पाँचकाटिया-बारेकोट हुँदै जुम्ला सडकको निर्माण शुरु

Advertisement

जाजरकोट । खलङ्गा–पाँचकाटिया सडकको ट्याक खुला भएको करीब नौ वर्षपछि पाँचकाटिया फूलचाउली, कार्याल्दापाखा, बारेकोट र चाँखुरे हुँदै जुम्ला जोड्ने सडक निर्माण गरिने भएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्र धरालाले अबको दुई महीनाभित्र सडक निर्माण शुरु गरिने बताएका छन् ।

सडक निर्माण नहुँदा स्थानीयवासी आक्रोशित थिए । जुम्ला जोड्ने मुख्य सडक भएर पनि सरकारी बेवास्थाका कारण यहाँका बासिन्दाले सडक उपभोग गर्न पाएका थिएनन् । जाजरकोट सदरमुकामदेखि पाँचकाटीया हुँदै बारेकोटबाट जुम्ला जोड्ने छोटो दूरीको यो सडक भएकाले यसको निर्माण हुन लागेकामा स्थानीयवासी खुशी भएका छन् ।

बोलपत्र आह्वान भएसँगै सडक निर्माणको बाटो खुले पनि सडक निर्माणका लागि स्थानीयवासीले सहयोग गर्नुपर्ने कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए । उनले भने, “जाजरकोट जिल्लाभर प्रदेश सरकारका सडक हेर्ने गरी मङ्गलबार सदरमुकाममा कार्यालय खुल्दैछ, तिब्र गतिका साथ काम गराइन्छ, त्यसैले सर्वसाधारणले पनि सहयोग गरेका छन् ।

पहिलो चरणमा साढे तीन करोडभन्दा बढी बजेट खर्च हुने जानकारी दिँदै प्रदेशसभा सदस्य सिंहले थप्नुभयो, “अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षको बजेट एकैपटक यो सडकमा हालेर सडक निर्माण तिहारलगत्तै गरिनेछ, १६ किलोमिटरभन्दा बढी सडक यो आर्थिक वर्षमा निर्माण हुनेछ । सो सडक निर्माण भएपछि आन्तरिक सडक निर्माणको बाटो पनि खुल्नेछ । अहिले घोडेटो बाटोमा घोडा र खच्चडले दैनिक ढुवानी गर्दै आएका छन् । भेरी नगरपालिका, कुशेगाउँपालिका, बारेकोट गाउँपालिका र नलगाड नगरपालिकालाई समेत यो सडकले सहयोग पुयाउनेछ । लिम्सास्थित वीरेन्द्र ऐश्वर्य माविका प्रचार्य गोरखबहादुर सिंहले बारेकोटका बासिन्दाको भाग्यसँग जोडिएको यो सडक निर्माणले बारेकोटको पर्यटन, कृषि तथा जडीबुटीमा समेत फाइदा हुनाका साथै जुम्लासँग पनि सिधा सम्पर्क हुने बताए ।

उक्त सडक निर्माण पछि बारेकोट गाउँपालिका पनि सडक सञ्जालसँग जोडिने र चालु आर्थिक वर्षमै जाजरकोट–डोल्पा सडकखण्डको आठबिसकोट नगरपालिकाको घेत्मा खोलामा पक्की पुल निर्माण हुने भएको छ । त्यस्तै तल्लो डोल्पाको त्रिवेणी नर्कु, सर्मी, भालुलेक जुम्ला सडक रु चार करोड ९० लाखमा निर्माणका लागि बोलपत्र स्विकृत गरिएको छ । जाजरकोट–डोल्पा सडकखण्डभित्र पर्ने तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाभित्र पर्ने यो सडक पनि तिहारलगत्तै निर्माण गरिने भएको छ ।

जाजरकोट हुँदै जाने यी सबै सडक निर्माण भएपछि आर्थिक विकासका लागि मार्ग प्रशस्त हुने र बीच भागमा पर्ने जाजरकोटले यसको फाइदा लिनुपर्ने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । त्यस्तै जाजरकोट सदरमुकामदेखि रिम्ना हुँदै दल्लीसम्मको सडक स्तरोन्नतिका लागि गत वर्ष भएको बोलपत्र (ठेक्का) रद्द भए पनि यो वर्ष पूर्ण गरिने चौरजहारी सडक विभागका प्रमुख नरेन्द्र भट्टले बताए ।का छन् । यो सडक स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएकाले स्थानीयवासीले जग्गा दिन तयार भए यसै वर्ष बोलपत्र आह्वान गरेर काम शुरु गरिने उनको भनाइ थियो ।

स्थानीयवासीलाई जग्गा दिनका लागि मन्जुर गराउन आठबिसकोट नगरपालिका र भेरी नगरपालिकाले प्रतिबद्धता जनाएकाले चालु आवमै बोलपत्र आह्वान हुने सम्भावना बढेको प्रमुख भटृले बताए ।

Advertisement

Advertisement

Advertisement