए । सुदूरपश्चिम प्रदेशबाट आएको सांसद टोलीसँग भेटघाट पनि भ्याऐ । बुधबार बिहान संविधान दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा सहभागी भए । त्यसपछि ब्रिटिस गोर्खा वेलफेयरको कार्यक्रममा गए । सामाजिक विकास मन्त्रालयले डेंगु रोग नियन्त्रणका लागि गरेको छलफलमा सहभागी बने । बिहीबार बिहान भलिबल प्रतियोगिताको समापनमा गए । शुक्रबार संविधान दिवसका कार्यक्रममा सरिक झए । जनआन्दोलन ०६२र६३ का घाइतेबीच राखिएको अन्तर्त्रियामा प्रमुख अतिथि बने । मुख्यमन्त्रीका निजी सचिव डिल्लीरमण सिग्देलले गुरुङ दिनमा प्रायः ७र८ वटा कार्यक्रममा पुग्ने गरेको बताए । ‘कहिले कार्यक्रम नै हुँदैनन्,’ सिग्देलले भने, ‘कहिलेकाहीँ कार्यक्रम नै कार्यक्रम हुन्छन् । खाली हुँदा सबै मन्त्री र सचिव बोलाएर छलफल गर्नु हुन्छ ।’

मुख्यमन्त्री विभिन्न योजना, कुलकुलेसा, पाटीपौवा, धारो, चौतारी, बाटोघाटोलगायतका उद्घाटन र शिलान्यासमा पनि पुग्ने गरेका छन् । सरकारले दिएका साना योजनाका अनुदानको कार्यक्रममा समेत मुख्यमन्त्री गुरुङ आफैं पुग्छन् । ‘जाने भनिएका कार्यक्रममा सहभागी हुन भ्याउनु हुन्न । नजाने वा नसोचेका कार्यक्रममा भने पुग्नुपर्ने हुन्छ,’ मुख्यमन्त्रीका स्वकीय सचिव सूर्य गुरुङले भने । बोलाएको ठाउँ नजाँदा मतदाता, पार्टीका कार्यकर्ता तथा अन्य सर्वसाधारणसमेत रिसाउने भएकाले गुरुङ बोलाएको ठाउँ पुग्ने गरेका हुन् । ‘कार्यक्रममा बोलाउँछन् । मुख्यमन्त्रीले नाइँ भन्न पनि भएन । सबै ठाउँमा पुग्नुपर्‍यो नै,’ स्वकीय सचिव गुरुङले भने ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्मा भने नेकपा केन्द्रीय नेता पनि भएकाले मुख्मन्त्री गुरुङ सत्ताको दुरुपयोग गर्दै संगठन विस्तारमा लागेको आरोप लगाउँछन् । ‘मुख्यमन्त्री कार्यालयबाटै मन्त्री र कर्मचारीको परिचालन ठीक होइन,’ उनले भने ।

भेटघाटै बढी
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पछिल्लो एक साता प्रदेश समृद्धिका योजनामा आधारित भेटघाट र छलफलमा बित्यो । भदौ २० गते काठमाडौं गएका मुख्यमन्त्री शाही एक साता बसे । त्यहाँ चिनियाँ दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी भए । सम्मेलनमा उनले कर्णाली सरकारले लगानीको सुरक्षा गर्ने विश्वास दिलाउँदै स्रोत परिचालनका लागि आग्रह गरे । काठमाडौंमै रहेका बेला नेपाल उद्योग परिसंघद्वारा आयोजित पूर्वाधार सम्मेलनमा सहभागी भए । उनले कर्णालीमा लगानीका लागि सबैखाले कानुनी जटिलता हटाउने विश्वास दिलाए । ‘यही बीचमा मुख्यमन्त्रीले निजामती सेवाको नीतिगत तहमा कार्यरत कर्णाली घर रहेका कर्मचारीसँग प्रदेशको विकासबारे छलफल गर्नुभयो,’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले भने, ‘हरेक भेटघाट कुनै न कुनै रूपमा अर्थपूर्ण हुने गर्छन् ।’

