म्यानपावर व्यवसायीको चुनाव जारी, काँग्रेस र कम्युनिष्ट समूह भिड्दै

Advertisement

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार चुनाव जारी छ । संघ खुम्चिँदै गए पनि व्यवसायीहरु भने राजनीतिकरुपमा दुई धारमा विभाजित भएर चुनाव लड्दै छन् ।

संघको २७औं साधारणसभामा सत्तारुढ नेकपानिकट नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट सरोज पोखरेल नेतृत्वको प्यानल र काँग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट विष्णु गैरे नेतृत्वको समूह चुनावी प्रतिस्पर्धामा रहेको छ ।

उनीहरु प्यानलसहित चुनावी प्रतिस्पर्धामा रहेका छन् । वैदेशिक रोजगार व्यवसायमा सरकारले कडाई गर्दै गए पनि संघमा अझै ६५८ जना व्यवसायी सदस्य रहेका छन । वैदेशिक रोजगार व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउने मुख्य एजेण्डा बोकेका दुवैले आफ्नो जित सुनिश्चित रहेको दावी गर्दै आएका छन् । सरकारले यस्ता म्यानपावर कम्पनीहरुको धरौटी ह्वात्तै बढाएपछि केही कम्पनीहरु मर्जरमा गएका छन् भने कतिपय निष्क्रिय भइसकेका छन् ।

यसअघि एक हजार पाँचसयको संख्यामा रहेका यस्ता कम्पनीहरु अहिले करिव आठ सयको हाराहारीमा रहेका छन् । ती पनि घट्ने क्रममा रहेका छन् । सरकारले वैदेशिक रोजगारमा पठाउँदा कामदारसँग शुल्क लिन नपाइने र लिँदा पनि न्यून लिनुपर्ने नियम बनाएपछि त्यसको विरोध गर्दै आएका म्यानपावर कम्पनीहरुले लुकिछिपि मोटो रकम लिने गरेका छन् ।

चुनावमा पोखरेल समूहबाट संघको प्रथम उपाध्यक्षमा हरि पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सञ्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बु, सदस्यहरुमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, गैरे समूहबाट प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोर केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल, कोषाध्यक्षमा इन्दिरा गुरुङ, सदस्यहरूमा दिनेश रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जंगबहादुर इजम र लक्ष्मण पौडेलले उम्मेदवारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement