नेपाल–भारत सीमा जोड्ने पाँच नाकामा भन्सार कार्यालय स्थापना नहुँदा राजश्व छली बढ्यो

दार्चुला । दार्चुलामा नेपाल–भारत सीमा जोड्ने छ वटा नाका सञ्चालनमा छन् । तर, हालसम्म पाँच वटा नाकामा भन्सार कार्यालय स्थापना गरिएको छैन । छोटी भन्सार कार्यालय स्थापनानहुँदा जिल्लाका पाँच वटा नाकाबाट राजस्व छली भइरहेको छ ।

सशस्त्र द्वन्द्वकाल अघि जिल्लाका चार ठाउँमा छोटी भन्सार कार्यालय स्थापना गरिएका थिए । द्वन्द्वको समयमा सुरक्षाका कारण देखाउँदै विस्थापित भएका भन्सार कार्यालय अहिलेसम्म पुनःस्थापना हुन नसक्दा नाका खुला छन् ।

द्वन्द्वकालअघिदेखि नै सीमा नाका जोडिएको उत्तरी नाकाको सीतापुल, दक्षिणी क्षेत्रमा रहेका दत्तु र जौलजीविमा छोटी भन्सार कार्यालय राखिएको थियो । हाल यी तीन नाकामा भन्सार छैन । अहिले सदरमुकाम खलङ्गामा मात्रै छोटी भन्सार कार्यालय छ ।

पछिल्लो समय तुइन विस्थापन कार्यक्रमअन्तर्गत व्यास गाउँपालिकाको वडा नं ५ तिगरम र लेकम गाउँपालिका– ३ लालीमा दुई वटा झोलुङ्गे पुल थपिएका छन् । यो सँगै जिल्लामा छ वटा सीमा नाका वैधानिक छ ।

थप तीन क्षेत्रमा तुइन विस्थापन गर्दै झोलुङ्गे पुल लगाउने तयारी छ । तर यी क्षेत्रमा झोलुङ्गे पुलसँगै भन्सार कार्यालय नहुँदा यस क्षेत्रमा खुलेआमरुपमा सामान ओसारपसार हुनेक्रम बढेको छ ।

सरकारले भन्सारमार्फत राजस्व बढाउने नीति लिए पनि दार्चुलाबाट विस्थापित भन्सार पुनःस्थापना गर्न पहल गरेको छैन । त्रिदेशीय सीमामा रहेको सीतापुल तिङ्कर छोटी भन्सार कार्यालय विसं २०५७ मा विस्थापित भएको हो ।

भन्सार विस्थापित भएको दशक बढी भइसकेको छ । “विस्थापित भन्सार पुनःस्थापना गर्न मन्त्रालयले नै निर्णय गर्नुपर्ने हुन्छ”, छोटी भन्सार कार्यालय दार्चुलाका निमित्त प्रमुख नरसिंह बडालले भने ।

त्रिदेशीय सीमा तिङ्करसँग भारतीय बजार र चीनको स्वसाशीत क्षेत्र तिब्बत सीमा हो । तिब्बतबाट निर्यात आयात हुने वस्तुको भन्सार उठाउँन नसक्दा वर्षेनी राज्यले राजस्व गुमाउनुपरेको छ ।

राज्यको नियमित उपस्थितिका रुपमा नेपाल प्रहरी मात्र सीमा नाकामा छ । सीमित स्रोत साधनका बीच नेपाल प्रहरी बसेपनि भन्सार राजस्व सङ्कलन गर्न कर्मचारी नहुँदा राजस्व चुहावट हुने गरेको छ ।

हालसम्म पुनःस्थापना भएका भन्सार स्थापना गर्न र नयाँ भन्सार थप्ने कुनै गृहकार्य नभएको छोटी भन्सार कार्यालय दार्चुलाका नायब सुब्बा दिल्लीराज सुवेदीले बताए । उनले भने, “माथिबाटै निर्णय नभएपछि पुनःस्थापना हुने कुरा भएन ।”

भन्सार स्थापनाका लागि भारत सरकारले समेत पहलकदमी नगर्दा नेपालतिरका भन्सार पुनःस्थापना हुन नसकेको सुवेदीले बताएका छन् । “दुवै देशले भन्सार राख्नुपर्छ, एकतर्फी भन्सार कार्यालय राखेर पनि हुँदैन”, सुवेदीले भने ।

नेपाल–भारत सीमा नाका सीतापुलमा छोटी भन्सार नहुँदा भारतबाट आएका शिलबन्दी सामान विनाजाँच सिधै चीनको तिब्बत जाने गरेका छन् । घोडा खच्चरमा उत्तैबाट ‘लोड’ गरी ल्याउने र विनाजाँच सिधै तिब्बती नाका सामान निर्यात हुने गरेको स्थानीयको भनाइ छ ।

जिल्लाको मुख्य दोस्रो नाका सीतापुलबाट वर्षमा चैतदेखि मङ्सिर महिनासम्म विभिन्न किसिमका सामग्री आयातनिर्यात गर्न सकिन्छ । “विसं ०५७ सालअघिसम्म नेपालकै बाटो भएर तिब्बतका सामग्री सदरमुकाम खलङ्गा आउथ्यो”, व्यासका स्थानीय लोकराज भट्टले भने, “अहिले सो क्षेत्रमा जान नेपालको बाटो मर्मत हुन नसक्दा जोखिमपूर्ण छ ।”

पाँच वर्षयता तिङ्कर नाका भएर वैधानिक रुपमा सामान नआएको छोटी भन्सार कार्यालय दार्चुलाले जनाएको छ । “भन्सार कार्यालय विस्थापित भएपछि केही समय खलङ्गाबाटै राजस्व काटिएको हो”, भन्सार कार्यालयका एक कर्मचारीले भने, “पछिल्लो समय यो नाकाबाट सामान आए नआएको जानकारी हुँदैन ।”

अहिले भारत र चीनबीच दोक्ला नाका सञ्चालनको सहमतिपछि चीनको सामान सिधै भारत निकासी हुने गरेको हुनसक्ने भन्सारका कर्मचारी बताउँछन् । खलङ्गामा रहेको भन्सार नाकाले मात्रै अहिले राजस्व उठाउने गरेको छ ।

सदरमुकाम खलङ्गाको मूल भन्सार कार्यालय बैतडीका झुलाघाटमा रहेको छ । दत्तु जोलजीवी, लाली र तिङ्करमा भन्सार कार्यालय नहुँदा यहाँबाट सामान आयातनिर्यात गर्ने व्यापारी तथा स्थानीयले बेलाबेलामा समस्या भोग्नुपरेको स्थानीय गोपालसिंह विष्टले बताएका छन् । दैनिक सयौँको सङ्ख्यामा मानिसको यी नाकामार्फत आवतजावत हुन्छ । अधिकांश सामान नेपाली बजारमा भारतबाटै आउँछ । तर, भन्सार नहुँदा राजस्व चुहावट हुने गरेको छ ।