जेनेस सोलुसन र यूकेएडबीच ‘रोजगारीका लागि सीप कार्यक्रम’का लागि सहकार्य

Advertisement

काठमाडौं । क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेभ÷सफ्टवेयर विकाससम्बन्धी विशिष्टिकृत कम्पनी जेनेस सोलुसनले सन् २०१९ अगष्टदेखि युकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप)सँग सहकार्य आरम्भ गरेको छ ।

जेनेस सोलुसनका निर्देशक निरञ्जन उदास र युकेएड सीपका टिम लिडर बलजीत बोहराले जनकपुरमा आयोजित कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र डीएफआईडी नेपालकी प्रमुख लिजा होनानको उपस्थितिमा सहकार्यसम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरे ।

यूकेएड सीपसँग साझेदारीपत्रमा हस्ताक्षरपछि जेनेसले विश्वव्यापी मान्यताप्राप्त क्लाउड कम्प्युटिङ प्रशिक्षण र प्रमाणिकरणसम्मको पहुँच प्रदान गर्ने तथा त्यसलाई अंगिकार गरि नेपालमा शैक्षिक संस्थाहरूको क्षमता अभिवृद्धिका साथसाथै नेपाल र विश्वभरि रोजगारी उपलब्ध गराउने गरि जेनेस क्लाउड एकेडेमी (जीसीए) नामको विशेष परियोजना सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

जेनेसले अब नेपालमा उद्योगमुखी क्लाउड कम्प्युटिङ प्रशिक्षणहरू प्रदान गर्न र अमेजनको जब पोर्टलमार्फत विश्वव्यापी रोजगारीमा पहुँचका लागि लोकप्रिय अमेजन वेब सर्भिस (एडब्लूएस) एजुकेट प्रोग्राम सञ्चालन गर्नेछ ।

यूकेएड सीपले केन्द्र, प्रादेशिक र स्थानीय तहका सम्बन्धित सरकारी निकायहरू, निजी क्षेत्र, दातृ निकायहरू र अन्य सरोकारवालाहरूसँग नजिकको सहकार्य सुनिश्चित गर्दै परियोजनामा सहलगानी गर्नेछ ।

परियोजनाको पहिलो वर्षमा जेनेसले नेपालका विभिन्न सहरहरूका (प्रदेश नं २ र ५ मा केन्द्रित रहँदै) २५ भन्दा बढी शैक्षिक प्रतिष्ठानहरूसँग रणनीतिक सहकार्य विकसित गर्नेछ । यसअन्तर्गत विद्यार्थी र शिक्षकहरूलाई उदाउँदा क्लाउड कम्प्युटिङका विषयहरूमा पहुँचका उपकरण (एक्सेस टुल्स), पाठ्यकक्रम र प्रमाणीकरणमा मार्ग प्रशस्त गर्नका लागि एडब्लूएस एजुकेट प्रोग्राम, माइक्रोसफ्ट लर्न प्रोग्रामजस्ता अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त तालिमका विधिहरू (मोड्युल) लाई अंगीकार गर्न प्रोत्साहित गरिनेछ ।
यो कार्यक्रमलाई एडब्लूएस एजुकेट, माइक्रोसफ्ट एजुकेसन, गुगल एजुकेसन, अलिबाबा क्लाउड एकेडेमी, सिस्को नेटवर्किङ एकेडेमी र एट्लासियन युनिभर्सिटीको सहयोग रहेको जनाइएको छ ।

जेनेसले अनलाइन प्रशिक्षण र व्यक्तिगत अध्यापनको मिश्रित विधि उपयोग गर्दै, प्रशिक्षक प्रशिक्षणका माध्यमबाट शैक्षिक प्रतिष्ठानहरूको दिगोरूपमा क्षमता र स्तरोन्नति गर्दै यस्ता कार्यका लागि तयार जनशक्ति निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ । यसबाट दीक्षित भएर निस्कँदा विद्यार्थीहरु उद्योगमा प्रभावकारी रूपमा प्रवेश गर्दै उत्पादकत्व आवश्यक्तालाई पुरा गर्न सक्षम हुने जनाइएको छ ।

सीपमूलक प्रशिक्षणमा एप्लिकेसन डेभलपर, क्लाउड सपोर्ट इन्जिनियर, क्याउड सपोर्ट एसोसियट, साइबर सेक्युरिटी स्पेशलिस्ट र डाटा इन्टिग्रेसन स्पेशलिस्ट, आर्टिफिसियल इन्टिेलिजेन्स एन्ड मेसिन लर्निङ डेभलपर, आईओटी डेभलपर, डिजिटल मार्केटर, बिजनेस एनालिस्ट्स आदि पदीय भूमिकालाई समेटिन्छ ।
प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई विश्वबजारमा उपलब्ध स्वतन्त्र र अनलाइन जागिर प्रदान गर्ने चार हजारभन्दा बढी रोजगारदातासम्मको पहुँच हुने गरि एडब्लूएस एजुकेट्सको जब पोर्टलसँग आवद्ध तुल्याइने छ ।

Advertisement

Advertisement

Advertisement