कृषि विकास बैंकबाट चार करोड ७३ लाख चोरी गरि भारत लगिएको खुलासा

Advertisement

काठमाडौं । प्रहरीले कृषि विकास बैंकबाट चोरी भएको रकम चार करोड ७३ लाख भएको बताएको छ । महानगरीय अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गरी चोरी भएको रकम र पक्राउ परेका व्यक्तिहरुको विवरण सार्वजनिक गरेको हो ।

बैंकले सुरुमा डेढ करोड र पछि तीन करोड रुपियाँभन्दा बढि रकम चोरी भएको बताएको थियो । बैंकको सिस्टमको पासवर्ड चोरी गरी उक्त रकम ट्रान्फसर गरिएको थियो । साथै, बैंकले सिस्टम ह्याक नभएको बताए पनि प्रहरीले भने सिस्टम ह्याक गरी रकम चोरी भएको बताएको छ ।

यसमा बैंककै कर्मचारीको समेत संलग्नता रहेको प्रहरीले बताएको छ । घटनामा संलग्न रहेको आशंकामा १२ जनलाई पक्राउ गरी छानविन भइरहेको महाशाखाले जानकारी दिएको छ । चोरी भएकोमध्ये १० लाख रुपियाँ कैलाश विकास बैंकमा ट्रान्सफर गरिएको छ ।

नेपाली बैंकहरुबाट पाँच अर्ब भन्दा बढी रकम ह्याक गर्ने योजना बनाएको तथ्य पनि उजागर भएको छ । ह्याक प्रकरणमा काले भन्ने पिटरले भारतको मुम्बईमा बसेर योजना बनाएको हो । यसमा नेपालीहरुले १० देखि ३५ प्रतिशत कमिशनमा काम गरेको उनीहरुको भनाई छ ।

उनीहरुले वीच्याटमार्फत कुराकानी गरी बैंक ह्याकिङ र कमिशनको कुरा मिलाएका थिए । चोरी भएको पैसा ११ वटा खातामा हालिएको छ । प्रहरीले कैलाश विकास बैंकमा गएको पैसाबारे पनि छानविन हुने बताएका छन् । ह्याकरले कृषि विकास बैंकसँगै नविलमा पनि ह्याक गर्ने प्रयास गरेको तर सफल नभएको बताएका छन् ।

कृषि विकास बैंकका डीजीएम दिर्घ अर्यालले सिस्टम ह्याक गरी पैसा चोरिए पनि सर्वसाधारणको पैसा सुरक्षित रहेको बताए । उनले बैंकको प्रणाली सुरक्षित रहेको पनि दावी गरे । अर्यालका अनुसार कृषि विकास बैंकको सफ्टवेयर विश्वकै तेस्रो राम्रो सफ्टवयर हो ।

Advertisement

Advertisement

Advertisement