कांग्रेस नबोलेको भए न गणतन्त्र सम्भव थियो न संघीयता: रामचन्द्र पौडेल

Advertisement

रोल्पा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार प्रमुख नै गणतन्त्रविरोधी भएको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन रोल्पाले आज सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो आरोप लगाएका हुन्।

नेपाली कांग्रेसले गणतन्त्रमा जाने निर्णय गरेपछि मात्रै २०४ वर्ष लामो राजतन्त्र अन्त्य गर्न सम्भव भएको हो, प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै नेता पौडेलले भने, २०६२/६३ को लोकतान्त्रिक आन्दोलन चलिरहेको बेला आन्दोलनलाई नै खिरिटिउरी गर्ने व्यक्ति नै अहिले गणतन्त्र र संघीयताको हर्ताकर्ता भएका छन्। नेपाली कांग्रेस नबोलेको भए न गणतन्त्र सम्भव थियो न त संघीयता नै।

संविधानले परिलक्षित गरेको समाजवाद कम्युनिस्ट समाजवाद नै नभएको उनले तर्क गरे। संविधान निर्माणको क्रममा लामो छलफलपछि लोकतान्त्रिक मूल्यमान्यता सहितको समाजवाद राख्ने सहमति भएपछि प्रस्तावनामा लेखिएको उनको भनाइ थियो।

संविधानले कम्युनिस्टले भने जस्तो समाजवादको परिकल्पना नगरी नेपाली कांग्रेसले भने जस्तो लोकतान्त्रिक मूल्यमान्यता सहितको समाजवादको परिकल्पना गरेको हो, नेता पौडेलले भने ।

राजनीतिक प्रणालीबारे बहस र विवाद गरेर समय खेर फाल्न नहुने भन्दै नेता पौडेलले संसदीय मूल्यमान्यता सहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेकाले यसकै जगमा टेकेर आर्थिक परिवर्तन गर्नुपर्नेमा जोड दिए।

कांग्रेसले आयोजना गरेको हिमाल/पहाड/तराई(मधेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरण समापन तथा विरोधसभामा मुख्य वक्ताका रुपमा नेता पौडेल रोल्पा आएका हुन्।

नेपाली कांग्रेस रोल्पाले सदरमुकाम लिवाङमा आजै सरकारविरुद्ध शक्ति प्रदर्शन तथा दोस्रो चरणको अभियान सम्पन्न गर्दैछ। यसअघि नेता पौडेलले तरुण दल रोल्पा नगरपालिका सभापति स्व रोहित पुनको स्मरणमा रोल्पा नगरपालिका २ रेउघामा निर्माण गरिएको प्रतीक्षालयको उद्घाटन गरेका थिए।

Advertisement

Advertisement

Advertisement