काठमाडौं बसाइका क्रममा उनले कर्णाली निवासी पत्रकारसँग पनि भेटघाट गरे । उनले सुर्खेत विमानस्थल विस्तार र प्रादेशिक विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र त्यहाँ रहेका इन्जिनियरसँग पनि भेटघाट गरे । गत शुक्रबार प्रदेशमा फर्किएपछि बिहानैदेखि निवासमा हुने भेटघाटदेखि कार्यालयको काम र सार्वजनिक कार्यक्रममा व्यस्त रहे । काठमाडौंबाट सुर्खेत फर्किएकै दिन मुख्यमन्त्री शाही कर्णाली प्रदेश अस्पतालको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सहभागी भए । त्यसै दिन ‘युद्धपत्रकार’ तथा प्रगतिशील साहित्यकार देवकी तिमिल्सिना ‘समीक्षा’ को ‘योद्धाको सपना’ नामक कवितासंग्रह विमोचनमा सहभागी भए । त्यसपछि भौतिक फूर्वाधार विकास मन्त्रालय र मातहतका दसवटै जिल्ला कार्यालयको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजना तयारीसम्बन्धी अन्तर्त्रियामा सहभागी भए ।

त्यसपछिका दुई दिन मुख्यमन्त्री कार्यालयका कर्मचारीसँग बैठक र अन्य राजनीतिक भेटघाटमा बिताए । सोमबार मुख्यमन्त्री शाहीले प्रदेश राजधानी वीरेन्द्रनगरको सडक, खानेपानी र विद्युत्को समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, निर्माणकर्ता तथा अन्य सरोकारवालासँग छलफल गरे । मंगलबार प्रदेशसभाको बैठकमा सहभागी भए । बैठकमा भनाइ भने राखेनन् ।

बुधबार उनले प्रदेश सरकारको ‘विपद् जोखिमविरुद्ध सम्पूर्ण कर्णालीवासीका सामूहिक दुर्घटना बिमा कार्यक्रम’ शुभारम्भ गरे । बिहीबार संविधान दिवस मूल समारोह समितिद्वारा आयोजित जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीबीच मैत्रीपूर्ण फुटबलमा सहभागी थिए । शुक्रबार संविधान दिवसका अवसरमा आयोजित र्‍याली र समारोहमा उपस्थित भए ।

उद्घाटनमै व्यस्त
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारको कामकारबाही प्रभावकारी बनाउन कमै समय दिएको पाइएको छ । उनी यो साता बैठक, जिल्ला भ्रमण, उद्घाटनलगायतका कार्यक्रममा सहभागी भए । आइतबार उनले कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर कैलालीको त्रिनगर र कञ्चनपुरको सीमानाका गड्डाचौकीमा निगरानी बढाउन र दसैंतिहार मनाउन भारतबाट घर फर्कने यात्रुलाई सहज बनाउन छलफल गरे । सोमबार डडेलधुरामा आयोजित नगरपालिका संघको अधिवेशन उद्घाटन गर्न पुगे । त्यसै दिन नगरपालिका संघका प्रतिनिधिहरूसँग भेटघाट गरेर बझाङ लागे । मंगलबार उनले बझाङ जिल्ला समन्वय समितिद्वारा आयोजित जिल्लासभा तथा समीक्षा कार्यक्रम उद्घाटन गरे । त्यसपछि स्थानीय तहका प्रतिनिधिहरूसँग छलफल गरे ।

बुधबार उनले धनगढी फर्कने क्रममा बझाङको बुंगलमा निजी क्षेत्रबाट निर्माणाधीन कालंगा जलविद्युत् आयोजनाको अवलोकन गरे । बिहीबार डेंगु र स्क्रब टाइफस रोग नियन्त्रण गर्न गरिएका प्रयासबारे सामाजिक विकासमन्त्रीसँग छलफल गरे । शुक्रबार संविधान दिवसका कार्यक्रममा सहभागी भए ।

कान्तिपुर दैनिकबाट ।