दश दिनदेखि गोरखा सडकखण्ड अवरुद्ध, सडक भासिएर ५० मिटर तल पुग्यो

Advertisement

गोरखा । गोरखाको लुँइटेल भञ्जाङ–आँपपीपल–हर्मी–भच्चेक सडकखण्ड १० दिनदेखि अवरुद्ध भएको छ । लगातार परेको पानीका कारण सडक भासिँदा उक्त सडकखण्डमा यातायात सञ्चालन हुन नसकेको हो । जिल्लाको पालुङटार नगरपालिका–३ स्थित बोहोरा गाउँमा पर्ने खण्डमा सडक भासिएर ५० मिटर तल पुगेको छ ।

सडक भासिएपछि भदौ २६ गतेदेखि यो सडकखण्डमा सवारीसाधन पूर्णरुपमा ठप्प भएको छ”, स्थानीय रमित ढकालले भने, “सडक मर्मतको काम तीव्र गति हुन नसक्दा यात्रुले हैरानी खेप्नुपरेको छ ।” भूकम्प सहायता आयोजना कार्यक्रमअन्तर्गत एशियाली विकास बैंक (एडिबी)को सहयोगमा तीन महीनाअघि मात्र उक्त सडकखण्ड कालोपत्रको काम सम्पन्न भएको थियो ।

लामो समयसम्म सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै आवातजावत गर्ने यात्रु हिँडेरै गन्तव्यसम्म पुग्नपर्ने बाध्यता रहेको ढकालले बताए । “मर्मतको काम अत्यन्तै सुस्त गतिमा अघि बढेको छ, दशैँको मुखमा सडक अवरुद्ध हुँदा व्यवसायीलाई समेत समस्या परेको छ”, उनले भने ।

सडक मर्मतका लागि पालुङ्टार नगरपालिका, सडकको निर्माणकर्ता र सरोकारवाला निकायले चासो नदिएको स्थानीयवासीले आरोप लगाएका छन् । गएको भदौ २५ गते राति परेको भारी वर्षाका कारण भर्खरै गरेको कालोपत्र सडक भासिँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले जानकारी दिए ।

पालुङ्टार नगरपालिकाका इञ्जिनीयर अनुप देवकोटाले भने लगातारको झरीका कारण सडक मर्मत तत्काल हुन नसकेको जानकारी दिए । अब साताभित्र भत्किएको सडक मर्मत गरी सञ्चालन गर्ने उनले दाबीसमेत गरे । “अहिले ग्याबिन भर्ने काम भइरहेको छ”, इञ्जिनीयर देवकोटाले भन्नुभयो । उनले दशैं अघि काम सम्पन्न गर्ने गरी मर्मतको काम शुरु गरिएको बताए। उक्त सडकको तार्के डाँडा खण्डमा पनि ठूलो पहिरो जाँदा गएको साउनमा समेत एक हप्ताभन्दा बढी सवारी आवागमन रोकिएको थियो ।

भूकम्पीय आपत्कालीन सहायता परियोजनाअन्तर्गत एशियाली विकास बैंकको ७० करोड र स्वीस सरकारको प्राविधिक सहयोगमा उक्त सडकखण्डमा पर्ने ३० किलोमिटर सडक कालोपत्र भएको थियो तर सडक कालोपत्र भएको भए पनि पटकपटक सडक अवरुद्ध हुँदा यात्रुले भने हैरानी खेप्नुपरेको छ । सडक अवरुद्ध हुँदा त्यस क्षेत्र भएर भच्चेक लगायतका ठाउँमा आवतजावत गर्ने यात्रुलाई भने समस्या भएको छ ।

Advertisement

Advertisement

Advertisement